अवशेष !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    अवशेष !

    विवि श्रेष्ठ

    २९ श्रावण २०७८, शनिबार

    यादको प्रतिविम्व नै अवशेषका सुचक हुन् । सत्यताको कसीमा नापिने अवशेष जीवनका एकमात्र अंश हुन् । जुन नचाहेर पनि पल पलमा आत्मिकतामा जमेको हुन्छ । केही पलका लागी कसै सँग गरिने दोहोरो सम्वादका वीचमा यसको अस्तित्व विहिन देखिएता पनि यो कहिल्यै विलिन हुदैन । यहि सत्यताका वीचमा जीवनका उतारचढावहरु भईरहनेछन् ।

    देखिने, भोगिने र जीउनका लागी गरिने कोशिषहरु सजिवताका लागी पर्याय वनेता पनि ह्दयको त्यो समागम भने यथार्थ नै हुन्छ । यथार्थता लुकाउने प्रयत्न एउटा भएता पनि त्यो फगत मिथ्या मात्र हो । चेतनाको प्रतिष्पर्धामा अव्वल देखाउने खोज्ने प्रयासहरु अन्तत व्यक्ति केन्द्रित भएर स्वखलित हुने गर्दछन् । भोगाईको जीवनमा जीवनको उत्तराद्र्धमा गएर पछुताउने शिवाय अन्य केही नहुने रहेछ । यहि एकमात्र सत्यतालाई आत्मासात गर्न नसकी रमिने र रम्ने प्रतिष्पर्धामा पलहरु वितिरहे । ऐनामा वाहिरी सुन्दरता नियाल्ने अथक प्रयास भन्दा वाहिर गएर सोच्ने हिम्मत गर्न सकेन । केही भिन्नका वीचमा गरिएको प्रयास पृथक वन्न सकेन । सधै देखिने र भोगिने प्राकृतिक अनुपमतालाई समेत आत्मासात गर्न नसक्दा वाल्यकालमा देखिएका अनेकन सपनाहरु समुन्द्रमा गएर विलिन हुन पुगे ।
    सम्पन्नता र वलियोको त्यो सोचलाई प्रकृतिको सानो हावाले धुलिसात वनाईदियो । त्यहि हिजोको मिठो प्रकृति आज पर्खाल वनेर उभिदियो । लाग्दथ्यो, सवै मेरा सहयोगी हुन्, त्यो त केवल सोचको वन्धक मात्र रहेछ । हिजो चंचल लाग्ने मौसमले आज गिज्जाईदियो । लाग्दथ्यो, त्यहि मधुर आवाजले जीवन सदैव संगिन हुनेछ । यथार्थतालाई लुकाउने प्रयत्न निश्चित समयका लागीमात्र मिठास हुने रहेछ । समयको वन्धक हुनेछ भन्नेलाई वुझन नसक्दा हुने चेतनाको पीडामा सह्य हुन सम्भव नहुने रहेछ । अवशेष सवैमा निहितार्थ हुन्छ, यहि वीचमा यसको प्रभाव व्यक्तिको चेतनावाहेक पनि सजिवतामा प्रकट हुने रहेछ, मात्रा मात्र फरक हुने रहेछ ।

    सोचको विविधतामा अव विस्तारै विर्को लागेको छ । विगतका अवशेषले वलियो हैन, कमजोर वनाउदै लगेको छ । कर्म भन्दा भाग्य र सहजतामा मात्र जीवन देख्न रुचाईएको जीवनमा विस्तारै भाग्यलाई दोष दिएर भाग्ने अनवरत प्रयास हुदैछ । यद्यापी यो प्रयासका वीचमा पनि अवशेषले भने सोधिरहेको छ । अणु, परमाणु वस्तुमा रहेजस्तै अवशेष जीविततामा रहने रहेछ । यहि अवशेषको महशुश जव कमजोरको महशुश हुन्छ, उमेर र सोच वन्धक वन्दछ, अनि यसको महत्वले प्रश्रय पाउने रहेछ । यहि अवशेषको प्रशय जीवनम गाढा वनेर आएको छ । विगतलाई सम्झाउने यो अवशेष कुनै समयसन्दर्भ, क्षेत्र, समय र पलमा सदैवमा अनियन्त्रित हुदँो रहेछ । उमेर र चेतना सँगै प्रार्दुभाव हुने अवशेषको यो प्रत्याभुतिले भोलिका दिनमा र समाज लगायत अवको पुस्तामा कति उजागर गर्न सकिएला ? आफु मरेपछि डुमै राजा भने झै अवशेषको त्यो झोकले वाँकी जीवन सहज वाँच्न देला कि नदेला ? प्रयत्न आफैमा अर्मुत हुन्छ, यो अत्यावश्यक छ, तर त्यो प्रयत्न जीवन, समाज का लागी नभएपछि त्यसले दिने परिणाम भनेको अन्तत नैराश्यता मात्र नै हो । यादका अवशेषहरु केहि समय छाँयामा पर्न खोज्दछन् तर पुर्ण रुपमा विलिन हुन सक्दैन रहेछ । देखिएको सपना, गरिएका कल्पना त केही समयका लागी वाँच्ने मिठो औजार मात्र रहेछ, जुन पछि सोचको वन्धकमा महँङ्गो हुँदो रहेछ ।

    यात्रा अनवरत रह््यो र रहिरहनेछ, यसमा कुनै दुविधा छैन । तर जीवनलाई नजिकवाट नियाल्न र सार्थकता खोज्नका लागी गरिएको कर्मले पत्येक पलको अवशेषलाई प्रतिविम्वित गरिदिन्छ । प्रश्नका सागरवाट सोच्न वाध्य वनाईदिन्छ । जव यो सवै अवशेषको वोध हुन्छ, जीवन फिक्का र रंगविहनि वनिदिन्छ । यहि रंगविहिन जीवनमा चालिएको हरेक पाईलामा आभास भईदिन्छ र अवशेषका अंशले सोधिरहन्छ । आत्मा मर्देन, साँच्चै आत्मा नमर्ने नै रहेछ, किनकी आत्मा अवशेषका रुपमा जीविततामा प्रकट भईरहन्छ । भौतिक वस्तुलाई नै जीवनको अर्थ देख्नेहरुलाई अवशेषको यो अंशले पोल्ला कि नपोल्ला ? या त अवशेषलाई पनि समान्य अंशका रुपमा परिभाषित गरेर अगाडी वढ्ला ? उमेरको ग्राफ वढेर उकालो लाग्दै गर्दा अवशेषका यी अंशहरु जीवनका सहयात्री वन्लान् कि अवरोध ? सोच र चेतनाको तादात्म्यता मिलाउँदा समेत यस अवशेषका अंशलाई न्याय गर्न सकिएला कि नसकिएला ? सोचको निकृष्टतालाई सकारात्मक वनाउँदा अवशेषको यो अंशलाई सहज अवतरण गर्न सकिएला कि नसकिएला ?

    साँच्चै आत्मा मर्देन रहेछ । आत्मा सवैको एक हुन्छ, फरक त व्यक्तिको सोच र चेतनामात्र रहेछ । आत्मावाट निस्कने पुकार र भनिने वोली वीचको तादात्म्यतामा आकाश र जमिनको अन्तर हुने रहेछ । फगत, मिथ्याका लागी गरिने कर्म र त्यस प्राप्तिका लागी वोलिने वोली आत्माको पुकार हुन सक्दैन । किनकी आत्मा अमर रहेछ, त्यहि आत्माको निरन्तरता नै सृष्टि रहेछ, जुन अन्त्यहीन रहेछ । अवशेषको प्रतिविम्व त्यहि आत्माको स्वरुप रहेछ । आत्मिक असन्तुलन त व्यक्तिको घमण्डको उपज रहेछ । जुन उपजलाई हामी तछाँड मछाँड गरि प्राप्तिका लागी दौडिरहेका छौ ।