परिचय
थप्रेककोट ब्राह्मण, ठकुरी, मगर र गुरुङहरुको बहुल्यता रहेको बस्ती थियो । यो स्थान गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्दछ । वि.सं.२०७३ सम्म गाउँपालिका रहेको थप्रेक हाल शुक्लागण्डकी नगरपालिका न.पा.१ मा पर्न गएको छ । थप्रेकको उत्तरमा देउराली दक्षिणमा शुक्लागण्डकी नगरपालिका र पूर्वमा साविकको श्याम्घा गाउँपालिका अर्थात हाल व्यास न.पा. वडा नं. ६ र पश्चिममा पोखरा महानगरपालिका पर्दछन् । बाइसे चौविसे राज्य गठन हुनु भन्दा पहिला पहिला थुम थप्र्ेकवासीहरुले त्यहाँका थुमथुमे राजाको आदेशको पालना गर्दथे । थप्रेकी राजा गलेखामकोटका राजा सँग पराजित भए पछि थुम थप्रेक गलेखामकोटका अधीनमा गएको थियो । तनहुँका राजा दिग्विजय सेनले गलेखामकोटलाई आफ्नो अधीनमा ल्याए पछि थुम थप्रेकीहरुले थप्रेककोटमा गर्दै आएको पूजाआजालाई निरन्तरता दिंदै गए । थप्रेकका प्हचु महामुखियाले अहिले पनि थप्रेकी गुरुङ्गे प्हचु राजाको विंडो थाम्दै आएका छन् ।
बि.सं. २०१८ सालमा नेपालमा पञ्चायत व्यवस्थाको सुत्रपात भए पछि साँजा र थप्रेककोट मौजाहरु मिलाएर सर्वप्रथम गलाफुभञ्ज्याङ गाउँपञ्चायत नामले शोभायमान हुन पुगेका थियो । दुइ वर्ष नपुग्दै गलाफुभञ्ज्याङ गाउँपञ्चायत विभाजन हुन पगी थपे्रक गाउँ पञ्चायत, साँजा गाउँपञ्चायत, श्याम्घा गाउँ पञ्चायत आदि आदि नामले सम्वोधित हुन पुगेका हुन । हाल थप्रेककोटमा पर्ने तलपोखरी लगायत तल्लो बेल्टका गाउँ तथा बेसीहरु स्थानथोक गाउँमा पर्दथे भने काभ्रे, थप्रेकथुम, भ्यागुते, चितिश्वाँरा काफलस्वाँरा, टुसालगाउँ गलाफु , माथिल्लो साँजा, तल्लो साँजा, शिःसाघाट र शेषटार थप्रेक थुम भित्र पर्दथे । वि.सं.२०३२ सालमा आएर थप्रेक र श्याम्घा छुट्छुट्टै गाउँपञ्चायत गठन हुन पुगे पछि गलाफुको साइनो श्याम्घालीहरु संग टुटेर थप्रेकीहरु सँग साइनो जोडिन पुगेको कुरा तत्कालीन श्याम्घा गाउँपञ्चायतका पूर्वप्रधानपञ्च देवनिधी पन्तले बताउनु भयो । वि.सं.२०७३ फागुन २२ गतेको नेपाल सरकारको निर्णय अनुसार फागुन थप्रेक गाउँपालिका २०७३ फागुन ३० गतेबाट श्याम्घा गाउँपालिका व्यास नगरपालिकाका वडा नं ६ र थप्रेक गाउँपालिका शुक्लागण्डकी नगरपालिकाको १ नम्वर वडा बन्न पुगेका छन् । वि.सं. २०६८को जनगणना अनुसार यहाँ ३८४४ जन संख्या रहेको थियो । हाल यस गाउँ गाउँपालिकामा दुईवटा माध्यामिक विद्यालय रहेका छन् ।
गलेखामकोट कालभैरव र थप्रेकदेवीको मन्दिर
थप्रेकगाउँको पूर्व तर्फको थाप्लोमा थप्रेकदेवीको जीर्णमन्दिर रहेकोछ । थप्रेक कोटको मौलाडाँडामा परम्परा देखि आस्थाकी देवी थप्रेकदेवीको मन्दिरमा हरेक बडा दशैं र चैतेदशैंमा धुमधामका साथ पूजाआजा हुँदै आएको छ । कता कता हाल कास्की जिल्लामा पर्ने पोल्याङ, सेरा लगायत क्षेत्रमा थप्रेककोट कालभैरव मन्दिरको गुठी जग्गा थियो भन्ने कुरा थप्रेकथुमका महामुखिया श्री रोल बहादुर गुरुङले हामी सँगको साक्षतकारमा बताउनु भएको थियो । वि.सं. २०३० साल सम्म कास्की सेराका रैतिहरुले मानाचामाल ठेकी दावी गर्छन कि भनेर त्यताका रैतानहरु अलि थर्कमान हुन्थे रे । वि.सं. २०३२ साल सम्म गुठी जग्गाहरु पनि रैकरमा दर्ता हुन पुगे पछि थुमथप्रेकीहरुबाट महामुखियाको घरमा सगुन लैजाने काम बिस्तारै हटदै गएको हो ।
यहाँका महामुखियाले नेपाल सरकारको राज्य प्रतिनिधिको रुपमा कामकाज गर्दथे । हदमुनीका पास भएका जग्गाको दाखेल खारेज र जग्गाको बाहाली पूर्जि गरि दिन्थे । जग्गाको बहाली पूर्जि गरी दिंदा रैतानहरुले राजी खुसीले रु ५ दस्तुरी टक्र्याउने गर्दथे । वि.सं. २०३०⁄३२ सम्म यो प्रथाले निरन्तरता पाउँदै आएको थियो । थप्रेककोटका कालभैरव र थप्रेकदेवीको गुठी जग्गा कास्कीको सेरामा भेटिनुले त्यो क्षेत्र कुनै जमानामा थप्रेककोट गलेखामकोट हुँदै तनहुँको अधिनस्थ भूमि थियो कि भन्ने सका गर्ने ठाउँ मिलेको छ । यहींका महामुखियाहरुले थुमथप्रेकको तिरोभरो उठाएर मालकार्यालय तनहुँको अड्डा बन्दिपुरमा रकम जम्मा गर्ने गर्दथे । रैतीहरु पनि महामुखियाको आदेशलाई शिरोपर गर्दथे । प्रत्येक घरधुरीका रैतानहरुले महामुखियाको घरको बाली लगाउन र थन्क्याउन प्रत्येक वर्षमा कमसेकम तीन पटक सघाउ दिन पुग्दथे । महामुखियाकै आदेशलाई शिरोपर गरी थप्रेककोटमा मनाइने वडादशैं र चैते दशैंमा थुमथप्रेक प्रत्येक घरधुरी पिच्छे कम्तीमा १ माना चामल, एक ठेकी दहि, एक हाता केरा, आफ्ना बारीमा फलेका सुन्तला लगायतका फलफूल र भेटी अनिवार्य लैजाने गर्दथे । हाल कास्की भए पनि तत्कालीन थुम थप्रेक भित्रका पोल्याङ र शेराका मोहीहरुबाट माटाको घैंटो चिलिम, कपन, हाँडी र अनिवार्य नेग जम्मा गर्ने परम्परा थियो । महामुखियाले तोकि दिए अनुसार हरेक मौजाका मुखियाहरुलाई कुन⁄कुन प्रकारको बलि ल्याउनु पर्ने हो सो को पालो पनि मौजा मौजाका मुखियाहरुलाई तोकि दिने गर्दथे । थप्रेक गाउँ गुरुङहरुको घना बस्ती भएकोले थुम थप्रेकीहरुले सधैं राँगो ल्याउने, शिःसाघाटका दरैहरुले माछाको पेरुङ्गा लैजाने कुमालहरुले माटोको घैंटो , र काभ्रे, चितिश्वाँरा, काफलस्वाँरा, गलाफु साँजा गाउँ तथा साँजाटारका बासिन्दाहरुले आ–आफ्ना मौजाको मुखियाहरुको नेतृत्वमा एक एक वटा बोका बलि लैजाने गर्दथे । थुमथप्रेक निवासीहरुले थप्रेककोटमा कालरात्री गरे पछि मात्र गाउँलेहरुले आ–आफ्ना घरमा महाकालीलाई बलि प्रदान गरी दुर्गा भवानीको प्रसाद ग्रहण गर्दथे ।
पुजारीको छनौट
थप्रेककोटको कालभैरवको पूजाआजा गर्नलाई थुमथप्रेका महामुखियाले नै गुरुङ खलकका १३ वर्ष भन्दा मुनीका अविवाहित ( महिला संँग लसपस नभएका ) किशोरहरुलाई पुजारीको रुपमा छनौट गर्दथे । छनौट गरिएका किशोरहरुको नङकेश नुवाई धुवाई गरी पवित्र बनाउने गरिन्थ्यो । तिनै किशोरहरु हरेक दिन बिहान नुवाधुवाई गरी एक छाक खाएर हविष्य बसी कालभैरवको पूजाआजा गर्दथे । अल्पज्ञान भएका र पूजाविधि थाहा नभएका कारण पूजा बिधिमा त्रुटि हुने डरले पुजारी किशोरहरुलाई सहयोग सल्लाह र पूजाविधि सिकाउन गाउँका वूढापाकाहरु पनि सँगसँंगै रहने गर्दथे । कोटमा पूजा सुरु हुने भए पछि छनौट गरिएका पूजारी केटाहरु मन्दिर प्राङ्गण भित्रै रहने बस्ने गर्दथे । उनीहरुको सुरक्षार्थ र सहयोगार्थ जोसिला युवाहरु पनि सँगै रहने गर्दथे । थुमथप्रेक पछिको काभ्रे मौजा अरु मौजाहरु भन्दा ठूलो मौजा थियो । नवरात्र सुरु भए सँगै दैनिक पूजाआजा र फूलपाती लैजाने कामको मलो मेसो मिलाइने गरिन्थ्यो । थुम थप्रेकमा प्हचु थरका गुरुङ राजा भएकाले प्हचु थरका महामुखियाको घरमा जम्मा भई फूलपाती लिन सबैलाई काभ्रे मौजामा लैजाने गर्दथे । थुमथुमे राजाको पाल देखि नै काभ्रेमा पुगेर त्यहाँ रहेको बेलगाछीमा पूजाआजा गरेर सर्वप्रथम बेलपत्र टिप्ने गर्दथे । बेलपत्र र फूलपाती टिपी सके पछि थुमथप्रेक कोटभित्रको काभे्र मौजामा बसोबास गर्ने पौडेल थरका पूजारीको बारीमा रोपिएका उखु र फलफूलहरु टिपेर डोलीमा राखिन्थ्यो रे । त्यही फूलपातीको डोली फूलपाती सवारी यात्राको शोभा बन्ने गर्दथ्यो । कलश बोकेका कल्स्यौली, उखुका लाँक्रा, र ध्वजापतका लिएका महामुखिया, मुखिया र थुमथप्रेक निवासी हरेक घरका कमसेकम एक ⁄ एक जना मर्दना तथा जननाहरु फूलपाती शोभायात्रामा सहभागी हुने गर्दथे । फूलपाती थपे्रक कोटमा पु¥याएर फूलपाती भित्र्याउने गरिन्थ्यो । थप्रेक कोटमा फूलपाती भित्र्याए पछि मात्र भैरवलाई कालो बोका बलि दिइ सबैमा प्रसाद बाँड्ने गरिन्थ्यो । भैरव मन्दिरको आडैमा रहेको थुमथप्रेक देवीको मन्दिरमा देवीको शिला रहेको छ । काभ्रेका पौडेल खलकका ब्राह्मणहरुबाट त्यही शिलामा आज सम्म पूजाआजा हुँदै आएको छ । कालभैरवको मन्दिरभित्र तरवार खुँडा, खुकुरी र सस्त्रअस्त्र देख्न पाइन्छ । गलेखामकोटमा कामीहरुले मन्दिरका खुँडा तरवार अर्जप्ने ,पाइन चढाउने, दमैहरुले नगरा तथा बाजा बजाउने र राँगा, च्वाँचे तथा कुखुराहरुको बलि दिने गरेको भएता पनि थुमथप्रेककोटमा बाजा बजाउने तथा हात हतियार अर्जप्ने परम्परा तोडिएकोले अहिले बाजा बजाउने चलन नभएको कुरा हेड बहादुर गुरुङले बताए । यिनै भैरवले गाउँलेहरुको रक्षा गरेको कुरा रतनपुर निवासी समाजसेवी ममिता गुरुङ र थप्रेक गाउँ निवासी हेड बहादुर गुरुङले हाम्रो साक्षत्कारमा बताएका थिए ।
एक पटक थुम थप्रेक र काभ्रेका भक्तजनहरुमा थप्रेक देवी र कालभैरवको प्रसादको बाँडफाँडमा बिबाद भयो । यसै गरी ओखल्दी र उपल्लो सँजा जिवासी बीच ओखल्दीको पूर्वमा रहेको बदिनी खोलाको जङ्गका घाँस दाउरा उपयोग गर्ने बारेमा सामन्य बिवाद हुने गर्दथ्यो । साँजा निवासी क्या. देव बहादुर गुरुङ र ओखल्दी निवासी नर बहादुर गुरुङहरुले यस समस्यालाई मिलाउन ठूलै कसरत गर्नु पर्दथ्यो । अनाबस्यक बिबादले कहिलेकाहीं आपसमा मनमोटाव सृजना गरी दिन्थ्यो । अन्ततः त्यही बेला देखि परम्परागत रुपमा चल्दै आएको कालभैरव र थप्रेकीदेवीको पूजा—आरधना प्रथा धन्यै धन्यै सून्यात्तरमा पुग्न गएकोकुरा थप्रेकका वडा अध्यक्ष रविचन्द्र पौडेलले बताउनु भयो । परम्परादेखि चल्दै आएको आफ्नो संस्कृति लोप हुन लागेकोमा महामुखिया रोल बहादुर गुरुङ चिन्तित देखिनु भएको थियो । तथापि स्थानीय निकाय साविक थप्रेक गाउँपालिका तथा हालको शुक्लागण्डकी नगरपालिका वडानं १ को कार्यलयले परम्परागत संस्कृति बिंडो थामी दिएकोमा वडाकार्यालयका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई रोलक बहादुर गुरुङले धन्यवाद दिनु भएको थियो । साविक थप्रेक गाउँपालिका वडा नं. ९ ओखल्दीमा पनि यहाँको लालीगुराँस आमा समुहको सक्रियतामा वि.सं.२०४५ सालमा ओखल्दीमा नै कोटभैरवको अर्को मन्दिर निर्माण गरेको पाउँदछौ । गलेखामकोटका तत्कालीन मगरराजा चक्रधर रानाका सैनिकहरुले निर्माण गरेको गलेखामकोट सैनिकगढीमा स्थापना गरेको कोटभैरवी मन्दिरमा श्याम्घाको नाउँ उल्लेख गर्दा मनमा चिसो पसी ओखल्दीका गुरुङहरुले कोटभैरवको मन्दिर निर्माण गर्न पुगेको भित्री रहस्यको पर्दाफास हुन आउँदछ । गुरुङहरु आफुलाई तमु भन्न रुचाउँछन । वास्तवमा तमु र तमाङ दुवै एकै नश्लका दुइ थर मानिन्छन् । यसैले दुवै जातिको मर्दापर्दाको संस्कृति र रहन सहन प्राय मिलेको पाइन्छ ।
हिन्दुहरुको आस्थाकी देवी मन्दिरमा इस्लामधर्म मान्नेहरुको सहभागिता
थप्रेकको टुसाल गाउँमा रहने इस्लाम धर्म अनुयायी मियाँहरुले हरेक वडादशैं र चैतेदशैंमा मियाँसमाजको तर्फ एउटा पाठी थप्रेक देवीलाई बलि दिने गर्दछन् । उक्त प्रथा अद्यापि जीवित नै रहेको छ । मुस्लिम धर्मालम्वी मियाँहरुले हलाहल नगरेको बलि प्रसाद नलिने भएकाले मन्दिर प्राङ्गणमा उनीहरुलाई कुखुरालाई हलाहल गर्न दिने परम्परा रहेको छ । यसरी यहाँका हिन्दु , बौद्ध , वोन र मुस्लिम धर्मलम्वी सबैले एकसाथ कालभैरव तथा थप्रेकदेवीको पूजाआजा गर्ने परम्परा विभिन्न धर्मालम्वीहरुको विशिष्ट पहिचान मान्नु पर्दछ ।
पर्यटनको खानी थप्रेककोट
शुक्लागण्डकी नगरपालिकाको वडा नं. १ को अभिन्न अङ्गको रुपमा बन्न पुगेको थप्रेककोटका हरेक घरमा अहिले माहुरीका घारहरु भेटिन्छन् । अर्को तर्फ थप्रेक गाउँ सुन्तला र मौसम उत्पादनका लागि नामुद स्थान मानिन्छ । थप्रेक गाँजा उत्पादन हुने क्षेत्र हो । समसितोष्ण हावापानी रहेको यस गाँजा खेती गरेर आर्युवेदिक औषधी उत्पादन गर्न सकिने प्रसस्त पूर्वाधार भेटिन्छ । तथापि सरकारले गाँजा उत्पादनमा लगाएको प्रतिबन्धले औष्धी बन्ने र बनाउने मार्गमा अवरोध पु¥याएको छ । पोखराको बजारमा थप्रेकका सुन्तला भने पछि मंहङ्गोमा खरिद विक्री हुने गर्दछ । थप्रेककोटबाट कास्कीको रुपाकोट, बेगनास ताल, फेवाताल रुपाताल लगायतका सातै तालहरु मादी तथा सेती नदीले बनाएका फाँट तथा टारहरुको दृष्याबलोकन गर्न सकिन्छ । धौलागिरी अन्नपूर्ण , माछापुच्छ्रे बौद्ध हिमालको हिमाली दृष्यका साथै थप्रेककोटबाट बेसी तर्फ देखिने कुहिरो रुपि सेता सागर ( धजष्तभ कभभ) , सूर्योदय र सूर्यास्त जस्ता दृष्यहरुले पर्यटकहरु अझै लोभिने गर्दछन् । थपे्रक गाउँमा भ्यूटावर र पर्यटन मैत्री पाहुनघर ( घरवास — होमस्टे ) र शौचालयहरु बनाइएका छन् । नारिएर हिंडेका ङोलो ङोल्सीहरुले मनै चुकचुकाउने बनाएको थियो । यती रमणीय स्थानमा लालीगुरांँस फूल सिउरेका रिमैहरुको सँगको एकै छिनको बसाइ र गफगाफले थप्रेककोट बसी रहँु जस्तै बनाइरहेको थियो ।
थप्रेककोटको कालभैरवको मन्दिर सँंग संगै नेपाल सरकार नापी विभागले यहाँ ट्रिगोनोमेट्रिक कन्ट्रोल प्वाइन्ट राखेको छ । यसमा नेपाल सरकारले ठूलो लगानी गरेको बुझिन्छ । यसै बिन्दुबाट नेपालले आफ्नो भौगलिक क्षेत्रको नापि प्रारम्भ गरेको कुरा व्यास न.पा. ६ साँजा निवासी कृष्ण ढुङ्गानाको फेसबुक वालमा लेखिएको सम्बन्धित विषय बिज्ञको राय प्राप्त हुन आएको छ । यस कन्ट्रोल प्वाइन्टलाई महत्वपूर्ण मानेर जोगाइ राख्नु हामी सबैको साझा कर्तव्य हो । एक पटक दुलेगौंडाको जग्गा नाप जाँचमा सिमानाको बिबाद पर्न आउँदा नापी कार्याल्य तनहुँका अमिनहरु रातभर भसी कन्ट्रोल प्वाइन्टको सहायताले जगको खास सिमाना पत्ता लगाउन सहयो पुगेको कुरा वडा अध्यक्ष रबिचन्द्र पौडेलले बताउनु भयो ।
थप्रेककेटमा जोडिएको यस दृष्य विन्दुस्थल जग्गा जहाँ छ त्यो जमिनको उचाइको आधारमा यस स्थानलाई दक्षिण एसियाको सबै भन्दा खुलेको जग्गा हो भनेर तत्कालीन विदेशी सर्वेक्षकहरुले घोषणा गरेका पनि हुन् भनिन्छ । अर्को तर्फ यो नापिको शिला अभिलेखले नेपालको मध्य बिन्दुलाई पनि संकेत गर्दछ कि भन्न सकिने देखिन्छ । नेपालको चुच्चे नक्सालाई आधार मानियो भने थप्रेककोट र चुच्चे नक्सा नहुँदा शिःसाघाट हुलाकी चौतारा क्षेत्र नेपालकै मध्यबिन्दुमा (Nepal Center Point ) पर्न आउँछ भनिन्छ ।
अन्त्यमा पश्चिम तनहुँको कोत्रे तथा कास्कीको तल्लो गगन गौंडाबाट थप्रेककोट सम्म जाने बाटो तय गर्दा करिव १५ किलोमिटरको दुरीको यात्रा तय गर्नु पर्दछ । दमौली दुइपिपले , शिःसाघाट, साँजा, गलेखाम हुँदै थप्रेक अथवा दमौली साँगे बाह्रबिसे, मादीबेसी, शेषटार तल्लो साँजा, माल्लिो साँजा , गलाफु भञ्ज्याङ हुँदै थप्रेककोट पुग्न सकिन्छ । अर्को तर्फ दमौली कन्टार, साँगेफाँट, बाह्रबिसे बाट श्याम्घा क्रियापानी, गलेखामकोट,ओखल्दी हुँदै पनि थप्रेककोट पुग्न सकिन्छ । यसै गरी शुक्लागण्डकी नगरपालिकाको खेरैनीटार दुलेगैंडाबाट स्थानथोक, भूजिकोट , दगामकोट हुँदै थप्रेककोट र कोत्रेबाट लालध्वजमार्ग, तल्लो पोखरी हुँदै १७ किलोमिटर पार गरेर थप्रेककोटको यात्रा तय गर्न सकिन्छ ।