नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन र नेतृत्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन र नेतृत्व

    गाेरा मियाँ

    २० श्रावण २०७७, मंगलवार

    देशमा जतिबेला सङ्कट आउने गर्छ त्यतिबेला नेपाली काङ्ग्रेसले अग्रणी भूमिकाको नेतृत्व गर्दै आएको छ । चाहे २०४६ को जनआन्दोलन होस् या ०६२÷६३ को जनआन्दोलन नै किन नहोस् । सङ्घीय लोकतन्त्र ल्याउनका लागि उत्तिकै भूमिका खेलेको नेपाली काङ्ग्रेस पार्टी अग्रपङ्क्तिमा रहने गर्दछ । बिपीका सिद्धान्तलाई अनुकरण गर्दै राष्ट्र र जनताका हितमा राज्य व्यवस्था सुधार गर्नका निम्ति लागिपरेको पुरानो पार्टी हो नेपाली काङ्ग्रेस । बलिदान, त्याग र तपस्याका साथै जनहितप्रति परिवर्तनको सङ्घारमा कहिल्यै पछि नहटेको पार्टी नेपाली काङ्ग्रेस नै प्रमुख ठहरिदै आएको छ । मुलुकमा परिवर्तनशील संविधान घोषणा गर्नेसम्म नेपाली काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ । सोही पार्टी अहिले १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको छ । नयाँ क्रियाशील सदस्य र पुराना क्रियाशील सदस्यहरुको नवीकरण नामावली २०७७ असोज मसान्तभित्र तयार गरिसक्नुपर्ने समय तोकिएको छ । गाउँ÷नगर वडाहरुको अधिवेशन मङ्सिर ९ गते र गाउँ÷नगरपालिका अधिवेशन मङ्सिर ११ गते तोकिएको छ । प्रदेशसभाको क्षेत्रीय अधिवेशन मङ्सिर १५ र प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन मङ्सिर १७ गते हुँदैछ । जिल्ला अधिवेशन मङ्सिर २५ गते र प्रदेश अधिवेशन पुस १५ गते सम्पन्न हुँदैछ । १४ औ केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाडौमा गर्ने तयारी भइरहेको छ ।

    पार्टीको विधान, पद्धति र सिद्धान्तलाई अङ्गालेर निस्वार्थ भावनाले सबैलाई समेट्न सक्नु अहिलेको आवश्यकता हो । बिपीका विचार साथै मार्गदर्शनलाई पार्टी र सिङ्गो मुलुकवासीको हितमा प्रयोग गर्नुपर्दथ्यो । केन्द्रदेखि जिल्ला, गाउँ÷नगर र वडा तहसम्म बिपीको बखान गर्दै आ–आफ्नो गुट र उपगुट बनाउनै नेता तल्लिन छन् । व्यक्तिगत गुटले सिङ्गो पार्टीलाई ओझेलमा पर्दै गएको सङ्केत देखिएको छ । आगामी दिनमा पार्टीलाई एकढिक्का पारेर योजनाबद्ध रुपमा अगाडी बढाउने नेतृत्वको खाँचो छ । पार्टीको हकहितमा एकीकृत ढङ्गले सबैलाई समेटेर अगाडी बढ्न सके मात्रै नेपाली काङ्ग्रेस पार्टीकै शिर उच्च रहनेछ ।