कोरिया जाने पर्खाइमा रहेकाहरुलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरिया जाने पर्खाइमा रहेकाहरुलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

     काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन्।

    मन्त्री श्रेष्ठले मन्त्रालयमा सोमबार कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे । 

    मन्त्री श्रेष्ठले व्यवसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताएका थिए ।

    कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भएपनि महामारीका कारण समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । व्यवसायिक उडान खुला गर्न आवश्यक प्रकृया सुरु गरिएको जानकारी दिँदै उनले छिटो संचालन हुने विश्वास समेत दिलाए ।

    यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुन: खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १ सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् । नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताउनुभयो । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आएका छन् ।