सतर्कता अपनाऔ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    सतर्कता अपनाऔ

    गाेरा मियाँ

    ६ श्रावण २०७७, मंगलवार

    विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बाढी पहिराबाट धेरै प्रभावित बन्न पुगेका छन् । देशका विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीपहिरामा परी धेरैले अकालमा ज्यान गुमाउन पुगेका छन् । असार महीनादेखि शुरु भएको मनसुनको असर भाद्र महीनाको पहिलो सातासम्म रहने गर्छ । नदी खोला आसपासमा बाढीको प्रभाव बढेसँगै जनजीवन नै त्रासदीपूर्ण अवस्थामा रहिरहन्छ । ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा पहिराका कारण हरेक वर्ष जनधनको ठूलो क्षति हुने गरेको छ । भौगोलिक विकटता र डाँडा, भिरपहरामा रहेका घर परिवार वर्षायाममा सँधै चिन्तामा पर्ने गर्दछन् । बाढीपहिरा प्रकोपका परेकाको उद्धार गर्न अधिकांश ठाउँमा सहज नभएकाले उद्धार कार्यमा झनै कठिनाई थपिने गरेको छ । प्रतिकूल मौसम अनुसार आम जनमानसले सचेतना अपनाउनु जरुरी छ । बाढीपहिराको प्रकोपमा मुलुकले वर्षेनी धेरै नोक्सानी बेहोर्दै आइरहेको छ । यस्ता जोखिमयुक्त गाउँघरका बस्तीहरु साथै नदी खोला किनारमा बनेको घर टहराको संरक्षण समयमा गर्न सक्नुपर्छ । टोल छिमेकमा रहेका सबै मानिसको एकता र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी आगामी वर्षहरुमा जोखिम न्यूनीकरण गर्नुपर्ने देखिएको छ । बाढीपहिराको जोखिम रहेको स्थानको सम्बन्धित पालिकाले पहिचान गरी हिउँदे सिजनमा रोकथामको कार्यलाई अघि बढाउनु अहिलेको टड्कारो आवश्यकता हो । जसले गर्दा आउने वर्षहरुमा जिउधनको क्षति हुनबाट अवश्य कमी हुनेछ । सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई आत्मसाथ गर्दै पीडामा रहेका जनताका माझ पुग्नु स्थानीय तहको कर्तव्य नै हो । हरेक पालिकाले आफ्ना नागरिकका घर खतरामा छन् की छैनन् भन्ने बारेको जानकारी लिई बाढीपहिराको जोखिम न्यूनीकरण गर्न पहल चाल्न आवश्यक छ । आम सरोकारवाला लगायत जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहमा रहेका सम्बन्धित निकायले समन्वय गरी बाढीपहिराको प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सक्ने खालका योजना बनाउन सकोस् ।