तनहुँ/चैत शुरु भएलगत्तै तनहुँका विद्यालयहरु कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढेकाले बन्द गरियो । विद्यालय बन्द भएको पाँच महिना शुरु भइसकेको छ । अझैपनि कोरोना सङ्क्रमणको जोखिम ज्यूँका त्यूँ छ । तसर्थ विद्यालय खुलेका छैनन्, जिल्लाको शैक्षिक गतिविधि ठप्प छ ।
बन्दाबन्दी (लकडाउन) शुरु भएर विद्यालय बन्द भएलगत्तै शहरी क्षेत्रका विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन पनि गरे । अनलाइन शिक्षण शहरका विद्यार्थीका लागि मात्रै जस्तो भयो । ग्रामीण भेगमा त्यो त्यति प्रभावकारी बनेन । विद्यार्थीको हातमा न मोबाइल थियो न इन्टरनेट नै । थियो त केबल अभिभावकमा तनाव ।
पछिल्लो समय भने जिल्लाका केही सामुदायिक विद्यालयले गाउँ–गाउँमा पुगेर विद्यार्थीलाई सहजीकरण गर्न थालेका छन् । कोरोनाको जोखिम रहेकै बेलामा शिक्षकहरु विद्यार्थीलाई पायक पर्ने गाउँ टोलमा पुगेर सहजीकरण गर्न थालेका हुन् ।
खैरेनी माध्यमिक विद्यालयका शिक्षक गाउँमा पुगेर विद्यार्थीलाई सहजीकरण गर्दै ।
विद्यालय तत्कालै खुल्ने अवस्था नरहेपछि शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालय शिक्षकहरु आफ्ना विद्यार्थी भएको गाउँमा पुग्न थालेका छन् । विद्यार्थीको सिकाईलाई निरन्तरता दिनलाई यस्तो अभियान थालिएको विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले बताउनुभयो ।
गाउँ–गाउँमा पुग्नलाई विद्यालयले ६ वटा शिक्षकको टोलीको गठन गरेको छ । एउटा टोलीमा ५ जना शिक्षक रहेका छन् । प्रधानध्यापक घिमिरेका अनुसार शिक्षक मास्क र स्यानीटाईजरको प्रयोग गर्दै घरदैलोमा पुग्छन् ।
अनलाइनबाट गाउँका विद्यार्थीलाई सिकाई भरपर्दो नभएपछि शिक्षकलाई पढाउन पठाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई विद्यालयले बन्दाबन्दी शुरु भएपछि हालसम्म पनि निरन्तर जुम एपबाट अनलाईन शिक्षण गरिरहेको छ । “विद्यालय बन्द भएपछि निरन्तर अनलाइन कक्षा चलिरहेको छ । गाउँका विद्यार्थीमाझ त्यति भरपर्दो नभएपछि घरगाउँमै शिक्षक पुगेर सहजीकरण गराउन थालेका छौँ,” उहाँले भन्नुभयो । आफ्ना बालबालिकाले जोखिमको बेला घरगाउँमै पढ्न पाउँदा अभिभावक पनि खुशी भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले भदौदेखि शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी थालेको छ । तर, कोरोनाको सङ्क्रमण दर न्यून नहुँदासम्म शैक्षिक संस्था सञ्चालनमा हतारो गर्न नहुने धाराण व्यक्त गर्नुहुन्छ घिमिरे ।
यस्तै अभियान घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयले पनि चलाएको छ । असार तेस्रो सातादेखि विद्यार्थी रहेका गाउँ टोलमा पुगेर पाठ्यक्रम अनुसार पढाउने, गृहकार्य दिने, जाँच गर्ने र सिकाइ सहजीकरण गर्ने गरेको प्रधानध्यापक प्रेमबहादुर थापाले बताउनुभयो ।
विद्यार्थीलाई पायक पर्ने ८ टोलमा पुग्ने गरेको उहाँले जनाउनुभयो । उहाँका अनुसार प्रत्येक टोलमा हप्ताको चार दिन शिक्षकहरु पुग्ने गर्नुभएको छ । त्यसका लागि ४ समूहमा विभाजन गरेर १६ जना स्थानीय शिक्षकलाई खटाईएको थापाले बताउनुभयो । विद्यार्थीलाई पढाउन अहिले सामुदायिक भवन प्रयोग गरिएको छ ।
वैशाखदेखि शुरु हुने शैक्षिक शत्र यस वर्ष अझै शुरु हुने छाँट देखिदैन । लामो समय अन्तर भएकाले विद्यार्थीको सिकाईमा सहजीकरण गर्न टोलटोलमा कक्षा शुरु गरेको प्रधानाध्यापक थापाको भनाई छ । अभिभावकको सल्लाहबाट शुरु गरेको अभियानलाई सबैको साथ मिलेको उहाँले बताउनुभयो । घिरिङ गाउँपालिकाका केही आधारभूत विद्यालयले विद्यालयमै कक्षा चलाउन थालेका छन् । एउटै गाउँ र टोलमा विद्यार्थी भएका त्यस्ता विद्यालयले नयाँ शैक्षिक सत्रको कक्षा चलाएका हुन् ।
भीमाद नगरपालिका–९ बुचाभञ्जयाङस्थित बुचाखानी माध्यमिक विद्यालयले पनि विद्यार्थी रहेको गाउँमा पुगेर सिकाई सहजीकरण थालेको छ । मध्य असारबाट शिक्षकहरु सिकाई सहजीकरणका लागि हप्ताको तीन दिन गाउँगाउँमा पुगेका छन् ।
सहजीकरणका लागि स्थानीय शिक्षक खटाईएको प्रधानध्यापक रामशरण भण्डारीले बताउनुभयो । “जिल्ला बाहिरका शिक्षक ल्याउँदा विद्यार्थी र अभिभावक त्रसित हुने अवस्था छ । कोरोना सङ्क्रमण फैलने डर छ । त्यसैले जिल्लामै रहेका शिक्षकले टोलटोलमा पुगेर सहजीकरण गरिरहनुभएको छ,” उहाँले भन्नुभयो । विद्यार्थी पनि शिक्षक गाउँमै आईपुग्दा पढ्नलाई आतुर देखिन्छन् । “धेरै लामो समय विद्यालय नआएको भएर होला पढ्नलाई आतुर पाइएको छ,” भण्डारीले भन्नुभयो ।