विश्वव्यापी रूपमा जलवायु परिवर्तन र बढ्दो तापक्रमले धेरै समस्या निम्त्याएको छ । कृषि क्षेत्र पनि यसको चपेटाबाट अछुतो रहन सकेको छैन । बढ्दै गएको तापक्रम र जलवायु परिवर्तनलाई कम गर्न वायोचर, हरितगृह ग्यास उत्सर्जन कम गराउने उत्तम उपायको रूपमा देखिएको छ ।
वायोचार भनेको के हो ?
घरमा भएका कार्बनको मात्रा धेरै भएका वस्तु जस्तैः खेतबारीबाट निस्केका पात, घसेटा, काठ, भुस, हाँगाबिँगा वा कुनै बाल्न मिल्ने भौतिक चीजहरूलाई उच्च तापक्रममा अक्सिजन कम हुने गरी अर्थात् कालो धुवाँ नआउने गरी डढाएर बनाइएको धूलो भनेकै वायोचार हो । यसलाई मल पनि भनिएको पाइन्छ तर यो मल नभएर मल को उत्प्रेरक हो । यसले माटोको भौतिक, रासायनिक, जैविक र पर्यावरणीय सुधारमा मद्दत गर्छ । यसको प्रयोगले विदेशी महङ्गो रासायनिक मलको प्रयोग नगर्दा पनि वाली राम्रो भएको कुरा किसानहरू बताउँछन् । यसले गर्दा किसानको उत्पादन मूल्यमा कमी आउँछ र किसानलाई सहयोग गर्छ ।
बनाउने विधि :
वायोचार हामीले आफ्नै गाउँघरमा सजिलै रूपमा बनाउन सकिन्छ । यसलाई गोल पोलेर अँगार बनाए झै बनाउन सकिन्छ । यसलाई बनाउने एक सरल तरिका निम्नलिखित छः
१. शुरुमा आफ्नो इच्छा र जलाउने सामान कति छ भन्ने अडकल गरेर खाडल खन्ने।
२. खाल्डोको पिँधमा जल्नका लागि मद्दत गर्न आगो टिप्ने दाउरा राख्ने ।
३. जलाउँदा कालो धुँवा आउन नदिने अर्थात् अक्सिजनको मात्रा कम गरेर जलाउने।
४. जलिसकेपछि आगोलाई पानी, माटो वा गाईवस्तुको पिसाबले निभाउने ।
५. आगो निभिसकेपछि गाईवस्तुको पिसाब मिसाएर घोल्ने । यसो गर्दा बढी फाइदा भएको पाइएको छ ।
६. पिसाब मिसिएपछि त्यसलाई २÷३ दिन माटोले पुरेर राख्ने ।
७. तेस्रो दिनमा त्यसलाई झिकेर पिसेर वा कुटेर धुटो बनाउने ।
८. वायोचार प्रयोगका लागि तयार छ ।
फाइदाहरुः
√ वायोचारको प्रयोगले उत्पादनमा वृद्धि भएको देखिएको छ ।
√ यसले बाह्य रासायनिक मलको प्रयोगलाई कम गराउँछ जसको कारण ले उत्पादन मूल्य घट्छ।
√ यो हलुका भएकाले थोरैले धेरै क्षेत्रफल ओगट्न सक्छ ।
√ छिद्र हुने भएकाले पानी र विभिन्न रसायन लाई लामो समय सम्म समातेर राख्न सक्छ।यसले पानी कम हुने सुख्खा र बलौटे माटो भएको खेतबारीमा चिस्यान राख्छ ।
√ यसले मलको चुवावत रोक्न मद्दत गर्छ ।
√ यसको पी.एच (८)८.५) हुने भएकाले माटोको अमिलियपनबाट हुने असर कम गर्छ।
√ पानी र मललाई समातेर राख्ने भएकाले, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्छ र चाहिएको समयमा बोटविरुवालाई रसायन उपलब्ध गराउँछ ।
√ यसले माटोको शुद्धीकरणमा पनि मद्दत गर्छ ।
√ कार्बनको मात्रा बढी र पानी थाम्न सक्ने हुँदा, यसले जीवाणुको संख्या बढाउँछ । यसले गर्दा माटोको मलीलोपनमा वृद्धि हुन्छ ।
वायोचारले माटोलाई कुनै पनि असर नपर्ने हुँदा यसको प्रयोग बढी गर्दा पनि माटोलाई नकारात्मक असर परेको पाइएको छैन । यसलाई एक हेक्टरमा ४० टन अर्थात् २ टन प्रति रोपनीसम्म पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले धेरै बालीहरुमा २५–३० प्रतिशत उत्पादन वृद्धि भएको पाइएको छ । टमाटर, आलु, लसुन, मकै, प्याज, कफी, केरा, अदुवा, अलैँची, सिमी आदिमा २५–३० प्रतिशत उत्पादन वृद्धि भएको पाइएको छ । लहरे बाली जस्तै काक्रा, फर्सीमा भने २०० प्रतिशत सम्म उत्पादन वृद्धि र ८० प्रतिशत उत्पादन भएको पाहिएको छ । तर धानमा भने यसको उत्पादन वृद्धि भएको पाइएको छैन । वायोचार हल्का हुने र धान पानीमा रोप्नु पर्ने हुँदा वायोचार रोपेको जरामा नपर्ने हुँदा यसले फाइदा नपुर्याएको देखिन्छ । सजिलै कम लागतमा उत्पादन गर्न सकिने र राम्रो रिजल्ट दिने भएकाले वायोचार किसानहरूका लागि राम्रो विकल्प हुन सक्छ । राज्यले यसको उत्पादनमा किसानहरुलाई मद्दत र प्रोत्साहन गर्ने हो भने यसले रासायनिक मल आपूर्तिमा लाग्ने रकम न्यूनीकरणमा ठूलो भूमिका खेल्नेछ र किसानहरूका लागि रासायनिक मलको विकल्पको रुपमा स्थापित हुनेछ ।