काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएर ‘तटस्थ’ बसेको दावी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भूमिकाबारे डा. शेखर कोइराला नेतृत्वको समूहमा समिक्षा भएको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको शेखर सूमहका शीर्ष नेताहरुको बैठकले महाधिवेशनमा पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको छ ।
बैठकले निर्वाचन प्रक्रियामा सहभागि नहुने उद्घोष गरेपनि पौडेलले महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गरेको निष्कर्ष बैठकले निकालेको हो ।
बैठकमा सभापतिका निकटतम प्रतिस्पर्धी कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी लगायत उपस्थित थिए ।
बैठकमा महाधिवेशन, वरियता, केन्द्रीय समिति बैठक, राष्ट्रियसभाको टिकट वितरण लगायतका विषयमा छलफल भएको थियो ।
छलफलकै क्रममा वरिष्ठ नेता पौडेल लगायत विगतमा संस्थापनइतर समूहमा रहेका नेताहरुको भूमिकाबारे नेताहरुले धारणा राखेका थिए ।
‘अरु सबै नेताले शेरबहादुरलाई प्रत्यक्ष रुपमै सहयोग गरेकोले केही भन्नुपरेन । रामचन्द्रजी पनि तटस्थ रहनुभएन भन्ने धारणा साथीहरुले राख्नुभयो’, बैठकपछि अर्जुननरसिंह केसीले भने ।