दुलेगाैडा । माइक्रोफोन समातेर आफ्नो नाम ठेगाना बताउन मुस्किल हुने सन्तमाया थापाको डर र लाज हटेर आत्मविश्वास बढेको छ । आफ्नो परिचय दिन नसक्ने सन्तमाया निर्धक्क भएर सभा समारोहमा बोल्न सक्ने भएको बताउँछिन् ।
५५ वर्षकी उनलाई १० दिने उद्घोषण तथा नेतृत्व तालिम लिएपछि ढुक्कले बोल्न र नेतृत्व सम्हाल्न सक्छु भन्ने हिम्मत आएको सुनाईन् । उनले भनिन्, ‘माईकमा बोल्न तोरीफुला देख्न मलाई अहिले बोल्ने समय नै नपुग्ला झै हुन थाल्यो । सिकेपछि धेरै कुरो जानिदो रहेछ ।’ बोल्न र सिक्नलाई कहिल्यै पछाडी पर्न नहुने १० दिनको सिकाई उपलब्धि भएछ उनको लागि ।
कक्षा ११ मा पढ्दै गरेका निशान थापा मगरलाई पनि निर्धक्क बोल्न सक्ने बनाएको छ तालिमले । उनले १० दिने तालिमको समापनमा सोमबार आफ्नो अनुभव सुनाउदै भने, ‘दुई जनाको अगाडी गएर बोल्न सक्दिनथे । अहिले बोल्न सक्ने भए । बोल्न डराउने बानी हटेको छ । बोल्न सक्ने भए ।’ नेतृत्व विकास तालिम पहिल्यै पाएको भए आफुलाई अगाडी बढ्न सघाउने उनले बताए ।
यस्तै, अनुभव छ खिमबहादुर आलेसँग उनले तालिमले आत्माविश्वास जगाएको बताउँदै आफुले सिकेको सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए ।
परिचय दिनलाई समेत लाग्ने डर तालिम लिएपछि जुनै कार्यक्रममा बोल्न सकिन्छ भन्ने आत्माविश्वास जगाएको सुस्मिता विकले बताईन् ।
तालिममा सहभागी भएका ३० जनाकै अनभुव सन्तमाया, निशान, खिमबहादुर र सुस्मिताको जस्तै छ । आफ्नो परिचय दिन नसक्ने उनीहरु सबैले कार्यक्रम चलाउन र भाषण गर्न सक्ने भएका छन् । संघसंस्थाको नेतृत्वमा पुगेर समाज बदल्ने प्रण छ उनीहरुको ।
१० दिने तालिमको समापनमा बोल्दै शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले सडक खन्दैमा, भवन बनाउदैमा मात्र विकास नहुने बताए । वडाबासीको व्यक्तित्व र नेतृत्व विकास हुनुलाई पनि विकास मान्नुपर्ने उनको भनाई छ । तालिममा सिकेको सिकाईलाई जिवन्त राख्न वडाध्यक्ष भण्डारीको सुझाव छ ।
वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्रीले नेतृत्व र व्यक्तित्व विकास अपरिहार्य रहेको उल्लेख गरे । टारी गाउँ टोल विकास संस्था खोरादीका अध्यक्ष गिमबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
टारी गाउँ टोल बिकास समितिको आयोजना र शुक्लागण्डकी नगरपालिका–१० को वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित १० दिने उद्घोषण तथा नेतृत्व बिकास तालिममा ३० जना सहभागि थिए । सहभागिलाई पत्रकार राजकुमार आले, ममता गुरुङ आले, विनोद ढुंगाना र शिव आलेले सहजिकरण गरेका थिए । उद्घोषणकला, भाषणकला, नेतृत्व बिकास लगायत बिषयमा सहजीकरण गरेका थिए । तालिम खोरादीमा १७ पुसदेखी सुरु भएको थियो । सोमबार तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।