


एजेन्सी, १७ जेठ । रोमाञ्चक प्रतिस्पर्धामा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
शनिबार राति हंगेरीको पुस्कास एरेनामा भएको फाइनल भिडन्तमा आर्सनललाई ४–३ को पेनाल्टी सुटआउटमा हराउँदै लुइस एनरिकेको टोलीले आफ्नो च्याम्पियन साख जोगाएको हो।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा आर्सनलका डिफेन्डर ग्याब्रिएलले निर्णायक प्रहार पोस्टभन्दा निकै माथि प्रहार गरेपछि आर्सनल पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी उचाल्ने ऐतिहासिक अवसरबाट बन्चित भयो।
खेलको सुरुवात आर्सनलले सानदार ढंगले गरेको थियो। छैटौँ मिनेटमै लियोन्द्रो ट्रोसार्डको पासलाई सदुपयोग गर्दै काइ हाभर्ट्जले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा आर्सनलले पीएसजीलाई कडा दबाबमा राखे पनि दोस्रो हाफमा पीएसजी खेलमा फर्कियो। ६५औँ मिनेटमा ओस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
पेनाल्टी सुटआउटमा दुवै टोलीमाथि ठूलो दबाब देखिएको थियो। आर्सनलका लागि महँगा खेलाडी एबेरेची एजेले प्रहार गरेको पेनाल्टी पोस्टभन्दा बाहिर गएको थियो। यद्यपि, आर्सनलका गोलकिपर डेभिड रायाले पीएसजीका नुनो मेन्डेसको प्रहार बचाउँदै आर्सनलको आशा जीवितै राखेका थिए। तर, अन्त्यमा ग्याब्रिएलको प्रहार अकासिएपछि पीएसजीका समर्थकहरूमा खुसीयाली छायो।
पीएसजीका लागि लुकास बेराल्डोले अन्तिम पेनाल्टीलाई जाली चुमाउँदै जित निश्चित गरेका थिए।
आर्सनलका लागि डेक्लान राइस र ग्याब्रिएल मार्टिनेलीले पेनाल्टीमा गोल गरे पनि एजे र ग्याब्रिएल चुक्नु दुर्भाग्यपूर्ण सावित भयो। पीएसजीका लागि अचराफ हाकिमी र अन्य खेलाडीले सटिक प्रहार गरेका थिए।