प्रजातन्त्र स्थापना हुनु अगाडी नेपालको ग्रामीण क्षेत्रहरुमा मानिस पैदल हिँडेर गन्तव्यमा पुग्नुपर्दथ्यो । अति आवश्यक खाद्य सामग्रीको ढुवानी भरिया र खच्चडको माध्यमद्वारा गाउँबस्तीसम्म पु¥याउने लामो समयसम्म चलिनै रहेको थियो । मुलुकलाई परिवर्तनशील विकास निर्माण लगायत समृद्ध नेपाल बनाउनका निम्ति नेपाली कांग्रेसको अगुवाईमा २०४६ सालमा जनआन्दोलन शुरु भएको थियो । देशका मूलभूत पार्टीहरुको साथ सहयोग मिलेको हुँदा पञ्चायती व्यवस्था ढालेर बहुदलीय प्रजातन्त्र स्थापना गर्न नेतृत्व सफल भएका थिए । सफलतापूर्वक मुलुकमा प्रजातन्त्र स्थापित हुन पुग्यो । तत्पश्चात् विकास निर्माणको थालनी डोजरले खन्दै कच्ची सडक बनाउनमा केन्द्रित रहेको थियो । राजमार्गदेखि दायाँबायाँ छिर्दै पहाडी भेगका डाँडाकाँडामा टापु र गाउँबस्ती नजिकमा रहेका खोरिया टाकुरमा हिउँदे कच्ची सडक धमाधम बन्न शुरु भयो । गाउँबस्तीहरुमा सडक विस्तार हुँदै गर्दा स्थानीयवासीमा आशाका किरण यथार्थमा बदलिनु स्वभाविक नै हो । ग्रामीण भेगका जनतालाई जिल्लाको सदरमुकाम पुगेर विभिन्न कार्यालयको काम फत्ते गरी एकदिनमै घर पुग्नु निकै कठिन थियो । कच्ची मोटरमार्ग भएपनि स्थानीयलाई आउजाउ गर्नमा ठूलै राहत मिलेको छ । यातायात व्यवसायीहरुले जोखिम मोलेर यात्रुवाहक र मालवाहक यातायातका साधन गुडाउने गरेका छन् । साँघुरा कच्ची सडक वर्षायाममा ६ महिना हिलाम्य हुने साथै हिउँद लागेपछि ६ महिना धुलाम्य हुने हुँदा यात्रुले ३० वर्षदेखि सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । कहिले सम्पन्न होला त पक्की पुल र सडकमा कालोपत्रे भन्दै स्थानीयवासी टुलुटुलु हेरेर बस्न बाध्य छन् । सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नारा संघीय राजधानीमा घन्किरहेको छ । संघ, प्रदेश र स्थानीय तह गरी तिनै सरकार तीन वर्षदेखि स्थापित भई दौडिरहेको छ । अधिकांश ग्रामीण सडकको सुधार हुन सकेको छैन । तीन तहका सरकार अलमल्लमा परेका छन् । त्यसकारण स्थानीय तहका सरकारले हरेक वर्ष आवश्यक कच्ची सडकको पहिचान गरी विकास निर्माण योजना सम्पन्न गर्नेतर्फ लाग्ने हो भने पक्की पनि त्यहाँका जनताले सुविधासम्पन्न यात्राको अनुभूति गर्न पाउनेछन् ।