दोस्रो प्रयासमा उपसभामुख बनिन् पुष्पा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दोस्रो प्रयासमा उपसभामुख बनिन् पुष्पा

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, शुक्रबार

    काठमाडौ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन्। भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्।

    प्रतिनिधिसभाको यही कार्यकालमा भुसाल दोस्रोपटकको प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यसअघि भुसाल २०७४ साल चैत २ गते उपसभामुखको प्रतिस्पर्धामा थिइन्।

    त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारसँग भुसाल पराजित भएकी थिइन्। वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्। तुम्बाहाम्फेले २०१ मत ल्याउँदा भुसालले ५८ मतमात्रै पाएकी थिइन्।

    यो बीचमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो। साथै सभामुख कृष्णबहादुर महराले मुद्दा लागेर पदबाट राजीनामा दिए। एकै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने कानुन र सभामुख महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेलाई २०७६ साल माघ ६ गते राजीनामा गराइयो।

    तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्षसम्म रिक्त रहिरह्यो। मंसिरमा संघीय निर्वाचन गर्ने तयारी रहेका बेला सत्ता गठबन्धनले अकस्मात उपसभामुख चयनको प्रक्रिया अगाडि बढायो। गठबन्धनभित्र आफ्नो भागमा परेपछि कांग्रेसले भुसाललाई नै फेरि उम्मेदवार बनायो। चार वर्षअघि वाम गठबन्धनका कारण १४३ मतान्तरले उपसभामुखमा असफल भुसाल अहिले सत्ता गठबन्धनको बलमा ५५ मतान्तरले विजयी भइन्। पाँचै वर्ष उपसभामुख बन्ने प्रयास असफल भए पनि भुसाललाई चार महिनाका लागि संसदले उपसभामुखको कुर्सीमा सदन चलाउन अनुमोदन गरेको छ।