विषय प्रवेश
मानहुँकोट महाभारत पर्वत श्रृङ्खलामा अवस्थित छ । पश्चिममा सेतर म्याग्देको दोभानबाट पूर्वमा सेती र माहेन्दी नदीको संगम स्थल व्यास पराशर प्रयाग उत्तरकाशी सैम्म फैलिएको यस पर्वतलाई लामीडाँडा भन्ने गर्छ ।राजनैत्तिक क्षेत्र विभाजनको हिसावले यो गण्डकी प्रदेश तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं.५ र म्याग्दे गाउँपालिकाको १, २,३,४ नं.वडाहरु पर्दछन् । मानहुँकोट र यस्को उत्तरी पाटो व्यास नगरपालिका र दक्षिणी पाटो म्याग्दे गाउँपालिकामा पर्दछ । साविक गुणादी महेन्द्रपुर गाउँ पञ्चायतमा परेको मानहुँ म्याग्दे गाउँपालिका बन्नु पूर्व जामनुे गाउँ विकास समिति अन्तरगत पर्दथ्यो । मानहुँ समुन्द्र सतह भन्दा १००० मिटरमा उचाईमा रहेको छ । मानहुँकोटलाई सेती र मादी नदीले चुल्ठो बनाएर सजाएका छन् । यहाँका गुणादी, बुल्दी ,सांँगे र छाव्दी खोलाहरु हावामा लहराएका केशहरु हुन । मानहुँकोट केशलााइ बटारेर बनाइएको चुल्ठो हो । मानहुँकोट दमौली बजार संगै सटेर बसेको छ । मानहुँकोटको उत्तरमा म्याग्दे दक्षिणमा ऋषिङ् गाउँपालिका , पूर्वमा दमौली बजार पश्चिममा बच्र्याङ रहेका छन् । औलमय दमौली बसोबासको लागि योग्य स्थल नहुँदा सम्म दमौली वरपरका मानहुँ , दमुङ, डाँडाखुदी, गल्बु, गँुंदी र दुम्सीचौर नै बसोबासको लागि प्रथम रोजाईका स्थानहरु मानिएका थिए ।
मानहुँकोटको नामाकरण
सूर्योदय र सूर्यास्तको दृष्यका कारण चिरपरिचित तनहुँको मानहुँकोट पर्यटनका हिसावले अत्यन्त्यै मनमोहक रहेको छ । सुप्रसिद्धस्थल मानहुँकोट नाम रहनमा निम्न कारणहरु अति सान्दर्भिक देखिन्छन ।
(क) मा — नुङ÷नुङ्के बाट मानुङ हुँदै मानहुँ
मानुङ बाह्र मगरात क्षेत्र हो । यहाँ मगर ढुट भाषा बोलिन्छ । मगर भाषामा “मा” भन्नाले हुन्न ÷नाईं भन्ने जनाउँछ । यही भाषाको “नुङ्÷नुङ्के” शव्दले जा , जाने भन्ने जनाउँछ । जाने शव्दलाई नजाने नकरात्मक शव्द अर्थात करण शव्दलाई अकरण बनाउन प¥यो भने मगर भाषाको व्याकरण अनुसार “मा” उपसर्ग जोड्ने गरिन्छ । जस्तै “ले” शव्दले छ र “माले” शव्दले छैन भन्ने जनाउँछ । त्यसरी नै “नुङ्÷नुङ्के” शव्दले जाने र मानुङ ÷ मानुङके शव्दले नजाने भन्ने जनाउँछ । मानुङको पूर्वी ढलानमा डर लाग्दो भिर पहरा रहेको छ । शिखरको बसाइको कारणले मानुङ एक नम्वरको रोजाइमा पर्दछ । तर पानीको साह्रै नै दुःख भएको ठाउँ भएको हुनाले मानुङ (मानहुँ) जाने भने पछि मनै सिरिङ्ग हुने गर्दछ । मा— नुङ (खस भाषामा जान्न) शव्द अपभ्रंश भई “मानुङ” हुँदै “मानहुँ ” नाम रहन गएको हुनु पर्दछ ।
(ख) माना आकारका शिलाहरु भएकाले मानुङ हुँदै मानहुँ
मगर भाषा र संस्कृति विषयका जानकार यम बहादुर आले द्वारा मगर भाषामा लेखिएको “होटा माम्हाले, इटा आले ” कृतिमा “मानाल्हुङ ” बाट मानुङ भएको बताउनु भएको छ । अर्थात मानुङकोटमा भेटिने शीला (ढुङ्गा)हरु माना आकारका पाइएकोले “मानाल्हुुङ” बाट मानुङ र मानुङ बाट मानहुँ नाम रहन गएको मान्न सकिन्छ ।
(ग) मनु ऋषिको तपस्या स्थलबाट मानहुँ
पहिला पहिला मानहुँकोटको शिरमा मात्र सय भन्दा बढी मगरहरुको घर थियो रे । अहिले मानहुँमा ७ घरहरु मात्र बांकी रहेका छन् । सारा मानुङको सेरोफेरोमा ७०० घर थिए रे । मगरहरु पितृ उपासकहरु हुन । उनीहरु आफ्ना बो बज्यै तथा पितृहरुको नाममा बो बज्यै पूजा गर्ने परम्परा रहेको छ । पितृलाई इश्वर सम्झेर पूजाआजा गर्ने मगरहरुको विशिष्टिकृत संस्कृति हो । यही मानुङमा मनु नाम गरेका अविवाहित झ्याडी थरका मगर ऋषि बस्दथे रे । मानहुँका मगरहरु अझै पनि मनु ह्षि र पितृहरुलाई सम्झेर मनु ऋषि र बाजेबजैहरुको पूजाआजा गर्दै आइरहेका छन् । उनै ऋषिको जन्मभूमि ,कर्मभूमि र तपोभूमि भएकोले यस स्थानको नाम मानुङ् रहन गएको हो भन्ने किंबदन्ती सुनिन्छ । दमौली साँंगेपत्यानी र गुणादीको औल छल्न बसिएको मानहुँ नेपाल सरकारले २०१७ साल तिर औलनियन्त्रण अभियान चालिए पछि बिस्तारै गाउँका बस्ती खाली र बेसीका बस्ती बाक्लिँदै गएको हो ।
(घ) पौराणिक दृष्टिकोणमा मानहुँ ,
महाहनु लामो चिउँडो भएका ऋषि महाहनुलले तपस्या गरेको थलो भएकोले उनै ऋषिको नामबाट मानहँु नाम रहन गएको हो । तपस्यारत ऋषि महाहनु शव्दको बीचको ह अक्षर लोप भई माहनु र मा र महानु शव्द अपभ्र्रँस भइ मानहुँ नाम रहन गएको हो पनि भनिन्छ ।
डा. लक्ष्मीकान्त चपागाईको शव्दमा
महाहनु मुनीको तपस्थली छ सुन्दर । त्यहाँ पुगे पछि आफै दृष्यमा रम्न आत्तुर ।।
हिमाली टाकुरा पाखा मादी सेती र पाटन । भादगाउँ दमौलीको गर्न पाइन्छ वर्णन ।।
महाहनु तथा मनु ऋषिको तपोभूमिमा धार्मिक सतसङ्ग हुँदै गयो ।
सतसङ्गले मानिसहरुलाई सत्कर्मी बन्ने प्रेरित ग¥यो ।
यसै गरी भूतपूर्व मालपोत अधिकृत श्री तारानाथ घिमेरेको शव्दमा “धर्म नुद”वाक्याँशले धर्मको पालन गर्ने भन्ने जनाउँछ । “नुद”शव्दलाई अकरण बनाउने हो भने नुदको अगाडि मा प्रत्यय जोड्ने गरिन्छ । यसरी “मानुद” भन्ने शव्द सृजित हुन पुग्दछ । वास्तवमा “धर्म मानुद” भन्ने वाक्यांसले धर्मको रक्षा गर्ने वाला अर्थात नाश नगर्ने व्यक्ति भन्ने अर्थ जनाउँछ ।
चार वेद अठार पुराणका संग्रहकर्ता महर्षि वेदव्यासको जन्मस्थल दमौली नजिकै मानहुँ रहेको छ । दमौलीको व्यासगुफा पश्चिमको अग्लो महाभारत पर्वतको नाम मानहुँ हो भने भारतको बद्रीकेदार स्थित व्यासगुफा नजिक रहेको गाउँको नाम पनि “माणा” नै भएको पाउँदछौं । यसरी उहाँको जन्मस्थान तथा तपस्या गरेका आश्रम समिप मानुङ,मानहुँ र माणा जस्ता नामहरुको अनौठो संयोग मिलेको पाउँदछौं । वैदिक सनातन धर्मका प्रणेता महर्षि वेदव्यासको मामाली गाउँ पनि यसै क्षेत्रमा पर्दछ । यहाँ उनका छोरा पाण्डुले बसोबास गरेको गुफा पनि साँगे क्षेत्रमा भेटिएको छ । जस्लाइ पाण्डव गुफा पनि भनिन्छ । सांँगे र मादी नदीको दोभानमा सत्यवतीको अग्लो मूर्ति र सेती मादी सँंगम नजिकको व्यासगुफाको माथिल्लो खण्डमा निर्माण गरिने व्यासको १०८ फिट अग्लो मूर्ति अबलोकन गर्न सकिन्छ । विश्का १ अरव हिन्दुहरुकै पावन भूमि व्यासप्रयाग आउने तीर्थयात्रीहरु मानुङको बसाईलाई आफ्नो प्राथमिकतामा राख्नेछन् भन्ने पूर्ण विश्वास रहेको छ ।
ऐतिहाँसिक दृष्टिकोणमा मानहुँ
मानहुँकोट गलेखामकोट राज्यको दक्षिणी सुरक्षा कवच गढीको रुपमा रहेको थियो । छिमेकी राज्यहरु ढोर, घिरिङ, गलेखामकोट , तनहुँ र ऋषिङ बाट हुन सक्ने आक्रमणबाट बच्न र बचाउन विभिन्न ठाउँहरुमा गढीहरु निर्माण गरिएको थियो । त्यही मध्येको एउटा मानहुँकोट हो । तनहुँ र ऋषिङको आक्रमणबाट मानहुँकोट किल्ला गलेखामकोट राज्यको बरदान सावित भएको थियो । मानहुँकोटको दक्षिणी भेगमा एक सुन्दर गुफा रहेको छ । त्यही गुफामा मनु , महाहनु जस्ता ऋषि महर्षिहरुले तपस्या गरेका थिए भनिन्छ । ऋषि महर्षिको तपोभूमि रहेको यस स्थानमा यहाँका मगरहरुले सुरक्षा कवच बनाएका थिए । मानहुँ कहिले मानहुँकोट, कहिले गुणादी महेन्द्रपुर, कहिले दमौली गाउँपञ्चायत हुँदै मानहुँको रजस्थलकोट अहिले व्यास नगरपालिका वडा नं ५ तर्फ र अधिकाँश भूभाग म्याग्दे गाउँपालिकाको क्षेत्र भित्र विभाजित भएर रहेको छ ।
मानहुँकोटको भूपरीवेश
दमौली बजार बाट पश्चिम तर्फ रहेको समुन्द्र सतह देखि ११०० मिटर उचाइमा रहेको अग्लो डाँडाको नाम हो मानहुँ । मानहुँ व्यास नगरपालिकाको ५ नम्बर वडामा पर्दछ । काठमाण्डौबाट १५२ किलोमिटर पश्चिम र पोखरा देखि ४८ किलोमिटर पूर्वमा रहेको छ । दमौलीबाट दुइ किलोटिर पश्चिमको चापाघाट अलैंचेबाट ६.५ किलोमिटरको दुरीमा मानहुँ रहेको छ । यहाँ पैदलमार्ग गयो भने दुई घण्टा र सवारी साधान बाट गइयो भने २५ मिनेटमा पुग्न सकिन्छ । चापाघाट बाट १ किलोमिटर को दुरी सम्म पिच र बांँकी भाग कच्ची सडकको यात्रा गर्नु पर्दछ । बांकी खण्ड रु ७ करोडको लागतमा रानीबारी कन्सट्रक्सनले सडकको स्तरोन्नती गर्ने जिम्मा पाएको छ । मानहुँकोटबाट अन्नपूर्ण हिमाल, बौद्ध हिमाल , मनासलु हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रे हिमालको दृष्यहरु देख्न सकिन्छ । यसैगरी गोरखाको सिरानचोक, मनकामना, चितौनको दारेचोक , नवलपरासीको वरचुली, देवचुली , कास्कीको कास्कीकोट, काहुँ लगायतका महाभारत पर्वत शिखरहरुको दृष्य पनि सजिलै अबलोकन गर्न सकिन्छ । व्यासनगर युवा क्लव सञ्जालले मानहुँकोटमा नेपालकै सबैभन्दा अग्लो झण्डा राख्ने अभियानको सुरुआत गरेको छ । मानहुँकोटबाट ४४ किलोमिटर दुरीमा रहेको पुलीम¥याङ सम्म अल्ट्रा म्याराथुन दौड प्रत्येक वर्ष हुँदै आएको छ । तनहुँ जलविद्युत आयोजनाबाट सेती नदीको बाँध निर्माण सम्पन्न भए पछि र व्यासनगरको ३ र ५ नं वडा बीचको सत्यवती झुला रहेको स्थान शान्तिनगरमा बाँधबाँधेर ताल निर्माण गरिएमा एकातर्फ दमौलीको तापक्रम घटन गई दमौलीको बसाइ एक नम्वरको रोजाइमा पर्ने र अर्को तर्फ तालमा डुङ्गा विहार , मत्स्यपालन व्यवसाय समेत फस्टाउने विश्वास लिएका छौं ।
पानी बोक्नको दुःखले बसाइ सराइले खाली बन्दै गएको गाउँ ।
सेती र मादी, ,सांगे, गुणादी नदीले वेष्टित मानहुँको डाँडोमा पानीको भरपर्दो श्रोत नभएकोले मानुङबासीहरु घण्टौ लगाएर पानी बोक्ने गर्दथे । पानी ल्याउन बिहान ४ बजे नै उठेर पंधेरा धाउनु पर्दथ्यो । २ खेप पानी ल्याउन एक बिहान पुरानै लाग्ने गर्दथ्यो । लामो समय लगाएर पानी बोक्ने अबस्थामा कुनै परिवर्तन नभए पछि सुविधायुक्त क्षेत्रमा मानिसको बसाइ सर्ने प्रकृया बिस्तार हुँदै गयो । केही बर्ष अगाडी सम्म मानुङमा छोरी नदिनु र दमौलीमा गोरु नदिनु भन्ने उखान चरितार्थ बनेको थियो । यदी कसैको छोरी मानुङमा बिबाह हुने कुरा सृजना भइहाल्यो भने बा, आमा र छोरी सबैमा पिरलो वढ्दथ्यो । यो पिडा अझ जीवन बिताउनु पर्ने छोरीका लागि दर्दनाक बन्ने गर्दथ्यो । केही वर्ष अगाडी वर्षे पानी संँकलन गरेर पानीको आपूर्ति कम गरेका मानुङवासी ५४ लाखमा अफ्नै गाउँमा खानेपानी योजना बनाउन राष्ट्रिय योजना आयोगका रातो किताबमा मानुङ्गमा लिफ्टका माध्यम पानी आउने भए पछि धक फुकेर प्यास मेटाउन पाउनेमा ढुक्क भएका छन् ।
मानहुँकोट मगरहरुको बाक्लो बस्ती भएको क्षेत्र हो । त्यसपछि मानहुँकोटमा बढी जनघनत्व खनाल परिवारको थियो । खानेपानीको समस्याकै कारण खनालहरु सिम्पानी, गुणादी, चापाघाट , सांँगेपत्यानी , दमौली, नारायढगढ र काठमाण्डौ बसाइ सरेका हुन भने मगरहरुले गुणादि, पाटन, साँगे र दमौलीको बसाई रोजेका हुन ।
मगरहरुको बसोबास भएको स्थल मानहुँ
दमौलीको पश्चिम तर्फ रहको महाभारत पर्वत श्रृङखलामा रहेको रमण्ीय गाउँको नाम मानुङ हो । मानुङकोटलाई कोटथोक पनि भनिन्छ । मगर भाषामा थोक भन्नाले मानव बस्ती रहेको स्थानलाइ जनाउँछ । मानहुँ भित्र पर्ने मानहुँकोटमा ६०÷७० मगरहरुको घर ,देउरालीमा ५०÷६० घर मगर, २०÷२५ घर दलित, छापथोकमा १५० घर मगर, ३०÷३५ घर ब्राह्मण , १५ घर दलित , चारघरेमा ३५ घर मगर , ११÷१२ ब्राह्मण ६÷७ घर दलित ९ घरेमा २०÷२५ घर मगर २०÷२१ घर ब्राह्मण , ३÷४ घर दलित टाक्राङमा ६०÷७० घर मगर, २०÷२५ घर ब्राह्मणहरुको रहेको पाइन्छ । मानहुँ मगरहरुको अत्यधिक बसोवास भएको स्थल हो । मगर पछि यहाँ ब्राह्मण, नेवार र दलितहरुको बसोबास रहेको छ । मगर भाषमा पानीलाइ डि भनिन्न्छ । मगरहरुकौ सघन बसोबास भएको स्थान हुनाले पनि यस वरपरका जलप्रवाहको नामान्तमा ती र दि अक्षरहरु देखा पर्दछन् । जस्तै मानुङको खानेपानी पंधेरा धारादी , मानुङ उत्तर तर्फ बहने गुणादी , मानहुँको पूर्वमा बहने मादी र दक्षिणमा बहने सेती नदी र आसपासका खोलाहरु बुल्दी र छाव्दी प्रख्यात रहेका छन् । पानीको पहुल नभएकोले मानहुँमा पानीको साहै ्रदुःख थियो । बिहान भर लगाएर यहाँका मानिसहरुले एक खेप पानी खान पिउन लैजाने गर्दथे । यसैले मानहुँ डाडामा पानीको अभावलाई कमी गर्न ठूलाठूला पोखरीहरु खनिएका थिए ।देउराली र छापथोक बीचको पोखरीलाई मैदान पोखरी र टाक्राङ र नौघरे बीचमा ठूली पोखरी बनाइएको थियो । पोखरीका पानीले गाइबस्तुलाई पानी खुवाउन र लुगा धुने काममा प्रयोग गर्ने गरिन्थ्यो ।
मगर संस्कृतिको धरोहर
मानुङका मगरहरु आफ्ना परम्परागत संस्कृति प्रति असाद्धै लगावशील छन । त्यसैलै यो स्थान मगर संस्कृतिको उर्बर स्थान पनि हो । कौरा यहाँको सबै भन्दा प्रीय नाचगान हो ।यसैगरी मगरहरुको घाटु ,सोरठी र मारुनी पनि प्रीय नाचहरुमा पर्दछन् ।
नेपाल बामपन्थी आन्दोलनका हस्ती एकदेव आलेको जन्मथलो
एकदेव आलेको जन्म तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ५ मानहुँमा भएको थियो । विक्रम सम्वत १९८० सालमा मानहुँको अर्चलथोकमा जन्मनु भएका आले पेटको क्यान्सर हुँदा दरभँङ्गाको लहरियाशरण मेडिकल कलेजमा उपाचारको लागि भर्ति हुनु भएको थियो । वि.सं.२०२६ साल माघ १२ गतेका दिन उपचारकै क्रममा अस्पतालमै उहाँंको मृत्य भएको थियो ।
१४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भएका आले आजाद हिन्द फौजमा काम गर्नु भएको थियो । सन १९४७ मा भारत स्वतन्त्र भए पछि उहाँ आफ्नो जन्मस्थल फर्केर आउनु भएको थियो । आजादीको महत्व बुझेका आले जी छिट्टै नै पुष्पलालको विचारमा सहमत भएर जनआन्दोलनमा लाग्नु भयो । नेपालको बामपन्थी आन्दोलनमा रहेर क्रियाशील आलेज्यूले निष्ठा र सक्रियताका साथ कामकाज गर्नु भएको थियो । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सँगको सहयात्राले उहाँलाई आजीवन बामपन्थी आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी दिइ रह्यो । उहाँ नेपाल कम्युनिष्ट आन्दोलनका इमान्दार र जुझारु नेता हुनुहुन्थ्यो । २००७ सालको शशस्त्र जन आन्दोलन सफल बनाउन आफनै नेतृत्वमा मुक्ति सेना गठन गर्नु भएको थियो । वि.सं. २००७ सालमा विरगञ्ज र बन्दिपुरमा भएको राजनैत्तिक आन्दोलनमा उहाँको प्रत्यक्ष सहभागिताका साथै नेतृत्व पनि रहेको थियो । वि.सं. २००९ सालमा अखिल नेपाल किसान संघमा समाहित बामपन्थी नेता एकदेव आले, कालुराम राना र तिलक बहादुर नेपालीहरुले गण्डकी अञ्चलमा सञ्चालन गरिएका किसान आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याएका थिए । वि.सं. २०१९ सालमा बैसाख ४ गते देखि १०गते सम्म वनारसमा भएको तेश्रो महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय समितिमा निर्वाचित हुनु भएको थियो । यस्को लगतै उहाँले पश्चिम नेपालको इन्चार्जको जिम्मेवारी पनि बहन गर्नु भएको थियो ।
खनालहरुको बसोबास भएको स्थल मानहुँ
यहाँका खनालहरुको घृतकौशिक गोत्र र विश्वामित्र, अघमर्षण र घृतकौशिक त्रिप्रवर हुन । कुनै एक समयमा कौशिक सिंह राजाका सन्तान नहुँदा घिउका धारा लगाई यज्ञ गरेर छोरा जन्मेका थिए । कालान्तरमा यिनै कौशिक भट्टलाई घृृतकौशिक भन्न थालियो । कोही कोही विश्वामित्र र घृतकौशिक दुइ गोत्र मात्र मान्ने प्रचलन पनि देखिन्छ । कौशिक विश्वामित्रका नाती हुन । विश्वामित्र क्षत्रीय वंशका सपुत हुन । तत्कालीन पूर्वको समयमा जन्मले भन्दा कर्मले ब्राह्मण क्षत्री, वैश्य र शुद्रमा वर्गिकृत गर्ने प्रचलन थियो । त्यही कारण राजर्षि वश्वामित्र तपोवलका कर्मले ब्राह्मण बनेका थिए । यसैले खनालहरु क्षत्री कुलबाट ब्राह्मण थरमा पदोन्नती भएका ब्राह्मणहरु हुन भन्ने गरिन्छ ।
एकातिर वैदिक आर्यका हिमायती खनालहरुले आर्यहरुको कर्मकाण्ड पद्धतिलाई प्रधानता दिंदै सनातन हिन्दु धर्मका कर्मकाण्डका पुस्तकहरु पनि रचना गरेको पाउँदछौं । खनालहरु गोठधूप र मष्ट उपासक भएकाले वास्तवमा उनीहरु अवैदिक मष्टो धर्मका अनुयायी हुन भन्न करै लाग्दछ । खनालहरुको कुलायन थान म्याग्दे १ बडचौरमा देख्न सकिन्छ । खनालहरु कुलदेवताको मन्दिर भन्दा थान र विशेष गरेर अमला, जामुना, पिपल वा गलैंचीको रुखको फेदमा बराहमष्टो ( बाह्रभाई मष्टो ? ) को पूजा आजतक गर्दैछन् । आर्य सस्कृतिका प्रभावका करण आजकल खनालहरुले कुलायन मन्दिर बनाएको पाउँदछौं । मष्टोको पूजास्थलको पूर्व र आग्नेय कोणको माझमा वनदेवी, वंशगोपाल र भयेंरलाइ बलि दिएर पूजा गर्ने प्रचलन रहेको छ । हर्ष वढाई ( जेठो छोरा जन्मेको पुत्र वढाईं र शुभ माँगलिक बिबाह ) गर्दा खनालहरुको कुलायन पूजामा थूमाको मेडो चढाउने गर्दथे । तर आजकल गाउँघरमा भेंडा नपाइने भए पछि भेंडाको सट्टामा, दुवै सिङ भएको र दुइफले भएको , लुटी कान नभएको , धुरी कटाइए नभएको, निख्खर एउटै रङ्गको बोका बलि दिने परम्परा चल्दै आएको छ । बिस्तारै बिस्तारै जीब बलिको सट्टामा नरिवल बलि दिने प्रथाले प्राथमिकता पाउँदै गएको पाउँदछौ ।
हरेक मानिसहरुको निम्ती आफ्नो वंशको धेरै नै प्रभाव रहेको हुन्छ । किनकी यस्ले धेरै वर्षको इतिहास बोकेको हुन्छ । मानहुँमा कहिले देखि खनालहरुको बसोबास हुन आयो यस बारेमा किटान साथ भन्न भने गाह्रो छ । खनालहरुको कुलथलो र मूलथलो कुन हो सम्भव भए सम्म अवस्य जानकारी हुन जरुरी छ । यसै सम्वन्धमा यहाँ एउटा सानो कहानी खनालहरुको वंशावलीमा भेट्टाउँदछौं । विक्रम सम्वत १४०१ मा नेपालको पश्चिम गढवाल क्षेत्रका राज्यहरुमा लडाई भइरहेको थियो । उक्त लडाइँबाट राजा र त्यस क्षेत्रका भागेर आएका एघार परिवारले पश्चिम नेपालको अर्घामा बस्ती बसाएका थिए । त्यही समयमा शिवराज शाहको नेतृत्वमा आएको समुहले स्थानिय भुरे राजालाई परास्त गरी अर्घामा राज्य स्थापना गरेका थिए । राजा शिवराज शाह संगै गढवालबाट भागेर आएका चामुपाध्याको परिवारलाई भागा बाजे र भागा बज्यै भन्ने गरिन्थ्यो । यत्रो वैभव र विरासत भएको खनालबन्धुहरुको वंशपुरुष वि.सं.१४०९ चामुपाध्या र उनका श्रीमती अर्घाली राजाको सेवा गर्दा गर्दै अर्घादरवार बसेका रहेछन् । त्यहीं बस्दा बस्दै उनीहरुको तीनभाइ छोरा भएछन् । वि.सं. १४४२ मा चामुपाध्याको स्वर्गारोहण भयो । भागा बाजेको स्वर्गारोहण पश्चात भागा बज्यैले राजा सँंग गरी खाने पाटोको माग गरेकी थिइन । राजाले विर्ताको रुपमा दिएको जग्गा खनेर चिन्ह लगाएर बसेका हुनाले त्यस ठाउँको नाउँ खन भन्न थालियो । नेपालको अर्घाखाँचीमा अहिले पनि खन भन्ने ठाउँ छ । यही खन भन्ने गाउँमा बसेका हुनाले यिनीहरुलाई खनाली भन्न थालियो । खनालीबाटै क्रमस खनाल थर रहन गएको हो भनिन्छ । खन गाउँका वासिन्दा भएकाले यिनीहरुलाई खनाल पनि भन्ने गरिएको हो । खन भन्ने ठाउँमा बसेका हुनाले खनपाल भनियो कालान्तरमा खनपालको मध्यको अक्षर प अक्षर लोप भइ खनाल भएको हुनु पर्दछ । यसै गरी खनालय ( खन गाउँको घर) बाट खनाल, खनवालबाट खनाल, खानी गाउँका वासिन्दा खनाल र खनोइबाट ( खसजाति) खनाल भएको तर्कहरु पाइन्छन् । नेपालको सन्दर्भमा खनालहरुको मूलथलो खना गाउँ भएता पनि तनहुँङ्गे खनालहरुको मूलथलो भने मानहुँ नै हो । मानहुँमा खनालहरु कहाँबाट कसरी आइ पुगे यस्को सोधखोज हुनु जरुरी छ । हरिबल्लभ खनाल र उनका दाजुभाई खनाल बन्धुहरु स्याङ्जाका गह्रौंकोटे राजाका राजपुरोहित भएर बसेका थिए रे । सोही बेलामा खनालहरु पाल्पा, स्याङजा र कास्की पूर्व हुँदो पाँजिएका थिए । कास्की दरवार पुगेका खनालहरु राजपुरोहित भएर बसेका तथ्यहरु भेटिन्छन् । कास्कीका राजा जगतिखानका जेठा छोरा जलाल शाहको मृत्य भए पछि अर्घौमा प्रशासक भइ बसेका चैतु शाहले राँडी भाउजु स्वरुपावतीलाई सिहारी कास्कीको गादी हात पार्ने बिचार गरेको थाहा पाई काजी झागल अधिकारीले स्वरुपावतीलाई कहिं कतै लुकाइ संरक्षण गरेका हुनाले चैतु शाहको कास्कीको राजा हुने सपना पुरा हुन पाएन । आफ्नो योजना विफल हुन पुगेकाले आफु विरुद्ध षडयन्त्र गरेको ठह¥याई अर्घौंका प्रशासक राजकुमार चैतु शाहले काजी झागल अधिकारीलाई अर्घौ झिकाई मृत्युदण्ड दिएका थिए । स्वरुपावतीले आफ्ना राजकुमार कास्कीको उत्तराधिकारी घोषित भए पछि अर्घौका प्रशासक भएर रहेका देवर चैतुशाहलाई मृत्युदण्ड दिन पुगेकी थिइन । यही समयमा कास्कीका खनाल, वाग्ले र आचर्य र अधिकारीहरुलाई मानुङ तप्राङ, टाक्राङ, तेह्रथुम, सिमलचौर नुवागाउँ , चुयाबिसाउना , देउराली, मोज्र्याङकोट जस्ता ठाउँहरुमा विर्तावितलव गरी दिएकी थिइन । मानहुँ विर्ता वितलव पाएका खनाल ब्रह्मणहरु मानहुँमा आइ बसोबास गरेका हुन् भन्न ब्राह्मण। मानहुँका खनालहरु कार्तिक लागे पछि गुणादी , साँगेपत्यानी , चापाघाट र कन्टारमा बस्दथे भने जेठ लागे पछि मानहुँ कोट उकालो लाग्दथे । खनालहरुको बेसीलाई कनकटार भनिन्छ । संस्कृत शव्दकोषमा कनकम् भन्नाले सुन ⁄ सुवर्ण भन्ने जनाउँछ । व्याास ५ कनकटारमा सुन जस्तै पहेंल्यै घैया धान फल्नेटार भएकाले यसटारलाई कनकटार भन्ने गरियो । कालान्तरमा कनकटार शव्द अपभ्रंस हुन गई कन्टार हुन गएको कुरा व्यास ५ कन्टार निवासी श्रीभद्र खनालले हामी सँगकोसाक्षत्कारमा बताउनु भएको थियो । वि.सं. २०२५ सालमा कन्टार हुँदै पोखरा जाने पृथ्वीराजमार्ग र वि.सं. २०३० सालमा चारहजा वाँध बनेर साँगे फाँटमा सिंचाइ सुविधा हराभरा भए पछि साँगेपत्यानीको बसाई छोट्यार कन्टारको बसाई कायम गरेका हुन भन्न सकिन्छ ।
मानहुँमा खनालहरुको वंश बिस्तार हुँदै जाँदा तनहुँसुर सिम्पानी, लमजुङ, गोरखा, चितवन र काठमाण्डौमा पाजिन पुगेका हुन् । तनहुँका राजा हम्वीर सेनको समय (१६२८—१६८७) मा सत्यधर खनालका पुत्ररत्न रापोपाध्याले अग्निस्थापना विधि, ग्रहशान्ति , चुडोपनयन, विवाहपद्धती , अन्त्यपद्धति र श्राद्धपद्धति जस्ता पुस्तकहरुको रचना गर्नु भएको कुरा प्रयागराज पण्डितले “संस्कृत संस्कृति” भन्ने पुस्तकमा चर्चा गर्नु भएको छ । पाल्पाबाट बसाइसरी आएका सत्यधर खनालको वंशजहरुले मानहुँलाई आवाद गरेका हुन । रामोपाध्याका सन्तानहरुबाट मानहुँँकै टाक्राङ, खरिवारी, ,पोखरीथोक, छापथोक, अर्चलेवारी, चारघरे र नौघरेमा बस्ती बिस्तार गरेका हुन् । तिनैका सन्तान कलेस्ती र तनहुँसुरको सिम्पानीमा बसाइ सरेका हुन । तनहुँसुरको दरवारमा खनालहरु राजगुरु,राजपुरोहित देखि काजीपद सम्ममा आशिन भएका पाइन्छन् । शिवानन्द खनाल र सागर खनाल तनहुँसुरको सेनवंशीय दरवारमा काजीपदमा प्राप्त गरेका थिए । काजी शिवानन्द खनालको विद्रता गोरखा, लमजुङ, कास्की र तनहुँ राज्यको चारैतिर फिंजिएको थियो । गोरखाका राजकुमार पृथ्वीनारायण शाह र बृन्दकेशर शाहको बारेमा जन्मजेठो कि गर्भजेठो विषयक मुद्यामा शिवानन्द खनालले भूपति शव्दको व्युत्पती र व्याख्या गरेर जन्मजेष्ठताको वकालत गरेर गोरखाको मुद्धा छिनोफानो गरेका थिए । सिम्पानी पुगेका खनालहरुमा श्रीभद्र खनाल र रविन्द्रखनाल मन्त्री पदमा र उमभद्रखनाल रा.प.स. पदमा पुग्नु भएको थियो । यसैगरी प्रशासन र कुटनीतिमा दखल राख्ने सरदार यदुनाथ खनाल र चलचित्र क्षेत्रका नायक किशोर खनाल, खनाल वंशका उज्ज्वल ताराहरु हुन् ।
खनालहरु दुइ थरिका हुन्छन् । एकथरी समथर मैदानी भूभाग खेतीयोग्य भूमि “गरामा” खेती किसान गरी बस्ने खनाललाई “गरा” खनाल र अर्काथरी जङ्गल बुट्यान फाँडफूँड गरी खोरियामा खेती किसान गर्ने खनाललाई “खोरिया” खनाल भन्ने गर्दछन् । खनालहरुमा बैसाख पूर्णिमा र मंसिर पूर्णिमाको समयमा मष्टो देवतालाई कुलदेवता मानी पूजा तथा देवाली गर्ने परम्परा रहेको छ । मानहुँ आउने खनालक वंशका मूलपुरुष चामुपाध्य वि..सं. १४०९ तिर मानहुँ आइ पुगेका हुन । वि.सं.१४०९ देखि २०७७ साल सम्म खनालहरुले मानहुँ बसोबास गरेको ६६८ वर्ष बितिसकेको छ । प्रायशः एक पुस्ताको अवधी २० वर्ष देखि २५ वर्ष सम्मलाई लिने गरिन्छ । तत्कालीन समाजमा बाल बिबाह प्रधान भएकाले छिटो छिटो जन्म भएन भन्न सकिन्न । यसरी वंश वृद्धि औसतमा छिटो छिटो पनि हुन सक्दछ । खनालहरुका मूल पुरुष चामुपाध्याको समय देखि एक पुस्तालाई २५ वर्षको अवधी दिइयो भने खनाल वंश न्यूनतमा २६ पुस्ता र २० वर्षको अवधी दिइयो भने अधिकतम ३१ पुस्ता पुग्न सक्ने देखिन्छ । । यही हिसावले हेर्ने हो भने मानहुँमा आउने मूलपुरुष रामोपाध्याको हिसावले तनहुँको मानहुँमा खनालहरुको बसोबास करिव करिव १४ पुस्ता पुगेको हुन सक्दछ । नेपालको खनाल वंशावलीका आदिपुरुष गुणरत्नाकर पण्डित मानिन्छन् । गोरखा राज्य स्थापनामा सहयोग गर्ने सर्वेश्वर खनाल र नेपालको प्रशासनिक तथा कुटनीतिमा दखल राख्ने यदुनाथ खनाल देशकै गहनाहरु हुन ।
सरदार यदुनाथ खनालको जन्मथलो
बाइसे चौविसे कालदेखि नै मानहुँ विद्वानहरुले बसोबास गरेको क्षेत्र हो । त्यसमा पनि खनालहरुको प्रसिद्धि रहेको छ । यहींका खनालहरु तनहुँसुरकोे राजदरवारमा गुरु पुरोहित देखि काजी पदमा समेत रहेका थिए । तनहुँको मानहुँ मानहुँले प्रसस्त विद्वानहरुलाई जन्म दिएको छ । तिनै नामहरुको अग्रपंक्तिमा पर्ने नाम सरदार यदुनाथ खनाल हो । सरदार यदुनाथ खनालको जन्मथ तनहुँ जिल्लाको व्यास न.पा.वडा नं. ५मा मानहुँ भएको हो । उहाँ पिता नरनाथ खनाल र माता तारादेवी खनालको सुपुत्र हुनहुन्छ । उहाँ वि.सं.१९७० को साउन २९ गते मानहुँमा जन्मनु भएको थियो भने २०६१ असोज १६ गते विहान परमधाम हुनु भएको थियो । वि.सं. १९९२ सालको एस एल. सि वोर्डमा वोर्डफस्ट भएका खनालजी शिक्षा, कुटनीति, प्रशासन र साहित्य क्षेत्रमा चिरपरिचित नाम हो । वि.सं.१९९९ देखि २०१२ साल सम्म त्रिचन्द्र कलेजमा प्राध्यापन , वि.सं. २०१२ सालमा प्रधानमन्त्री टङ्क प्रसाद आचर्य को स्वकीय मुख्यसचिव र गृहसचिव हुनु भएको थियो । वि.सं २०१७ सालमज्ञा संयुुक्त राष्ट्र महासंघ प्रतिनिधित्व गर्ने खनालजी २०१७ साल देखि २०१९साल सम्म परराष्ट्र सचिव, वि.सं.२०१९ देखि २०२४ सम्म भारतको लागि राजदुत , वि.सं. २०२४ देखि २०२७ सम्म परराष्ट्र सचिव, वि.सं.२०३० देखि २०३२ सम्म संयुक्त राज्य अमेरिकाको लागि राजदुत, २०३२ देखि २०३४ सम्म लोकसेवा आयोगको अध्यक्ष, वि.सं.२०३५देखि २०३९सम्म चीनका लागि राजदुत, वि.सं.२०४८साल देखि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको समयमा परराष्ट्र सल्लाहाकार बनेर देशको सेवा गर्नु भएको थियो । त्रिभूवन विश्व विद्यालय स्नातकोत्तर विद्यामहावारिधि प्राप्त गर्ने खनालजीले अमेरिकाबाट अनरेरी डाक्टर अफ ल सम्मान , नेपाल सरकारबाट सर्दार, गोरखा दक्षिण बाहु प्रथम, त्रिशक्तिपट्ट, नेपाल श्रीपद द्वितीय पदकहरु, आदिकवि भानुभक्त पुरस्कार, वेदनिधि पुरस्कार लगायतका विभिन्न विधामा पद र पुरस्कार पनि पाउनु भएको छ ।
आदिकवि भानुभक्तको ससुराली गाउँ
नेपाली साहित्यका मूर्धन्य व्यक्ति भानुभक्त आचर्यको ससुराली पनि यहाँ मानहुँ गाउँ थियो । भानुभक्त आचर्यले मानहुँको खनाल थरकी चेली सँंग बिबाह गरेका थिए । ससुरालीमा आएका भानुभक्त आचर्यलाई यहाँको भूपरीवेसले ज्यादै मन्त्रमुग्ध भए । बसाईको दृष्टिले राजा मानिने मानहुँकोटका विषयमा कविवर भानुभक्तले मन्त्र मुग्धले गुणगान गाएका थिए । अन्त्यमा ज्यादै मनमोहक मानहुँको विषयमा थप जानकारीहरु समेट्ने विश्वासका साथ अहिलेलाई बिट मार्न चाहन्छु ।