तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा ६० जनाको औलो परीक्षण गरिएको छ । विश्व औलो दिवसको अवसरमा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार औलो परीक्षण गरिएको हो ।
परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट फर्किएका, व्यवसायी र स्थानीयवासीको औलो परीक्षण गरिएको थियो ।
औलो रणनीतिक योजना अनुसार नेपाललाई सन् २०२५सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । सोही अनुरुप सन् २०२२ सम्ममा स्थानीय औलो बिरामीको सङ्ख्या शुन्य कायम गर्ने लक्ष्य लिइएको छ ।
के हो औलो ?
औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ ।
औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन शुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ ।
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।