आँबुखैरेनी–पोखरा सडक विस्तार यसै वर्षदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी–पोखरा सडक विस्तार यसै वर्षदेखि

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    तनहुँ : सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जानकारी दिएको छ। 

    एडीबीको उपआयोजना निर्देशक राकेश महर्जनका अनुसार ८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ। ठेक्काका लागि गत वर्षको कात्तिक २१ गते बोलपत्र आह्वान गरिएको थियो। 

    पोखराबाट पूर्वखण्डमा १८ र आँबुखैरेनीबाट पश्चिममा १७ वटा कम्पनीले प्रस्ताव पेस गरेको आयोजनाले जानकारी दिएको छ। ती कम्पनीको प्रस्ताव मूल्यांकनको क्रममा रहेको छ। यो सडक एसियाली बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो। ऋण सहयोग भएकाले आयोजनाले लिने हरेक निर्णयका लागि एडीबीको स्वीकृति आवश्यक पर्छ।

    आयोजनाको मूल्यांकन समितिले प्रारम्भिक रूपमा सूचीकृत गरेको कम्पनी सम्बन्धी जानकारी एडीबीलाई पठाइनेछ। एडीबीबाट नो अबजेक्सन लेटर प्राप्त भएसँगै ती कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ। सबै प्रक्रिया पूरा गर्न करिब तीन महिनाको समय लाग्ने उपआयोजना निर्देशक महर्जनले बताउनुभयो ।

    उहॉका अनुसार सम्भवत फागुन–चैत भित्रमा ठेक्का सम्झौता गरी निर्माण सुरु हुनेछ। सरकारले मुग्लिनदेखि पोखरासम्म साँघुरो सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुसार आँबुखैरनी–पोखराको ठेक्का निकालेको हो। 

    मुग्लिनदेखि आँबुखैरेनी खण्डको डीपीआर निर्माणको क्रममा छ। कोरियाली परामर्शदाता केईसीसीले डीपीआर तयार गरिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकनको क्रममै छ। आँबुखैरेनी–पोखरा खण्डको डीपीआर पनि केईसीसीले नै तयार पारेको थियो। तर मुग्लिन–आँबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह छ। 

    हालको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने अवस्था थियो। जलविद्युत् गृहलाई हानी नगरी सडक विस्तार गर्न आयोजनाले मस्र्याङ्दी नदीको अर्को किनाराबाट सडक निर्माण गर्ने गरी प्रारम्भिक डिजाइन तयार पारेको छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरिसकिएको छ। 

    स्वीकृति नयाँ रेखांकनअनुसार मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने मस्र्याङ्दी नदीको दायाँ र बायाँ दुई-दुई लेनको सडक निर्माण हुनेछ। यसका लागि वातावरणीय प्रभाव मूल्यांकनले मान्यता प्राप्त गर्नुपर्ने हुनेछ। 

    आँबुखैरनी–पोखरा सडक खण्ड निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। एडीबीले एसियाली राजमार्ग मापदण्डअन्तर्गत सडक निर्माण गर्न २१ अर्ब ४५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग सम्झौता गरिसकेको छ। बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्नेछ। रकम घर, टहरा, जग्गाको मुआब्जा वितरणमा खर्च गरिनेछ।

    आँबुखैरनी–पोखरा सडकखण्डलाई भूगोल र जनघनत्वको आधारमा सडक चौडा बनाइनेछ। घनाबस्ती भएको ठाउँमा स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ सात-सात मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर लामो हुन्छ। 

    मुख्य सडकलाई एक अर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ। आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ। सडकको दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक-एक मिटरको फुटपाथ हुन्छ। सर्भिसलेन र मुख्य सडक छुट्ट्याउन ०.७५ मिटरको पर्खाल हुन्छ। सहरी क्षेत्रमा पैदल यात्रु तथा सवारीको चाप धेरै हुने भएकाले सडक फराकिलो बनाउन खोजिएको हो।

    खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ। यी स्थानमा सर्भिस लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ।

    यो सडक खण्डमा पर्ने मादी र सेती नदीमा सिग्नेचर (आकर्षक) पुल पनि बनाउने आयोजनाको तयारी छ। सडक विभाग पुल महाशाखाले पनि मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ। सिग्नेचर पुल नेपालका लागि नवीन प्रविधि हो।

    (अन्नपूर्ण पोष्टबाट)