गन्तव्यविहिन यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    गन्तव्यविहिन यात्रा

    विवि श्रेष्ठ

    १३ श्रावण २०७७, मंगलवार

    जीवनको उर्वरअवस्थामा पनि अर्थपूर्ण तत्व पाउन नसकेपछि आफैलाई प्रश्न सोधिरहयो । फगत यो जीवन के का लागि ? यो नियमित कर्म जीवनको परिभाषा भित्र पर्ला कि नपर्ला ? रातको निष्पठ अँध्यारोमा उमेरको पहाडबाट झर्ने दिनहरुको हरेक रातहरुले सताईरह्यो । सोधिरह्यो, जीवन नामका यो गतिहरु कति समाज र देशप्रति कति सार्थक बनेको छ । निरन्तर भन्दा पृथक कल्पनाले साँच्चै कति आत्माहरुलाई निदाउन दिएको छैन होला ? बाँच्नको पनि प्रकृतिको आफनै परिभाषा होलान्, त्यो प्रकृतिको परिभाषा भित्र जीवनको परिभाषाले छोयो कि छोएन होला ? जतिसुकै बलवान भएता पनि समयको अगाडी निरह हुनु आम विषय रहेछ, तर पनि यो विषय जीवनको उर्वर समयमा किन सोच्न सकिदैन होला ? या यो सोच्न समान्य मानसिकता भित्र पर्देन ? यो सोचको उतारचढावमा यो विलिन भएर जाला ? अनुकुलतामा नै रम्न अभ्यस्तहरुका भीडमा यो विषयले कहिल्यै प्रधानता पायो या पाएन होला ? जब सोचमा जीवनको परिभाषाको शाव्दिकता खोज्ने दुस्साहस हुन्छ, घमण्ड, बल र सम्पति निरर्थक हुने रहेछ । प्रकृतिको अगाडी लाचार हुनुपर्ने वाध्यतामा लत्रिनु सत्यता भएता पनि यो बीचमा विचारको बहसले भने जीवनको शाव्दिकतालाई गहन वनाएको हुँदो रहेछ ।

    मानव जातिको एकमात्र साझा पहिचान भनेको आफूले जानेको र देखेको मात्र एकमात्र सत्य सोच्ने सोच्ने नै रहेछ । उसले सोच्न कदापी सक्दैन कि आफनो विचार भन्दा फरक पनि सत्य हुन सक्दछ । तर त्यहि सत्यता भित्र छिर्न नसकी सृष्टिको निरन्तरतालाई पछ्याउनु नै जीवन हो भनि परिभााषित गरिहेको पाईन्छ । तर यसलाई नै जीवनको परिभाषा मान्न न्यायसंगत कदापी हुन सक्दैन । जव सोच र चेतनाको तादात्म्यता मिलाउन सकिदैन, तव जीवन नामको यात्रा तरल वनिदिन्छ । कमजोरी लाई नै भाग्यको खेल देख्नेहरुको भीडमा कमजोरी स्वीकार्ने हिम्मत कसैमा रहदैन । यहि प्रक्रियाको वीचमा गुज्रिरहेको पलले सधै सोधिरहयो, जीवनको त्यो परिभाषामा संलग्नता भयो कि भएन ? यहि उमेरको वीचमा आएको चेतना र त्यसले प्रभाव पारेको सोचमा किन जीवनको अर्थ फराकिलो वन्न सकेन ? व्यक्तिगत सहजता नै जीवन हो भन्नेहरुको भीडले अन्यलाई पनि समाहित गरिदियो । त्यसले गर्दा जीवनको कर्म नै छाँयामा परिदियो । त्यही कर्मको अखडालाई नै समाजको संज्ञा दिईयो । त्यहि समाजको झुण्डमा स्वार्थकेन्दित तत्वहरु समाजसेवी र वरिष्ठ वनिदियो । विचार र परिवर्तन विनाको अगुवाहरु नेतृत्व वनिदियो । त्यहि झुण्डले वास्तविक जीवनको अर्थ नै फेरिदियो । त्यसैको कुचक्रमा आम व्यक्तिहरु जीवनका नामको संग्राममा पौडिरहयो । आम व्यक्तिको पृथक सोच किन वन्न सकेन, यो सोच्ने आँटहरु कसैमा देखिएन ।

    जब मानव जाति आफनो लक्ष्यमा पुग्न सक्दैन, नविनतम सोचलाई व्यवहारिक कार्यन्वयन गर्न सक्दैन, तव भाग्य र कसैलाई दोष देखाएर आफु चोखो हुन खोज्दछ । यहि एकमात्र मुल मन्त्रमा आफैलाई अभ्यस्त वनाईरहदाँ आफैलाई सोध्न मन लाग्यो, मानव हुनुको उपलव्धी पुर्ण भयो त ?

    सदिंयौ देखिको यो सृष्टिको चक्रमा रम्ने र रमाउनेहरुको भीडमा फरक सोच्नेहरुको जीवन सहज र अनुकल कहिल्यै वन्न सकेन । यहि पेरिफेरिमा हेलिएको आत्माहरु जीवनलाई सहजतामा नै आत्मासात गर्नेहरु देखिए । त्यहि अनंकष्ठक सोचमा व्यतित गरेको सोचहरुको विचारले नै समाजका अन्य जातिहरुले मात्र अनुसरण गरिदियो । जसका कारण समाज समयअनुसार परिवर्तन हुन सकेन । अत्यासलाग्दो भुमिकामा जव सोचले घच्चाउदँछ । जीवनको परिभाषा खोज्न मन लाग्दछ । लाग्दछ ,जुन जीवन वाँचिरहेका छौ । त्यो पलहरु जीवन नै हैनन । यद्यापी यो प्रक्रियावाट भाग्ने छुट पनि छैन । अनि सोचको विकास हुन्छ, हामी कहाँ छौ, किन यो प्रक्रियाभित्र सुख, शान्ति र सन्तोष मिल्दैन । नविनतम उपलव्धीका लागी हिड्ने वाटोहरु कदापी सहज हुदैनन, असहज हिड्ने वाटो आत्मासात गर्न सकिदैन । यहि ढुलमुले सोचको परिवन्दले समयको यो उर्वर उमेरमा विस्तारै विर्को लागिदियो । अनि अत्यासलाग्दो यो रात होस वा दिनको प्रहरमा सोधिदियो, के जीवनको परिभाषामा यो पलहरु कति समाहित भए ? असन्तोषको पहाडले रातको त्यो प्रहरमा सोधिदियो, आम मानव जाति किन आत्मादेखि खुशी हुन सकेनन् ? देखावटी जीवनको त्यो अन्धकारमा किन मानव जातिले आफुलाई समाहित गरिरहेका छन् ? निरन्तरताको पलवाट विद्रोहको त्यो राँको वाल्ने हिम्मत किन गर्न सकेनन् ? व्यक्तिगत स्वार्थताका लागी जे पनि गर्न सक्ने त्यो अवस्था त्यो अमुक आत्मामा कसरी विकसित भए होलान् ? समयको यो गतिलाई रोक्ने दुस्साहस गरौ भन्ने हैन, तर मानवीय जीवनको मुल्य, मान्यता र सिद्धान्तलाई कति आत्मासात गर्यो भन्ने मुख्य विषय हो । कुनै पनि कोण र त्रिकोणवाट यो विशिष्टता भित्र पर्न नसक्दा आफैमा एक्लिएको, कमजोर भएको महशुश हुनु नयाँ कुरा होईन । जव मानव जाति आफनो लक्ष्यमा पुग्न सक्दैन, नविनतम सोचलाई व्यवहारिक कार्यन्वयन गर्न सक्दैन, तव भाग्य र कसैलाई दोष देखाएर आफु चोखो हुन खोज्दछ । यहि एकमात्र मुल मन्त्रमा आफैलाई अभ्यस्त वनाईरहदाँ आफैलाई सोध्न मन लाग्यो, मानव हुनुको उपलव्धी पुर्ण भयो त ? यात्रा सवैको हुन्छ, यहि यात्राको दौरान उपलव्धीताको प्रश्नले विझाउदाँ सोध्ने आत्माहरु कहाँ खोज्ने होला ? गन्तव्यविहिन यात्रा जीवनको सवैभन्दा पेचिलो यात्रा हुने रहेछ । यहि गन्तव्यविहिन यात्राको यात्रुको यो यो यात्रा कहिले अन्त्य होला ?