भानुमा कति छन् चितुवा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    भानुमा कति छन् चितुवा ?

    कृष्ण न्याैपाने

    ७ श्रावण २०७७, बिहीबार

    तनहुँ/देशभर सबैभन्दा बढी चितुवा प्रभावित जिल्ला मध्येकाे एक हो तनहुँ। तनहुँको पनि भानु नगरपालिका अझ बढी प्रभावित छ । पछिल्लो बीस महीनाको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाए, थुप्रै घाइते भए ।

    भानुको वन क्षेत्रमा कति चितुवा छन् ? डिभिजन वन कार्यालय तनहुँलाई पनि एकिन तथ्याङ्क थाहा छैन । भानु क्षेत्रबाट मात्रै एक वर्षको अवधिमा पाँच वटा चितुवा नियन्त्रणमा लिइएको थियो । यसैबाट अनुमान लगाउन सकिन्छ भानुमा चितुवाको सङ्ख्या धेरै नै हुन सक्छ ।

    भानुमा कति चितुवा छन् भनेर डिभिजन वन कार्यालय तनहुँले यस वर्ष चितुवाको गणना गर्ने तयारी गरेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको बताउनुहुन्छ ।

    बरालका अनुसार जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानव बस्तीमा पसेर मानिसलाई आक्रमण गर्न थालेको छ । “जङ्गलमा पाइने चितुवाको आहारा मानिसले मारिदिने गर्नाले पनि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानिसमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो,” बरालले भन्नुभयो ।

    चितुवा गणनाका लागि कार्यालयले भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरिएको छ । जसअनुसार ४ हजार २ सय हेक्टर वन क्षेत्रमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “प्रत्येक विन्दुमा क्यामरा जडान गरी यहाँ रहेका चितुवा गन्ने कार्यक्रम बनाएका छौ,” बरालले भन्नुभयो, “चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना गर्छौ ।”

    भानुबाट नियन्त्रणमा लिइएकाे चितुवा

    चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानिसलाई आक्रमण नगर्ने बरालको भनाई छ । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ । “चितुवाको आहारा प्रजाति भानुमा नभएको खण्डमा त्यस्ता प्रजातिको संरक्षण गर्ने अभियान सञ्चालन गरिनेछ,” बरालले भन्नुभयो, “घाँसे मैदान हराउँदै गएको र घाँस नभएपछि चितुवाको आहारा प्रजाति पनि लोप हुँदै जान थालेको छ ।”

    बरालका अनुसार चितुवालाई मानव बस्तीसम्म आइनपुग्ने बनाउन चितुवाको आहारा प्रजाति संरक्षण गर्नुपर्ने मुख्य चुनौति रहेको छ । “विगतमा वनजङ्गलमा प्रशस्त वन्यजन्तु पाइन्थ्यो, चितुवाले त्यसैलाई आहारा बनाउँथ्यो, तर आजभोलि त्यस्ता वन्यजन्तु पाइन छाडेको छ,” बरालले भन्नुभयो, “चितुवाले पनि आफ्नो आहारा नभेटेपछि आहाराको खोजीमा मानव बस्तीमा आउनु स्वभाविक हो ।” बरालले वनक्षेत्रमा पोखरी संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    बीस महीनाको अवधिमा तनहुँ जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणमा परी नौ जनाले बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने बालबालिका डेढ वर्षदेखि १२ वर्षसम्म उमेरसम्मका छन् । चितुवाको आक्रमणबाट पाँच जना बालबालिका घाइते भएका छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गएको छ ।

    भानुमा मृत अवस्थामा फेला परेकाे चितुवा

    अहिलेसम्म आठ वटा चितुवा काठको खोरमा परेर नियन्त्रणमा आएको छ । भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट चितुवा नियन्त्रणमा लिइएको छ । चितुवा नियन्त्रणका लागि जिल्लाका विभिन्न १६ ठाउँमा काठको खोर राखिएको छ ।

    चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ । त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमण मृत्यु भएको थियो ।