“साहुले जस्ता र ईट्टा लैजान्छु भन्छन्” (रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    “साहुले जस्ता र ईट्टा लैजान्छु भन्छन्” (रिपोर्ट सहित)

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका प्रभात परियारले जनता आवास कार्यक्रममार्फत पक्की घर बन्नेभएपछि गत वर्ष भदौमा पुरानो झुप्रो भत्काउनुभयो । अनुदानको किस्ता आउला र तिरौला भनेर क्रण काढेर मङ्सिरमै घरको काम सकाएर पनि उहाँको परिवार स¥यो । घर सकेपछि पाउनुपर्ने अनुदान समयमै नपाउँदा अहिले साहुको तनाव थपिएको उहाँले बताउनुभयो ।

    “अहिलेसम्म दुई किस्ताभन्दा पाइएन । अझै दुई किस्ता बाँकी नै छ । बेलामै किस्ता आउला र ऋण तिरौला भन्ने सोच थियो । साहुले दबाब दिएर हैरान छ । बेइमानी भइयो,” उहाँले भन्नुभयो । घरको जस्ता, ईट्टा नै लैजान्छु भन्ने धम्की साहुले दिने गरेको उहाँले बताउनुभयो ।

    शुक्लागण्डकी नगरपालिका–१ थप्रेकठाँटी भञ्ज्याङकी सञ्जिला मियाँको घर बन्दैछ । श्रीमान्सँग सम्बन्ध विच्छेद गरेर माईती घरमा बस्दै आउनुभएकी उहाँ आफ्नै घर बन्न थालेपछि दङ्ग हुनुहुन्थ्यो । तर, समयमै किस्ता नपाउँदा घरको काम सक्न नपाएको उहाँको गुनासो छ ।

    दुई कोठाको पक्की घर निर्माण भएपनि अधुरै रहेकाले बस्न नपाएको उहाँले बताउनुभयो । उहाँका अनुसार चौथो किस्ता नपाउँदा घर सम्पन्न हुन सकेको छैन । “किस्ता बेलामै आएको भए यही घरमा सरिसक्थे,” उहाँले भन्नुभयो, “आफूसँग पैसा छैन, किस्ता कुर्दा कहिले सकिन्छ कहिले टुङ्गो छैन् ।” घरको फिनिसिङ र शौचालय बनाउने काम बाँकी रहेको मियाँले बताउनुभयो ।

    रिपोर्ट सुन्न प्ले गर्नुहोस्

    एक सय आठ वर्ष पुरानो खरले छाएको जीर्ण अवस्थाको घुमाउने घर भत्किएर ज्यानै पो लिने हो की भन्ने त्रास हुँदा समेत थप्रेक लाकुरीबोटका गणेशमान सुनारको नयाँ घरमा सर्ने धोको अधुरै छ । जनता आवास कार्यक्रमले अन्तिम अर्थात् चौथो किस्ता भुक्तानी नदिएपछि घर लथालिङ्ग बनेको हो । रकम नभएपछि घर छाउन बाँकी रहेको उहाँले बताउनुभयो । “छिट्टै सर्न पाए ढुक्क हुन्थ्यो । घर सक्नलाई अन्तिम किस्ता नै आएन । बन्दै गरेको घर लथालिङ्ग भयो,” उहाँले भन्नुभयो ।

    शहरी विकास तथा भवन कार्यालय गोरखा मातहातमा तनहुँमा जनता आवास कार्यक्रम सञ्चालनमा छ । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा कार्यक्रम मार्फत् दुई सय ८६ घर बन्दैछन् । तीमध्ये ९० प्रतिशत घर सम्पन्न भएतापनि भुक्तानी दिनै बाँकी छ ।

    कार्यालयका प्राविधिक शङ्करराज गैह्रेका अनुसार सबै लाभग्राहीले पहिलो किस्ता पाएका छन् । दुई सय ७३ लाभग्राहीले दोस्रो, एक सय १० लाभग्राहीले तेस्रो र मात्र ११ लाभग्राहीले चौथो किस्ता भुक्तानी पाएका छन् । “विपन्न वर्गलाई कार्यक्रममा समावेश गरेर घर बनाईदिने हो । कतिपयले जग्गा नहुँदा भएको पुरानो घरलाई पनि भत्काएर त्यही ठाउँमा नयाँ घर बनाउन थाल्नुभयो । पूरै किस्ता नपाएर घरको काम अधुरै रहँदा वर्षाको बेला पालमुनी बस्न बाध्य छन्,” उहाँले भन्नुभयो, “किस्ता आएपछि तिरौला भनेर ऋण लिन पनि अति विपन्न भएकाले उनीहरुलाई कसैले पत्याउँदैनन ।”

    कार्यक्रम मार्फत् शौचालयसहितको दुई कोठे पक्की घर निर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ३२ हजार पाँच सय चार किस्तामा भुक्तानी गरिन्छ । घरको जग राखेपछि पहिलो किस्तामा रु ८३ हजार १ सय २५, डिपिसीको कामपश्चात दोस्रो किस्तामा रु ९९ हजार ७ सय ५०, पुतली गारो लगाएपछि तेस्रो किस्ताको रु एक लाख १६ हजार ३ सय ७५ र शौचालय निर्माण गरेपछि चौथो किस्तामा रु ३३ हजार २ सय ५० भुक्तानी हुने कार्यालयले जनाएको छ । किस्ता भुक्तानी नभएपछि पक्की नयाँ घरमा बस्ने अधिकांशको रहर पूरा हुन पाएको छैन ।

    रकम अभावका कारण लाभग्राहीलाई बेलामै भुक्तानी दिन नसकिएको शहरी विकास तथा भवन कार्यालय गोरखाका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “मन्त्रालयले सीमित पैसा पठाउँछ । सबैलाई भुक्तानी दिन पुग्दैन,” उहाँले भन्नुभयो, “दिनै पर्नेलाई पहिलो प्राथमिकतामा राखेर भुक्तानी दिएका छौ ।” मन्त्रालयसँग पर्याप्त बजेटको माग गरेपनि सुनवाई नभएको उहाँले बताउनुभयो ।

    जनता आवास कार्यक्रममा समावेश गरी कति घर बनाउन सकिन्छ भनेर गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । उल्लेख भएबमोजिम घर बनाउनलाई बजेट उपलब्ध नभएको जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति तनहुँकी संयोजक एवं प्रदेशसभा सदस्य आशा कोइरालाले बताउनुभयो । “बजेट पूरा आएन, बजेट अभावले घर पूरा हुन सकेका छैनन्,” उहाँले भन्नुभयो, “हामीले सरकारसँग पर्याप्त बजेट माग गरिरहेका छौ ।”

    सङ्घीय सरकारको शहरी बिकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम गत वर्ष प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्राललाई हस्तान्तरण गरिएको हो । मन्त्रालयले केन्द्रले पर्याप्त बजेट नपठाएकाले अभाव भएको जनाएको छ । तनहुँलाई गत वर्ष दुईपटक गरेर रु दुई करोड ६० लाख बजेट उपलब्ध गराईएको थियो ।

    जनता आवास कार्यक्रमले तनहुँमा विपन्न वर्गका सीमान्तकृत चेपाङ, दरै, माझी, कुसुन्डा जातिलाई घर बनाईएको थियो । हाल दलित समुदाय, भुजेल र कुमाल समुदायलाई पनि कार्यक्रममा समावेश गरिएको छ । घर बनाउन नसक्ने सबै जातजातिलाई कार्यक्रममा समेट्नुपर्ने अनुभूति भएको कोइरालाले बताउनुभयो । “अहिले कार्यविधि अनुसार नै घर बनिरहेको छ । अब विपन्न वर्गका सबै जातजातिलाई सुरक्षित आवासका लागि कार्यक्रमले समेट्नुपर्ने अनुभूति गरेका छौ,” उहाँले भन्नुभयो ।