कक्षा ९ को शिक्षाको पाठ घोकेर परीक्षामा नम्वर ल्याउनु थियो । असल शिक्षकको गुणहरु के के हुन भनेर पूरै घोकियो भने १० नम्वर आउथ्यो, लामो उत्तर लेख्ने प्रश्नमा आयो भने । परीक्षामा ती गुणहरुको बारेमा आयो, कति नम्बर पाए सम्झना त छैन । तर, आज धेरै समय पछि म आफैँ शिक्षक भएर बालबालिकालाई सिकाउदै गर्दा ती बाल मस्तिष्क अनि समाजले मैले पुस्तकमा पढेर परीक्षामा लेखेका विशेषता र गुणका आधारमा कति नम्वर देलान त ? भनेर एक पटक आफैलाई प्रश्न गरे ‘म कस्तो शिक्षक..?’
दैनिक विद्यालय जानु, विद्यार्थीलाई पढाउनु अनि विद्यार्थीको स्तरोन्नति गरेर माथिल्लो कक्षामा पु¥याउनुलाई शिक्षकको क्षमता भनेर जाँचिन्छ । शिक्षकको पहिलो प्राथमिकता भनेको शिक्षण सिकाईलाई सफल बनाउनु हो । त्यसका लागि उसमा विषयबस्तुमा पर्याप्त ज्ञान, शिक्षणमा कुशलता, सिकाइ प्रक्रियाको ज्ञान, बाल मनोविज्ञानको ज्ञान, शिक्षण विधिको ज्ञान, शिक्षण सामग्रीको ज्ञान, शिक्षण पद्दतिको ज्ञान, प्रयोग र अनुसन्धानको ज्ञान, जिज्ञासु र अनुसन्धानको ज्ञान आदी आदि हुनु आवश्यक छ । तर, पढाईका अलावा विद्यार्थीमा अन्य व्यवहारिक ज्ञान, सीप र धारणा विकास गर्नु पनि शिक्षकको जिम्मेवारी हो ।
पाठ्यक्रममा तोकिएको विषयवस्तुलाई मात्रै पढाएर, त्यसैसँग सम्बन्धित प्रश्नका उत्तर लेख्न सिकाउनु अनि कक्षा चढाउने लब्धाङ्क पत्र र प्रमाण पत्र थमाउनु मात्रै शिक्षकको भूमिका रहनुहुँदैन ।
विश्वव्यापी रुपमा शिक्षण पेशालाई मर्यादित र सम्मानजनक पेशाको रुपमा लिईन्छ । बालबालिका भविष्यको कर्णधार हुन । भविष्यका कर्णधारलाई कस्तो बनाउने भन्ने जिम्मेवारी शिक्षकले निर्धारण गर्न सक्दछ । सबै पेशाको आ–आफ्नै भूमिका र महत्व हुन्छ तर ती सबै पेशा भन्दा फरक र संवेदनशील हो शिक्षण पेशा । किनकी शिक्षकको सिकाई र सहजिकरणमा नै बालबालिकाको भविष्य छ ।
शिक्षकमा ज्ञान र चेतना आवश्यकता अति आवश्यक हुन्छ । उसको व्यक्तित्व समाजका अन्य व्यक्तिको भन्दा फरक हुनुपर्दछ । उ आफै धेरै अनुशासित र उदाहरणीय बन्न सक्नु पर्दछ । किनकी किताबको पाठ्यक्रमको भन्दा धेरै भूमिका हुन्छ शिक्षकको । विद्यार्थीले उस्को आफ्नो शिक्षकको बानी, व्यहोरा र रहनसहनबाट धेरै कुरा सिक्छ । शिक्षकले गलत गर्दा पनि सही हो भन्न सोच बाल मष्तिष्कमा हुन्छ । पाठ्यक्रम अनुसारको पाठ सिक्ने गुरु मात्र होइनन् शिक्षक त समुदायका लागि रोल मोडल पनि हुन ।
शिक्षण पेशालाई पूर्ण रुपले मर्यादित गराउन सकिएन भने विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्र होईन समाजमा नै नकरात्मक सन्देश फैलन्छ । यी सबै कुरालाई मूल्यांकन गरेर राज्यले शिक्षकको सुविधा वृद्धि गरी उनीहरुको शिक्षण अवधिभर शिक्षा पेशा बाहेक अन्य पेशामा सहभागी भई आर्थिक उपार्जन गर्न नपर्ने गरी व्यवस्था गर्नुपर्दछ । किनकी शिक्षकको सामाजिक, आर्थिक, साँस्कृतिक जीवनका पक्षहरुले विद्यार्थीको मनोविज्ञानमा प्रत्यक्ष असर पारेको हुन्छ । उदाहरणको लागि कुनै शिक्षकले कक्षामा सूर्ती चुरोट मदिरा खानु हुँदैन भनेर पढाउने आफू विद्यालय सकेर तिनै विद्यार्थी र अभिभावकलाई सूर्ती चुरोट बेच्ने हो भने दिनभर पढाउनुको कुनै तुक रहँदैन । त्यसैले शिक्षकलाई राज्यले शिक्षण पेशाबाट नै पूर्ण रुपमा जीविकोपार्जन गर्न सक्ने गरी सेवा सुविधाको व्यवस्था गर्नुपर्दछ भन्ने मेरो धारणा छ ।
शिक्षकमा कक्षाकोठाको शिक्षणका अतिरिक्त सामाजिक गुणअन्तर्गत समुदायको ज्ञान र सेवाभाव, विनोदप्रिय, स्पष्टवक्ता, मानवीय सम्बन्ध कायम गर्ने सीप, नेतृत्व लिनसक्ने क्षमता भएमात्रै समाजको मार्गदर्शक भएर उभिन सक्दछन् ।
अमेरिकी शिक्षाविद् वाल्पस र चार्टर्सका अनुसार असल शिक्षकमा विद्धता हुनुपर्छ । तालिम प्राप्त हुनुपर्छ । शिक्षक विश्वसनीय पनि हुनुपर्छ किनभने शिक्षकको भरोसामा नै बाबुआमाले आफ्ना नानीबाबुहरू जिम्मा लगाएका हुन्छन् । विद्यालय समय बाहेक पनि शिक्षक सधै उदाहरणीय बन्नु पर्दछ । शिक्षकहरु मर्यादाच्युत भई समाजमा विकृति र विसंगतिमा लाग्दा समग्र शिक्षण पेशा प्रति नै गलत सन्देश प्रवाह भएको हुन्छ ।
विद्यालय सकेपछि र बिदामा तास जुवाका खालमा भेटिनु, समाजका विवादास्पद घटनामा सहभागि हुदा सबै शिक्षकको आत्मसम्मानमा चोट पुग्छ भने शिक्षण पेशा र शिक्षक प्रति बालबालिका र समाजले हेर्ने दृष्टिकोण पनि नकरात्मक हुन सक्छ । शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेर शिक्षक बन्न जति सजिलो छ नि असल शिक्षक बन्न त्यति नै कठिन छ । मात्र शिक्षक त शैक्षिक योग्यताले मात्र पनि बन्न सक्छ । असल शिक्षक बन्न धेरै गुण चाहिन्छ । व्यक्तिगत, शैक्षिक, सामाजिक गुणहरुले भरिपुर्ण शिक्षक मात्र बास्तविक गुरु बन्न सक्दछ ।
सभ्य तथा सुसंस्कृति समाज निर्माणका लागि शिक्षक सेवा आयोगमा पढेको विषयवस्तु मात्रै काफी छैन । पूर्ण शिक्षक हुनका लागि उसले समाज र विद्यार्थीको मनोविज्ञान अध्ययन गरेको हुनु पर्दछ । हाम्रो क्षमता, कार्यकुशलता र प्रभावकारितामा कहि कतैबाट पनि प्रश्न उठ्नु हुदैन किनकी शिक्षकको भूमिका र योगदान विद्यालयको कक्षा कोठमा मात्रै सीमित हुँदैन उसको हरेक गतिविधिले समग्र समाजका लागि उदारहण बन्न पुग्दछ ।
शिक्षककको कर्तव्य, भूमिका र योगदानलाई आत्मसाथ गर्दै शिक्षक सेवा आयोगबाट एक शिक्षकको परिचय पाएको म कहिलेकाहीँ गम्भीर हुन्छु । हामी माथि ठूलो जिम्मेवारी छ, देशको भबिष्यका कर्णधार तयार गर्नुछ भनेर । हामीले नै तयार गरेका कर्णधारले परिवार, समाज, गाउँ हुदै राष्ट्रको भविष्य कोर्दै छन् यो अभियान म एक शिक्षकको भूमिका कसरी निभाउने, साच्चै मैले विद्यालयमा शिक्षा विषयमा अध्ययन गरे जस्तै सबै विशेषता र गुण भएको सफल शिक्षक कसरी वन्ने म हरेक दिन घोत्लिएर सोचिरहन्छु । म एक शिक्षक…
लेखक कुश्मावति आधारभूत विद्यालय, सेराटार शुक्लागण्डकी तनहूँको प्रधानाध्याक हुनुहुन्छ