हेर्दाहेर्दै चितुवाले खोस्यो कृष्णकुमारीको छोरालाई (भिडियाे/अडियाे रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हेर्दाहेर्दै चितुवाले खोस्यो कृष्णकुमारीको छोरालाई (भिडियाे/अडियाे रिपोर्ट सहित)

    विनोद ढुंगाना

    २१ श्रावण २०७७, बिहीबार

    तनहुँ । बुधबार साँझ शुक्लागण्डकी नगरपालिका–२ मसारकी कृष्णकुमारी राना थापाले १९ महिने छोरा नारायणलाई घरको पिँढीमा खेलाउँदै हुनुहुन्थ्यो । साढे ७ बजेतिर कपडामै पिसाब गरेर चिसो भएपछि फेरिदिन उहाँले ढोकाबाट कोठामा रहेको कपडा निकाल्न लाग्दा पिँढीमा खेलिरहेका छोरालाई एक्कासी चितुवाले झम्टिएर लग्यो ।


    कृष्णकुमारी चितुवाको पछिपछि तल्लो घरसम्म पुग्नुभयो । तर, छोरालाई चितुवाको पञ्जाबाट फुस्काउन सक्नुभएन । ‘‘एकपटक रोएको सुनेको थिएँ, तल्लो घरसम्म पछ्याउँदै गएँ, चितुवाले लगिहाल्यो,’’ भावविह्वल हुँदै कृष्णकुमारीले घटनाबारे सुनाउनुभयो । चितुवाले आक्रमण गर्दा कृष्णको सुसरा चित्रबहादुर पनि पिँढीको अर्को छेउमा हुनुहुन्थ्यो । उहाँले कान कम सुन्ने भएकाले नातिलाई चितुवाले झम्टिएर लगेको पत्तो पाउनुभएन । घरभित्र कोठामा कृष्णकी सासू बालुमाया र जेठा छोरा रोजन बस्नुभएको थियो । मेला गएको कृष्णका श्रीमान् विष्णुबहादुर मेलाबाट घर फर्किनुभएको थिएन् ।

    चितुवाले आक्रमण गरेको घर ।


    चितुवाले छोरा लैजाने बित्तिकै कृष्ण चिच्याउनुभयो, गुहार माग्नुभयो । त्यसपछि भेला भएका गाउँलेले मिलेर नारायणलाई खोजे । राति १० बजेतिर घरभन्दा १५ सय मिटर तल सितेको जङ्गलमा टाउको र दाहिने हात भेटिएको इलाका प्रहरी कार्यलय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार टाउको र हात ३८ फिटको दूरीमा भेटिएको हो । भेटिएको हात र टाउको क्षतविक्षत अवस्थामा छन् । शरीरका अन्य अङ्ग पनि भेटिने आशमा बिहीबार दिउँसोसम्म स्थानीयवासीले वरपरका जङ्गलमा खोजी गरेका थिए ।


    चितुवाले आक्रमण गरेको स्थानमा जम्मा तीन घर रहेका छन् । चारैतर्फ जङ्गलले घेरेको छ । पिँढीमै आएर चितुवाले बच्चा लगेपछि त्रसित बनाएको स्थानीयवासी पूर्णबहादुर आलेले बताउनुभयो । “दुई चारदिन अगाडी पनि चितुवा आएकोे थियो गाउँमा । त्यतिबेला लखेटियो । यस्तो दुखद घटना हुन्छ भन्ने सोचिएन । जङ्गलको बीचमा गाउँ छ चितुवा त आउँछ भनेर लखेट्यौ,” उहाँले सुनाउनुभयो ।


    रिपोर्ट सुन्नुहोस्

    चितुवाले बालकको ज्यान लिएपछि शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाईली, डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल, नगरप्रवक्ता खिमबहादुर कुमाल, वडाध्यक्ष जगतबहादुर गुरुङ सहितको टोलीले घटनास्थलमा पुगेर पीडित परिवारलाई समवेदना र सान्त्वना दिएको छ ।


    नगर प्रमुख गुरुङले चितुवाको आक्रमण बढ्दै जाँदा थप सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । “यस्ता घटना दोहोरिन दिनुभएन, सँधै सजग रहनुपर्ने अवस्था आएको छ,’’ उहाँले भन्नुभयो । चितुवालाई नियन्त्रणमा लिन वन कार्यालयसँग नगरपालिकाले सहकार्य गर्ने उहाँले बताउनुभयो ।

    टाउको र हात भेटिएको स्थानमा मुचुल्का उठाउदै प्रहरी ।


    डिभिजन वन कार्यालय तनहुँका प्रमुख बरालले एकचोटी आक्रमण गरेपछि चितुवा चार÷पाँच दिनसम्म त्यही वरपर घुमिरहने भएकाले चनाखो रहन गाउँलेलाई अनुरोध गनुभयो । ‘‘साँझको समय बत्ती निभेको अवस्था र बालबालिका घर बाहिर हुँदा चितुवाले आक्रमण गर्छ,’’ उहाँले भन्नुभयो, ‘‘एक्लै बालबालिकालाई नछाड्नुहोला । घर वरपरको झाडी फाँडेर सफा राखौं ।’’ चितुवालाई नियन्त्रणमा लिन बाख्रासहितको खोर राखिने जानकारी बरालले जानकारी दिनुभयो ।


    डिभिजन वन कार्यालयले पीडित परिवारलाई किरिया खर्च बापत रु ५० हजार राहत दिएको छ । बरालका अनुसार कागजत पेश भएपछि रु ९ लाख ५० हजार थप राहत दिइनेछ ।


    विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृङ्खलाबद्ध बालबालिकामाथि आक्रमण गरिरहेको छ । तीन वर्षसम्म पनि आक्रमण रोकिएको छैन । तनहुुँमा हालसम्म १० जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।चितुवाको आक्रमणमा पर्ने सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । घरमै आएर चितुवाले बालबालिकालाई सिकार बनाउने क्रम निरन्तर बढेपछि जिल्लावासी आतङ्कित छन् ।

    मृतकका परिवारलाई सान्तवना दिन पुगेको जनप्रतिनिधी र कर्मचारी ।


    प्रतिकार गर्न नसक्ने हँुदा चितुवाले बालबालिकामाथि आक्रमण गर्ने वन्यजन्तुसम्बन्धी जानकार प्राध्यापक कर्णबहादुर शाह बताउनुहुन्छ । “मानिस मात्र जनावरसँग डराउने होइनन्, जङ्गली जनावर पनि मानिससँग डराएका हुन्छन्,” उहाँ भन्नुहुन्छ, “चितुवा नडराउने र आक्रमण गर्न सजिलो भएकाले बालबालिका सिकार भएका हुन् ।”


    उहाँका अनुसार चितुवा जङ्गली जीवजन्तुमा आश्रित जनावर हो । कहिलेकाही घरपालुवा कुकुर, बाख्रा, भेडा, गाईको बाच्छाबाच्छी र भैसीको पाडापाडीको पनि सिकार गर्दछ । घरपालुवा जनावार पाल्ने चलन पनि हटेको छ । “अहिले न जङ्गलमा खानेकुरा छ, न त घरमा । आहारा खोज्दै बस्तीमा पसेर बालबालिकालाई आक्रमण गरेको हो ।”

    उहाँका अनुसार घाइते तथा बिरामी भएर पनि चितुवाले जङ्गली जीवजन्तु सिकार गर्न नसक्ने अवस्थामा बस्तीमा आएर आक्रमण गर्दछ । यसरी नै जङ्गलमा आहाराको अभाव भईरहे ठूला मान्छेलाई पनि आक्रमण गर्न सक्ने सम्भावना रहने उहाँले बताउनुभयो ।

    भिडियाे रिपाेर्ट