तनहुँका बामदेवले साट्छन् घाससँग पैसा (रिपाेर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    तनहुँका बामदेवले साट्छन् घाससँग पैसा (रिपाेर्ट सहित)

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : सेतै फुलेका कपाल र दारीजुँगा । चाउरिएको छ गाला । कुप्रिएको ढाड । उमेरले ७२ वर्ष टेकेपनि बुढ्यौलीले छोएजस्तो देखिदैन । लक्का जवान जस्तै जोशिला । त्यही जोशजाँगरले तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका बामदेव खनालले पशुचौपायलाई खुवाउने घाँसलाई पैसासँग साटिरहनुभएकाे छ । घाँस बेचेर दामसँगै नाम कमाउन सफल हुनुहुन्छ उहाँ ।

    खनालले गएको असार साउनमा घाँसका बेर्ना विक्रीबाट २० लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयाे । “भूकम्प गएको वर्ष २२ लाख कमाएको थिए । त्यसपछि यसपाली राम्रो कमाई भयो,” उहाँले भन्नुभयाे । उहाँको घाँसे यात्रा कहिले लाखमा चढ्छ, कहिले हजारमा झर्छ । यो वर्ष राम्रो कमाई गर्नुभयाे उहाँले । “कोरोनाले गर्दा गाउँ फर्किएर बाख्रा पाल्न धेरै शुरु गरेका छन् । त्यसैले धेरै घाँसका बेर्ना विक्री भएको हो,” उहाँले भन्नुभयाे । २५ पैसादेखी ३० रुपैयाँमा बेर्ना बिक्री गर्नुहुन्छ उहाँले ।

    खनालले बडहर, राइखनियो, टाँकी, कोईरालो, बकाईने, पाखुरी, चिउरी लगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामे लगायत भुई घाँसका बेर्ना विक्री गर्दै आउनुभएकाे छ ।

    वामदेव खनालको घाँस खेतीको अनुभव समेटेर तयार पारिएको रिपोर्ट सुन्नुहोस्

    घाँसका बेर्ना तनहुँका विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, लमजुङ, गोरखा, स्याङजा, चितवन, पर्वत, म्याग्दी लगायतका जिल्लाका किसानले लगेका हुन् । गएका वर्षमा अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर लगायतका जिल्लाका किसानले पनि यहाँ उत्पादन भएका घाँसका बेर्ना लैजाने गरेकोमा यसपाली लकडाउनको कारण आउन पाएनन् ।

    देशभरका किसान उनको घाँस खेती अध्ययन अवलोकनका लागि आउने गर्दछन् । नजिकका जिल्लामा आफ्नै भ्यानमा राखेर घाँसका बेर्ना पुर्याईदिने उहाँले सुनाउनुभयाे । उहाँको नर्सरीमा उत्पादित घाँसका बेर्ना लगेर देशैभरका किसानले फैलाएका छन् ।

    ‘तालिमबाट फर्कदा घरमा पालेको गाईलाई खुवाउन लगाउने उदेश्यले नेपियर बेर्ना ल्याएको थिए । त्यसलाई रोपेको राम्रो भयो । अर्को बर्ष नेपियरको बेर्ना माग आउन थाल्यो । राम्रै आम्दानी भएपछि पैसा त यता पो रैछ भनेर आकर्षित भएको हुँ’ उनले सम्झिए ।


    कसरी सुरु भयो त घाँसे यात्रा ?

    देशभरका किसानका लागि प्रेरणा बन्नुभएका उहाँको यो सफलताको पछाडी लामो सङ्घर्षको कथा लुकेको छ । २३ वर्षअगाडी फर्किएर हेर्दा बामदेव माटोमा खेल्दै परिवारको गुजारा चलाउन खोज्दै हुनुहुन्थ्याे । उहाँले त्यति बेलासम्म तरकारी खेती गर्दै हुनुहुन्थ्याे । बारीमा उत्पादन गरेको तरकारी दमौली बजारसम्म पुर्याएर बिक्री गरी घर फर्कदा त आतेजाते गाडी भाडा तिर्न पनि बढो मुस्किल हुने ।

    देशमै केही गर्छु भनेर कस्सिएका उहाँलाई विकल्प खोज्नैपर्ने थियो । विदेश जाने रहर थिएन् । त्यै बेलामा पशु विकास कार्यालय तनहुँले सिफारिस गरेपछि उहाँलाई पोखरामा सात दिने घाँस सम्बन्धि तालिम लिने मौका मिलेकाे थियाे । “तालिमबाट फर्कदा घरमा पालेको गाईलाई खुवाउन लगाउने उदेश्यले नेपियर बेर्ना ल्याएको थिए । त्यसलाई रोपेको राम्रो भयो । अर्को वर्ष नेपियरको बेर्ना माग आउन थाल्यो । राम्रै आम्दानी भएपछि पैसा त यता पो रैछ भनेर आकर्षित भएको हुँ,” उहाँले सम्झिनुभयाे ।


    घाँसखेती उहाँको आम्दानीको मुख्य स्रोत बनेको छ । खनालले अहिले घाँसको साम्राज्य नै बनाएका छन् । एक सय रोपनी क्षेत्रफलमा घाँस लगाएको उहाँले जानकारी दिनुभयाे । ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाडामा लिएर घाँस लगाएको उहाँको भनाई छ । परम्परागत तरिकाले निर्वाहमुखी भैसीँपालन गर्ने साधारण किसान खनाललाई दैनिक परिवारको गुजारा चलाउन धौंधौ थियो ।

    भैँसी पाल्न कृषि विकास बैङ्कबाट लिएको ऋण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि छ उहाँसँग । तर, असफलताबाट हार नखाई निरन्तर माटोमा पसिना भिजाउनुभएका खनालले घाँसकै बेर्ना बेचेर लिलामीमा गएको जग्गा फिर्ता गर्न सफल हुनुभएकाे छ । घाँसकै कमाईले थप जग्गा समेत किनेर आफ्नो कर्मको क्षेत्र अझ फराकिलो बनाएको उहाँले बताउनुभयाे । “आफैँले ८० हजार रुपैयाँमा बेचेको जग्गा पछि १५ लाखमा किने,” खनालले भन्नुभयाे ।

    घाँसको बेर्ना लिदैँ वामदेब खनाल

    मुलुकभर आधुनिक घाँसीको छवि बनाउनुभएका खनालले हजारको लगानीमा शुरु गरेको घाँस खेतीले लखपति बनाएपछि सन्तुष्ट हुनुहुन्छ । “नाम र दाम दुवै दिएको छ घाँसले सन्तुष्ट नहुने त कुरै भएन,” उहाँले थप्नुभयाे, “पहिला भैँसी पाल्दा घाटा हुँदा लिलामी भएको जग्गा घाँस खेती गरेपछि फर्काए । घाँस बोक्ने गाडी किनेको छु । देशैभरका किसानले बामदेव दाई भनेर चिन्छन् । यो पनि मेरो सम्पत्ती त हो ।’ बामदेव आफुलाई देशैभरका किसानले चिनेपनि सरकारले भने चिन्न नसकेको बताउनुहुन्छ । “अरु बेला चिनेपनि अनुदान दिने बेलामा चिन्दैन्न,” उहाँले भन्नुभयाे, “अनुदान दिईहाले दिए भन्ने पार्ने गरी दिन्छन् ।” खनालले राष्ट्रियस्तरको उत्कृष्ट किसानको पुरस्कार समेत प्राप्त गर्नुभएकाे छ ।

    सम्बृद्धीका लागी कृषीमा प्रशस्त सम्भावना देखेपछि अहिले खनाल परिवार घाँस खेतीसंगै पशुपालनमा लागेका छन् । कामधेनु गौ फार्म दर्ता गरी उन्नत जातका डेढ दर्जन बढी गाई भैंसी पालेका छन् । यी गाईभैसींको मलले सय रोपनी जग्गामा पोसिला घाँस मल्किएका छन् । मललाई पाईपलाईनबाट सिधैं घाँसबारीमा पुग्ने व्यवस्था मिलाईएकाले गोठ पनि सफासुग्घर देखिन्छ ।

    दुई छोराबुहारीको साथ

    बामदेवले बनाएकाे घाँसको साम्राज्यमा श्रीमतीसंगै माईला र कान्छा छोरी बुहारीले सम्हालन साथ दिनुभएकाे छ । जेठा छोराको परिवारले आफ्नै व्यापार गरेका छन् । बामदेव जस्तै दुई छोरा पनि सन्तृष्ट हुनुहुन्छ । “बच्चैदेखी घाँसको काम गर्दै रमाईयो । अहिलेसम्म कमाई राम्रै छ । भविष्य पनि राम्रै देखिन्छ । यो पेशा छाड्ने सोच बनाएका छैनौँ,” कान्छा छोरा विनोदले भन्नुभयाे ।

    पछिल्लो समय पशुपालनमा लाग्ने किसान झनै बढिरहेकाले घाँसको व्यापार फस्टाउदै जाने उहाँको भनाई छ । समृद्धिका लागि कृषिमा प्रशस्त सम्भावना देखेपछि अहिले खनाल परिवार घाँस खेतीसँगै पशुपालनमा लागेका छन् । कामधेनु गौ फार्म दर्ता गरी उन्नत जातका डेढ दर्जन बढी गाईभैंसी पालेका छन् । यी गाईभैसींको मलले सय रोपनी जग्गामा पोसिला घाँस मल्किएका छन् । मललाई पाईपलाईनबाट सिधैं घाँसबारीमा पुग्ने व्यवस्था मिलाईएकाले गोठ पनि सफासुग्घर देखिन्छ । गाईभैसींलाई चिसोबाट जोगाउन गोठमा म्याट ओछ्याईएको छ । दैनिक एक सय ५० लिटर दुध आफैले दमौली बजारका ग्राहकसम्म दुध पु¥याउने भएकाले मनग्य आम्दानी भईरहेको उहाँले जानकारी दिनुभयाे ।

    घाँसीको प्रेरणाले आदीकवी भानुभक्त आचार्य प्रख्यात बने । भानुभक्तकै जन्मथलो तनहुँमा आधुनिक घाँसीको परिचय बनाएका एक सफल किसान बामदेव पनि देशभरका किसानका लागि प्रेरणाको स्राेत हुनुहुन्छ । दैनिक गुजारा चलाउन वैदेशिक रोजगारीको विकल्प छैन् भन्ने युवापुस्ताका लागि उहाँको पेशा र आम्दानी दुवै उदाहरण हो ।