आर्थिक अभावले देवघाट आश्रम सञ्चालन गर्न कठिनाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    आर्थिक अभावले देवघाट आश्रम सञ्चालन गर्न कठिनाई

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : देवघाटधाम भन्नेबित्तिकै मनमा आउँछ पवित्र तीर्थस्थल । जब उमेरले डाँडो काट्छ र कसैको साहारा खोज्छ, त्यतिबेला साथमा कोही नहुनु सबैको जीवनमा बिडम्वना नै हुन्छ । बुढ्यौलीमा उपयुक्त साथ नपाएर बेसाहारा बन्न पुगेपछि जीवनमा आशा र मनमा शान्ति खोज्दै पुग्ने ठाउँ हो देवघाटका वृद्धाआश्रम ।

    तनहुँको देवघाट गाउँपालिकामा रहेको देवघाट समाज कल्याण वृद्धाआश्रममा बुधबार मध्यान्हमा पुग्दा कोही बत्ती काट्दै, कोही शीतल ताप्दै थिए त कोही आफ्नै धुनमा माला जप्दै देखिन्थे ।

    वृद्धाश्रममा हिक्मतबहादुर क्षेत्री अरुभन्दा फरक वृद्ध हुनुहुन्छ । उहाँ आफ्नै धुनमा माटोलाई खेलाएर भुलिरहनु भएको छ । उहाँ वृद्धाश्रममा आएको मात्र नौ महिना भयो । उहाँको घर पर्वत हो । उहाँले भारतको मुम्बईमा काम गर्नुहुन्थ्यो । ज्यानले बुढ्यौलीको संकेत दिन थालेसी उहाँ देवघाट आउनु भयो ।

    घरमा किन नगएको भन्ने खै किन उहाँलाई खासै सुनाउन मन लाग्दैन तर यत्तिमात्र भन्नुहुन्छ ‘हामी नेपालीको म¥यो भन्यो भने बरु सन्तोष हुँदो रैछ जिउँदो हुनु बेकार रैछ ।’ उहाँले यसो भनिरहँदा सायद उहाँ आफ्नो परिवारसँग सन्तुष्ट हुनुन्न भन्ने लाग्छ तर आफू वृद्धाश्रममा बस्दा भने निकै सन्तुष्ट हुनुहुन्छ । उहाँ यहाँ आए देखिनै बगैँचाको स्यारसम्भारमा आफूलाई व्यस्त राख्नु भएको छ । वृद्धाश्रम अगाडिको बाझो जमिनलाई कुटोले खनीखोस्री विभिन्न थरिका फूलका बिरुवा लगाउनु भएको छ । विभिन्न थरीका फूलसँगै उहाँले बनाएको बगैचामा नारायणी र कालीगण्डकीको सुसाइसँगै देवघाटको सन्नाटामा मुस्कुराइ रहनु भएको छ ।

    वृद्धाश्रममा भए पनि उहाँको समय बिताउने उत्तम थलो बनेको छ फूलबारी । यस्तै वृद्धाश्रममा रहनु भएकी कृष्णमाया अधिकारी बत्ती काटेर दिन बिताउनु हुन्छ । वृद्धभत्ता नागरिकतामा उमेर घटाएर बनाएकाले उहाँले पाउनु भएको छैन । मुटुको रोगी भएकाले औषधिको लागि पैसा आफै जुटाउनु हुन्छ । ‘आफ्नै स्वेच्छाले आएर बसेको १४ \१५ वर्ष भइसक्यो उहाँ भन्नुहुन्छ । यहाँ आउने सबैका जीवनका आफ्नै आफ्नै कहानी छन् तर उहाँहरु शान्त देखिनुहुन्छ । लक्ष्मीमाया श्रेष्ठ ८ वर्षदेखि आश्रममा हुनुहुन्छ । गफ गर्ने, बत्ती कात्नेमा उहाँको दैनिकी बित्ने गरेको छ । भीमबहादुर घिमिरे दम्पती पनि डेढ वर्षदेखि यही आश्रममा हुनुहुन्छ ।

    निसन्तान दम्पती लमजुङका उहाँहरु भरतपुर ११ मा कोठा भाडामा बस्नुहुन्थ्यो । उमेरले ७० वर्षीय घिमिरे भन्नुहुन्छ ‘बच्चाबच्ची छैनन्, सम्पती छैन आफ्नो ठाउँ खोज्दै आउनैप¥यो’ उहाँ सुनाउनुहुन्छ । देवघाट क्षेत्र विकासअन्र्तगत पर्ने यो वृद्धाआश्रम सरकारद्धारा सञ्चालित छ । २०५२ सालमा स्थापना भएको हो । अहिले सो वृद्धाश्रममा ५० जना राख्ने क्षमता रहेको छ । अहिले ३५ जनामा २० जना महिला र १५ जना पुरुष रहेका छन् । त्यसैगरी देवघाटकै एनआरएन वृद्धाश्रममा ५० जना र रोटरी करुणालयमा ४० जना वृद्धवृद्धा रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको कारणले वृद्धवृद्धाको सेवामा प्रभाव पारेको छ । एउटा वृद्धाश्रम स्थानीय स्रोतसाधनमा चलाउन निर्देशन दिए पनि सम्भव हुन सकेको छैन ।’

    कोही पनि नभएका कोही पनि नभएका जायजेथा जायजन्म नभएकालाई स्थानीय सरकारको सिफारिसमा राख्ने गरिएको देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशक एवम् आश्रमको अध्यक्ष धिरनबाबु घिमिरेले बताउनु भयो । उहाँले सरकारी वृद्धाआश्रम भए पनि दाताकै भर पर्नुपरेको बताउँनुहुन्छ । नेपाल सरकारबाट गत वर्ष पाँच लाख रुपैयाँ आए पनि पछिल्लो समयमा गाह्रो भइरहेको छ । पछिल्लो समयमा कोरोनाका कारण दाताहरु पनि न्यून आउने भएकाले व्यवस्थापनमा समस्या भइरहेको उहाँले सुनाउनुभयो ।

    ६ जना कर्मचारी गरी आश्रम चलाउन वार्षिक ४० लाख लाग्नेमा ३५ लाख दाताबाटै संकलन गरेर चलाइरहेको घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समयमा दाताबाट सहयोग कम आउन थालेकोले अब सरकारलाई नै गुहार्नुको विकल्प छैन अध्यक्ष घिमिरे भन्नुभयो । पछिल्लो समय व्यवस्थापनमा चुस्तता सरसफाई खानपानमा विशेष ख्याल गरिरहेको बताउनुभयो ।(नारायणी अनलाइनबाट)