पोखरा ।
‘विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पीर
जिउँदै मर्ने यो अभागी देखेर…’
यो गीत ४० को दशकमा निकै चर्चित थियो । जतिबेला लाहुरे हुने र विदेश जाने प्रचलन विस्तारै बढ्दो क्रममा थियो । त्यही परिवेशमा दीपक थापाले ‘विदेश जाने मायालु’ सिर्जना गरेर पोखरामा हुने कार्यक्रमहरुमा गाउन थाले ।
रेकर्ड नहुँदै उनले पहिलोपटक डाँफे कला मन्दिर पोखराले आयोजना गरेको कार्यक्रममा ४१ वर्षअगाडि यो गीत सुनाए । ‘पहिलोचोटि गाउँदा नै धेरैले मन पराइदिए’, उनी सम्झन्छन् । त्यसपछि पोखरामा हुने हरेकजसो सांगीतिक कार्यक्रममा दीपकको यो गीत गुञ्जिन्थ्यो । यही एउटा गीतले उनलाई पोखरासँगै भैरहवा, बुटवल र धरानसम्म पु¥यायो ।
स्रोताले मन पराउन थालेपछि थापाले सन् १९९५ मा गीत आफ्नै स्वरमा रेकर्ड गराए । जुनबेला भिडियोको जमाना थिएन । रेडियोबाट उनको गीत बज्न थालेपछि जनजनको मनमनमा बस्न सफल भयो । गीत हिट भयो । तर, गायक दीपक थापालाई चिन्ने कमै थिए ।
अझै पनि स्रोताले ‘विदेश जाने मायालु’ गीत सम्झन्छन् । थापालाई झट्ट चिन्दैनन् । ‘विदेश जाने मायालु तिमीलाई गीतको गायक भनेपछि बल्ल चिन्छन्’, शुक्रबार पोखरामा उनी सुनिए ।
गीतले चर्चा कमाएको झण्डै चार दशकपछि म्युजिक भिडियो तयार पारेर सार्वजनिक गरिएको छ । थापाले आफ्नै स्वरमा रिरेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका छन । पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतबाट थापाले नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताउँछन । ‘त्यतिबेला भिडियोबिना चल्यो । पहिला रेडियोको जमाना थियो । अहिले पो भिडियोको जमाना आयो’, उनी भन्छन्, ‘भिडियो ल्यायो भने अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए । अर्को जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ ।’
‘विदेश जाने मायालु’ आफ्नै कथा भएको गायक थापा सुनाउँछन् । ‘हङकङमा स्कुल पढ्दा लब थियो । पछि उस्को बाउले लाहुरेलाई दिने भन्यो, ट्रयाजिटी प¥यो । खासमा बाउचाहिँ भिलेन बन्यो’, फ्ल्यासब्याक हुँदै लामो हाँसो गुञ्जियो ।
उनले आफ्नो विछोडको घाउलाई मलम लगाउन गीत सिर्जना गरे । ‘मनको व्यथा गीतमा परिणत गरेको थिए । साँचो कथा भए गीत अमर हुने रहेछ । काल्पनिकभन्दा आफ्नै कथाले धेरैलाई छोयो’, उनले भने । आफूले लेखेको शब्दमा अरुले फिलिङ्स दिन नसक्ने भएकाले जर्बजस्त आफैंले गाएको उनी सुनाउँछन । अझैपनि आफ्नो स्वर गायक बन्न योग्य नभएको उनको ठहर छ ।
अरुले फिलिङ्स दिन नसक्ने त थियो नै पहिलो गीत हिट भएर पनि आफू गुमनाम भएको इगो पनि ‘विदेश जाने मायालु’ मा जबर्जस्त स्वर दिनुको कारण हो । उनले सिर्जना गरेको पहिलो गीत ‘ऊ मेरो प्रियतम्’ (१९५२) ले गायिका सुक्मित गुरुङलाई हिट बनायो । दीपकलाई कसैले चिनेनन् । ‘गीत हिट भयो मेरो नाम मेन्सन गरेन । पछि मैले रिसैले गाएको हो । यहाँ त कम्पोजरहरुको नामै मेन्सन हुदैन नि त । स्वर जस्तोसुकै होस्् सुर र तालमा गाउन सक्नु लाग्यो र गाए’, उनले भने ।
म्युजिक भिडियो पोखरामै तयार गरिएको हो । रोहन नेपालीले निर्देशन गरेको भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, अरिशा गुरुङ र अनमोल राना फिचर्ड छन् । पोखरा आसपास छायांकन भएको भिडियोमा तीन पुस्ताको प्रेमलाई देखाइएको छ ।
पश्चिमा गीतको प्रभाव बढ्दै जाँदा दीपकको नेपाली सांगीतिक क्षेत्रमा प्रवेश भएको थियो । ५० को दशकमा पोखरामा रेकर्ड हुने अधिकांश गीतका एरेन्जर उनै थापा हुन् । थापाले सिर्जना गरेको पहिलो रेकर्डेग गीत ‘उ मेरो प्रियतम्’ हो । त्यसपछि ‘त्यसैले मायालु भनेर बोलाउ कि’, ‘जलमा थलमा’, ‘आँखामा तिम्रो सम्झना छ’, लगायतका तीन दर्जन बढी उनको गीत बजारमा आएका छन् । उनलाई गायक कम कम्पोजर, एरेञ्जर, गिटारिस्टको रुपमा चिन्छन् ।