ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–७ दधिवनमा पहिराले पुरिएर मृत्यु भएकी महिलाको शव निकालिएको छ । बुधबार रातिदेखि परेको वर्षासँगै आएको पहिराले पुरिएर मृत्यु भएकी ५२ वर्षीया देवीसरा थापाको शव दिउँसो निकालिएको हो ।
आज बिहान करिब ६ बजेतिर घरमाथिबाट खसेको पहिराले पुरिएर थापाको मृत्यु भएको थियो । वडा सदस्य याम सारु मगरका अनुसार घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो,” उहाँले भन्नुभयो ।
पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा भने फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।