‘विकासका काम थुप्रै गर्याै : कति सम्पन्न भयाे, कति जग बसाल्याै’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘विकासका काम थुप्रै गर्याै : कति सम्पन्न भयाे, कति जग बसाल्याै’

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७८, बिहीबार

    तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना । संघीयता कार्यन्वयनको प्रकृया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र समृद्धिकाे खाका कोर्दै छ । साविकको छाङ,जामुने र मनपाङ गाविस मिलेर बनेको म्याग्दे गाउँपालिकामा झन्डै पाँच वर्षकाे अवधिमा मायादेवी नेतृत्वको स्थानीय सरकारले कति काम गर्न सक्यो, कति सकेन् ? उनैबाट जवाफ खोज्ने प्रयास गरेका छन् खबरपुञ्जकर्मी विनोद ढुंगानाले । प्रस्तुत छ म्याग्दे गाउँपालिका अध्यक्ष रानासँग गरिएको कुरानाकानीको सम्पादित अंश ।

    संघीयताको कार्यन्वयनसँगै गाउँपालिका अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हाल्नुभयो । अबको केही महिनामा विदा हुनुपर्छं । यो अवधिलाई कसरी लिनुहुन्छ ?
    लामो समयसम्म कर्मचारीले चलाएको स्थानीय सरकारको नेतृत्व गर्न हामी आयौँ । धेरै चुनौतिका चाङ हुदै गर्दा हामी आयौँ । चुनौतिको सामना गर्दै संघीयतालाई मजबुत बनाउन लागिरहेका छौँ । संघीयता हामीले नै चाहेको शासन व्यवस्था हो । जनताको समस्याहरु हरेक दिन प्रत्यक्ष रुपमा सुन्न, बुझ्न र समाधान गर्ने मौका पाएका छौँ ।

    सुरु सुरुमा संघीयतासँग अभ्यस्त हुनलाई कत्तिको कठिन भयो ?
    नयाँ जुत्ता किनेर लगाएपछि हप्ता पन्ध्र दिन लगाउन असजिलो हुन्छ नि ! सहज हुदैन् । पछि बानि पर्दै जान्छ । पहिला सुरुमा नयाँ जे कुरा पनि अलिक अफ्ठ्यारो महशुस हुन्छ । तर पनि विस्तारै अनुभव बटुल्दै गएपछि सहज हुन्छ । संघीयता पनि त्यस्तै थियो । अहिले त जनताले पनि संघीयतालाई बुझेका छन् झनै सजिलो छ ।

    भर्खर तपाईहरु आउदै गर्दा स्रोत साधनदेखी कर्मचारीको अभाव पनि भयो होला ?
    कति हो कति दुख । बसाई सरेर आउँदा पहिला घर बनाउने कि गोठ बनाउने चिन्ता भए जस्तै भयो । व्यवस्थित गर्नलाई गाह्रो भएको थियो । कर्मचारी निकै कम थिए, हरेक विषयगत शाखामा कर्मचारी नभएर एउटै कर्मचारीले दुई चार वटा शाखा हेर्नुपथ्र्यो । बेलामा काम गर्न नसक्ने स्थिती पनि भोगियो ।

    त्यसो हुदाँ संघीयताले ठिक रहनेछ भन्ने भएन जनतामा ?
    नबुझ्दा त भयो नि । पहिला त हामीले पनि सोच्यौ यो संघीयता त नहुने लफडामा फसियो भनेर । अनुभव नै ठूलो रहेछ पछि विस्तारै सहज हुदै आयो ।

    संघीयताको जग स्थानीय सरकारलाई भन्निछ । जग बलियो बनाउन प्रदेश र संघ सरकारले भुमिका खेल्न सके कि सकेनन् । कत्तिको सहयोग पाउनुभयो संघ र प्रदेश सरकारको तर्फबाट ?
    प्रदेशबाट फुकाएर पैसा नदिने, बरु फ्रिज हुन दिइयो । गाउँपालिकाले काम गर्नलाई बजेट नपाएको अवस्थामा उता प्रदेशमा फ्रिज भयो । त्यो सहयोग हो त ? संघको पनि त्यही हो अवस्था । राजनीति पनि बढी गरियो । बेलामा ऐन कानुन गराएनन् संघ र प्रदेशले । अलमलमा पारियो केही समय त ।

    तपाईको टिमले म्याग्देमा गर्व गर्न लायक केही काम गर्न सकेको छ ?
    धेरै काम गरेका छौँ । गाउँपालिकाकाे सात मध्ये छ वटा वडा पृथ्वी राजमार्गसँग जोडिएको भएतापनि दायावाया छायाँमा थियो । अर्थात विकास पुगेकै थिएन् । राजमार्गसँगै जोडिएको भएपनि सडक पुग्न सकेको अवस्था थिएन् । पहिला बिना प्राविधिक अन्दाजको भरमा खनिएका छोटा दुरीका सडक थिए । हामी आएपछि हरेक गाउँलाई सडकले जोडेका छौँ । हामीलाई जनप्रतिनिधिले जानेको जमिन खोतल्ने हो आरोप लगाईयो पनि तर गाउँ गाउँमा सडक पुर्याएर विरामी हुदाँ गाउँमै एम्बुलेन्सको सेवा लिन सक्ने सम्मको सुविधा दिएका छौँ जनतालाई । स्वास्थ्य इकाई स्थापना गरेका छौँ । धेरै विद्यालयहरु सुधार गर्नपर्ने थिए, सुधारेका पनि छौ । ठाउँ ठाउँमा मठमन्दिर बनेका छन् । गाउँ गाउँमा सामुदायिक भवन बनेका छन् । कृषिमा अनुदानदेखि आधुनिकीकरणमा किसानलाई सघाएका छौँ । कोठा जत्रै भएपनि कोल्डस्टोर बनाएका छौँ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा छ । हरेक वडा कार्यालयको भवन बन्दैछन् । गाउँपालिकामा ३० शैय्याको अस्पताल पनि बन्दैछ । हामीले अध्यक्षसँग सुत्केरी कार्यक्रम चलाएका छौँ । गर्भवती महिलाले हाम्रै पालिकाको स्वास्थ्य संस्थामा चेकजाँच गरेर सुत्केरी हुनेलाई गाउँपलिकाले तीन हजार रुपैयाँ उपलब्ध गराएको छ । जस्ले गर्दा सुरक्षित तरिकाले सुत्केरी गराउनेको संख्या बढेको छ । अरु पनि विकासका काम थुप्रै गरेका छौँ । कति काम पुरा भएका छन् कति जग बसालेका छौँ ।

    तपाई आफैँमा पनि महिला हुनुहुन्छ । महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउनलाई चाहिँ केही गर्नुभएन् ?
    महिलालाई आत्मानिर्भर बनाउनलाई पनि धेरै प्रयास गरेका छौँ । महिला दिदी वहिनीलाई आत्मानिर्भर बनाउन मानहुँ, हर्खपुर र गैरागाउँमा होमस्टे स्थापना गरेका छौँ । बर्षेनी ब्युटीपार्लर, गुडिया बनाउने, झोला बुन्ने, चुरापोते बनाउने, नेतृत्व विकास जस्ता तालिम दिएका छौँ । महिला किसानलाई प्रोत्साहन गर्नलाई सम्मान पनि गरेका छौँ । तर सबैभन्दा गतिलो होमस्टे रहेछ महिलालाई आत्मानिर्भर बनाउन ।

    विकास निर्माणमा जनअपेक्षा कस्तो पाउनु भएको छ ?
    जनअपेक्षा त सन्तोषजनक कोही पनि छैनन् । बाख्रा पाल्नलाई खोर सुधार गर्न अनुदान दिन्छौँ फेरी उहाँले माछा पाल्ने, गाई पाल्ने ईच्छा गर्नुहुन्छ । एक चिज पाएपछि पुग्यो धन्यवाद भन्नेवाला त कोही छैनन् । तैले के गरिस ? तलाई भोट दिएर अहिलेसम्म के पाईयो ? हामीले पाएनौँ भन्ने मात्रै धेरै छन् ।

    जनअपेक्षा त पुरा नभएको देखियो नै । स्वयंम आफैलाई जनअपेक्षा अनुुसार काम गर्न सफल भयौँ भन्ने लाग्छ ?
    आफैँले आफ्नो प्रशंसा गर्नु ठिक हैन् । तर पनि ५० प्रतिशत म सन्तुष्ट छु । किनकी जनताले मागेका १०० मध्ये ५० मागलाई पूरा गरेका छौँ झैँ लाग्दछ । बाटोघाटो, बाँध कुलो, खानेपानी जस्ता सबै संरचना निर्माण गरेका छौँ । शिक्षा, स्वास्थ्यमा सुधार गरेका छौँ । कर्मचारीको व्यवस्थापन गर्न सफल भयौँ । जनताको सुखदुखमा हरेका दिन घरदैलोमा पुगेर पीडामा मलम लगाउने काम पनि गरिरहेका छौँ ।

    आफ्नो कार्यकालमा गर्न चाहेर पनि सकिन लाग्ने केही काम छन् ?
    तीन वटा काम छन् । डम्पिङ साइट सबैभन्दा जटिल काम रहेछ । हुन त ठूला ठूला नगरपालिकाले पनि नदीमा फोहोर बगाएर बसेका छन् । हामीले डम्पिङ साइट बनाउनलाई अभ्यास ग¥यौँ । जाने बेलामा बल्ल डम्पिङ साइट बनाउनलाई जग्गा किन्दैछौँ । अहिले जग्गा पास हुने प्रकृयामा छ ।
    अर्को कोल्डस्टोर बनाउने ठुलो धोको हो । म्याग्देमा आलु सुन्तला धेरै फल्छ । सबै बाहिर जान्छ । कोल्डस्टोर नभएपछि हामीले यहाँको उत्पादन खाना पाएका छैनौँ । प्रदेश र संघमा कोल्डस्टोर बनाउने माग राखेका छौँ । गाउँपालिकाले चाहेर पनि गर्न सकेन । र तेस्रो संघ र प्रदेशले सपोर्ट गरेको भए हाम्रो धेरै बाटोहरु कालोपत्रे हुन्थे । हामीले सडकको ट्रयाक खोल्यौँ । नाली बनायौँ । तर ग्राभेल पनि गर्न नसकेको अवस्था छ । त्यसमा खिन्नता छ । संघ प्रदेशले पर्याप्त बजेट दिएको भए सायद सबै वडामा पुरै नभएपनि मुख्य मुख्य सडक कालोपत्रे गर्न सक्थ्यौँ कि भन्ने लाग्छ ।

    प्रसंगलाई बदलौँ, ३० बैशाखमा स्थानीय तहको निर्वाचन हुदैँछ । अब फेरि दोहोरिने ईच्छा छ कि छैन् तपाईमा ?
    मेरो ईच्छाभन्दा पनि पार्टीको निर्णयमा भर पर्दछ । जनताहरुले त जुन वडामा गएपनि तपाईले फेरी एकपल्ट दोहो¥याउनुपर्छ भनिरहनु भएको छ । हामी पार्टीले टिकट दिए पाउने हो नदिए पाईदैन् सबैलाई जवाफ यहिँ दिन्छुु । पार्टीको लागि उठ्देउ पार्टी भन्योभने दोहो¥याउन पनि सक्छु । तिम्रो पालो सकियो अर्कोलाई मौका दिनपर्छ भनेपनि मान्य हुन्छ । म दोहोरिने नदोहोरिने पार्टी र नेताको हातमा छ ।

    अन्त्यमा गाउँपालिकावासीलाई केही सन्देश दिन चाहानुहुन्छ ?
    हामीले तपाईहरुको सबै माग पूरा गर्न सकेका छैनौँ । तपाईहरुको ईच्छा पुर्ति गर्न सकेसम्म लागेका हौँ । हामीसँग सिमित बजेट हुने कारण पनि सबै सबै काम गर्न सकेनौँ । आम्दानी पनि नगरपालिकाको जस्तो धेरै छैन हाम्रो । हाम्रो टिमले गरेको काम अहिले केही देखिएको छैन् । पछि हाम्रो कामले नम्बर पाउँछ भन्ने विश्वास छ । हामी जनताको लागि सदैव लड्यौँ । तपाईहरुकै चिन्ता छ । गाउँपालिकावासीकै लागि के गर्न सक्छौँ भन्ने सोचमा डुबेरै काम गरेको हो । शत प्रतिशत ठिक केही र कोही हुदैन् होला । कति कमीकमजोरी भयो होला । जनताको सुझाव र सल्लाहालाई सदैव हामीले शिरोपर गरेर अगाडी बढ्नेछौँ ।