सर्वहाराकाे सरकारद्वारा ‘एकल महिला र अपाङ्ग भत्ता’ कटौतीको अभ्यास !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सर्वहाराकाे सरकारद्वारा ‘एकल महिला र अपाङ्ग भत्ता’ कटौतीको अभ्यास !

    भगवान त्रिपाठी

    १२ श्रावण २०७७, सोमबार

    मेरो देशको वर्तमान अवस्था गायक शिशिर योगीले गाउनुभएको “चरी लैजा समाचार हामी भयौँ वेघरवार” भन्ने हृदयस्पर्शी गीतका शब्दहरुसँग पर्यायवाची हुँदै छ। चरिले समाचार त लैजाला तर सर्वहाराको सरकार “मेरो सरकार” सुन्न चाहँदैन। कोरोना कहर, चेपाङ बस्तीको आगलागीदेखि लिएर देशैभरी बाढी पहिरोको घटनाले पुर्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिले सम्हालिन नसकिने गरी पीडा दिएको छ। जनता रोग, भोक, र दैविक प्रकोपले मरिरहेका छन्। सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्तो जनप्रिय कार्यक्रमहरु ल्याएर लोकप्रिय हुनुभएका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको सिद्धान्तगत पदयात्रालाई निरन्तरता दिदै जनताको बहुमत प्राप्त गरी शासन सञ्चालन गरिरहेको मेरो सरकार राज्यकोष बलियो बनाउन भन्दै ६० वर्षमुनिका एकल महिला तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको भत्ता कटौती गर्ने अभ्यास शुरु गरिरहेको छ। तर विडम्वना अपेक्षित उपलव्धीलाइ नजिकबाट महशुस गर्न नसकिएको सांसद कोषलाई निरन्तरता दिइरहेको छ। श्रीमान गुमाएका, हराएका, सम्बन्ध विच्छेद गरेका, विवाह नगरी बसेका ३५ वर्ष माथिका महिला र वादी महिलालाई एकल महिलामा राखिएको छ। विसं २०६८ को जनगणना अनुसार नेपालमा कुल महिला जनसङ्ख्याको ६ प्रतिशत एकल महिलाहरु छन् भने सरकारको तथ्याङ्क अनुसार देशभर २ लाख व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन्। त्यसमध्ये करिब ९७ हजार अति अशक्त भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि अनुसार ६० वर्षमुनिका एकल महिलाले मासिक रु २००० र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले मासिक रु १६०० भत्ता पाउने व्यवस्था कार्यान्वयनमा थियो। नेपालको संविधानमा नै “आर्थिक रुपले विपन्न, असहाय र अशक्त अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका व्यक्त, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकहरुको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने” भनि लिपिबद्द गरेको “मेरो सरकार” एकल महिला, आंशिक अपाङ्ग भत्ता खारेज गरि प्रत्येक निर्वाचित सांसदलाई रु ६ करोडका दरले वितरण गर्ने प्रावधान सहित सांसद विकास कोषको निरन्तरता जस्ता कार्यहरुबाट सर्वहारा नेपाली जनतालाई थप मानसिक पीडा थुपार्न चाहन्छ। सबै एकल महिला गरीब र विपन्न छैनन्, कतिले दोहोरो सुविधा लिइरहेका छन् भने कतिपय जागिरे छन्। त्यस्ता व्यक्तिले पनि भत्ता लिइरहेका छन् भने, कोही साँच्चिकै गरीब र विपन्न छन्। जसलाई सामाजिक सुरक्षा भत्ता मार्फत् सरकारले आफ्नो उपस्थिति तथा अभिभावकत्व ग्रहण गरेको महशुस भइरहेको छ। यसरी फरक आर्थिक सक्षमता भई भत्ता पाइरहेका व्यक्तिहरुलाई वर्गीकरण गरि सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रिय निर्णय मार्फत् कौशल प्रदर्शन गर्नुको सट्टा सम्माननीय राष्ट्रपतिलाई हेरेर सम्मूर्ण एकल महिलाहरु आर्थिक रुपले सम्पन्न छन् भन्ने बुझ्नु सरकारको दृष्टिभ्रम हो। विद्यमान शासकीय संरचना परिवर्तनका निम्ति पटक-पटक गरिएका विद्रोह, जनआन्दोलन तथा जनयुद्धका कारण एकल महिला तथा अपाङ्ग हुनुपरेका लाखौँ व्यक्तिको पीडालाई मलमपट्टिको काम गरेको सामाजिक सुरक्षा भत्ता रकम कटौती गर्दै जनप्रतिनिधिकाे तलब भत्ता वृद्दिमा प्रतिस्पर्धा गर्ने वर्तमान सरकारप्रति देशका लागि देह त्याग गर्ने हजारौँ शहीदको आत्माले नधिकार्ला भन्न सकिँदैन। राज्यको उच्च तहमा एकल महिला पाउनु सम्पूर्ण नेपालीको गौरवको कुरा हो। एकल महिला हुनुको पीडा सम्माननीय राष्ट्रपतिले पनि महशुस गर्नुभएको हुनुपर्दछ। देशको गरिमामय पदमा बस्दैमा उहाँले आम आर्थिक रुपमा विपन्न तथा मानसिक रुपमा पीडित एकल महिलाको पीडालाई डुङ्गाले जस्तै ‘हिड्दै छ पाइला मेट्दै छ’ अवश्य गर्नुहुने छैन। एकल महिला तथा अपाङ्गता भएका व्यक्ति प्रति समाजमा विधमान कुरितीकाे अन्त्य, विभेदपूर्ण संस्कारको उन्मुलन गर्दै सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिदै त्यस्ता नागरिकको अभिभावकत्व ग्रहण गर्न सकेमा मात्र एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सच्चा सम्मान हुन सक्दछ।

    भानु नगरपालिका-२, तनहुँ