उज्ज्यालाे बन्दै घिरिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    उज्ज्यालाे बन्दै घिरिङ

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाको करीब एक हजार घरधुरीमा बत्ती बाल्ने तयारी गरिएको छ । हालसम्म पनि विद्युतको सुविधा नपुगेका घिरिङका विभिन्न गाउँमा विद्युतीकरण गर्ने तयारी सहित काम अगाडी बढाइएको छ ।

    घिरिङ गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारको करीब एक हजार घरधुरीमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो ।

    विद्युतीकरण अभियान अन्तर्गत कतै पोल गाडिएको र कतै तार विस्तारको काम भइरहेको थापाले बताउनुभयो । “दशैं अगाडी नै बत्ती बाल्न सकिन्छ की भनेर कामलाई तीव्र पारेका छौ,” उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाको तर्फबाट विनियोजित रु ६१ लाखको बजेटबाट विद्युतीकरणको काम भइरहेको छ ।

    थापाका अनुसार घिरिङ गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । घिरिङ गाउँपालिका–१ अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

    घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार चार सय भन्दा बढी घरमा बत्ती बालिसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ कारण रु १५ लाख विनियोजन गरिएको छ । “तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भैपरी खर्चबाट भएपनि मिलाउँछौ,” उहाँले भन्नुभयो ।

    गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको उहाँको भनाई छ । विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरणले पनि सहयोग पु¥याएको उहाँले बताउनुभयो ।

    बत्ती बल्न बाँकी रहेका घरधुरीमा पनि असोज कात्तिकभित्रै बत्ती बल्ने रानाले बताउनुभयो । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, पोलहरु गाड्ने, तार तान्ने लगायतका कामहरु चलिरहेको छ,” उहाँले भन्नुभयो ।

    माहोरकोटको ५९ घरधुरीमा बत्ती बल्यो

    घिरिङ गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । हालसम्म टुकी र मैनबत्तीको भरमा बस्दै आएका यहाँका स्थानीयवासी बत्ती बलेपछि खुशी भएका छन् ।

    गाउँपालिकामा विद्युतीकरणको अभियान अन्तर्गत उक्त ठाउँका ५९ घरधुरीमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विद्युतीकरणको अभियानलाई तीव्र पारिएको छ, अहिलेसम्म बिजुली नभएको गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीयवासीमा खुशीको सीमा नै छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार पुट्टार र बैडीका केही भागमा समेत विद्युतीकरण सम्पन्न भएको छ ।

    घिरिङ गाउँपालिका–१ पुट्टारका तारा खनालले धेरै वर्षको प्रतिक्षापछि बल्ल बिजुली बत्ती बलेको बताउनुभयो । उहाँका अनुसार पुट्टारमा दुई चरणमा गरेर घर घरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडी र अर्को ठाउँमा १५–२० दिन अगाडी बत्ती बलेको छ । “बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौ, अब त बिजुली नै बाल्न थालिसकेको छौ,” खनालले भन्नुभयो, “बिजुली आएपछि एकदम सहज भएको छ ।”