म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए ।
“पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भने । खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो ।
पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ । बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए ।
बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए ।