पोखरा म्यारथन फागुन ६ गते, एकैदिन ८ इभेन्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोखरा म्यारथन फागुन ६ गते, एकैदिन ८ इभेन्ट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने भएको छ । नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यसपालि एकैदिन ८ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।

    विश्वका दौड ‘वल्र्ड रनिङ’ को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

    १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर), महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहिन दौडसँगै रन फर फन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

    पराजुलीका अनुसार खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । ‘नेपाली म्याराथनको इतिहासमा पहिलो पटक सर्वाधिक पुरस्कार राशी घोषणा गरेका छौं’, उनले दाबी गरे । गत संस्करणको भन्दा १ लाख रुपैयाँ पुरस्कार राशीमा वृद्धि गरिएको हो ।

    दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन् । यसपालि खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था मिलाएको पराजुलीले बताए । गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागेको उनले जनाए । गण्डकीबाट सहभागी धावकमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन् ।

    महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः धावकले १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन् ।

    सिटि म्याराथनको संस्कार अनुसार सबै इभेन्ट एकैदिन गर्न लागिएको मञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले बताए । सिटी म्याराथनको अवधारणा एकैपटक हजारौं दौडने भएकाले सोही अनुसार गरेको उनको भनाई छ । ‘सबै इभेन्ट एकैपटक गर्ने सिटी म्याराथनको कल्चर हो । छुट्टाछुट्टै दौड्ने भने इन्ट्रेस्टिङ नै हुँदैन । खेलकुद अशक्तहरुका लागि पनि हो । सबैको एकै ठाउँमा हुनुपर्छ भन्ने संस्कार छ’, उनले भने । सिटी म्याराथन मुख्य शहरमै गर्नुपर्ने गुरुङले बताए । पोखरा महानगरपालिकाको १७ वडामा म्याराथनको रुट पर्दछ । म्याराथन हुने दि ३ घण्टा सवारी साधनको जिरो जोन बनाउन नेपाल भूतपूर्व खेलाडी मञ्चले पहल थालेको छ ।

    प्रतियोगितामा सहभागिता जनाउनलाई २५ विदेशी धावक इच्छुक देखिएका छन् । गत संस्करणको खुला म्याराथनको विजेता केन्याली धावक स्टेफन कोसगेई, उपविजेता सिमिओन किप्लागातोले पनि सहभागिता जनाउन इच्छा जाहेर गरेका छन् । २५ नेपाली धावकले नाम दर्ता गराएका छन् ।

    प्रतियोगितामा यो पटकदेखि प्रविधिको प्रयोगसमेत गरिनेछ । खुला र हाफ महिला म्याराथनमा सहभागी धावकलाई चिप्स जडान गर्ने तयारी छ । ‘चिप्सको प्रयोगले खेलाडीको दौडको समयलाई निश्चित बनाउनेछ । खेलाडीलाई हौसला मिल्नेछ । निर्णायकलाई सहजता हुुनेछ’, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष पराजुलीले भने ।

    म्याराथनमा पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ । ९३ लाख रुपैयाँ कुल खर्च हुने आयोजकले जानकारी दिएको छ ।