‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती’

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७९, मंगलवार

    पोखरा । आइतबार उज्यालो रहेको पोखराको आकाश सोमबार एकाएक अँध्यारो बन्यो। दिन ढल्नै लाग्दासमेत खुल्न सकेन। आकाशजस्तै मधुर मलिन छ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा भेटिने हरकोहीको मुहार।

    रोग बोकेर अस्पतालमा आउने धेरै शोकले गलेर आएका छन्। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरीपुल नजिकै सेती खोंचमा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा परेर आफन्त गुमाएकाहरूको ठेलमठेल भीड छ अस्पताल परिसरमा।

    पोस्टमार्टम भवनको बाहिर दिवंगत भएकाहरूको अन्तिम प्रतीक्षामा रहेका आफन्त भावविह्वल छन्। भवनको गेटबाट कोही चिनेजानेको निस्कँदा सोधिहाल्छन्, ‘अझै कति समय लाग्ला ?’ जवाफमा ‘खोइ’ सुनेपछि एक महिलाले गुनासो गरिन्, ‘छिटो गरेर दिए पनि त हुन्थ्यो नि! आफन्तको बिचल्ली त हुने थिएन। अझै कति समय तड्पनुपर्ने रहेछ!’

    ०००

    काठमाडौँबाट आइतबार बिहान १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमानका ६८ यात्रुमध्ये एक थिए पोखरा–१३ मियाँपाटनका सदाकत अलिमियाँ। हजयात्रा हिँडेकी आफ्नी सानिआमालाई काठमाडौं पु¥याएर पोखरा फर्कंदै गरेका अलिमियाँ चढेको विमान उडेको २२ मिनेटमा भुइँ झरेर आगोको मुस्लोमा परिणत भयो। चिप्लेढुंगामा फेन्सी पसल चलाउने उनी सेती खोंचको दुर्घटनाबाट विलिन भए।

    अस्ट्रेलिया जाने सपना अधुरै छाडेर अस्ताएको अलिमियाँको घाँटीमा मात्रै चोट लागेको अवस्थामा परिवारले सनाखत गरेको २४ घण्टा बितिसक्यो।
    आइतबारदेखि शव बुझ्ने प्रतीक्षामा अस्पताल परिसरमा बसेका उनका आफन्तले सोमबार दिउँसो ४ बजेसम्म पाएका छैनन्।

    ‘२४ घण्टा भो। खोइ हाम्ले शव पाएको। शव हेर्न भित्र जान पनि दिन्न। मिटिङको मिटिङ भन्छन्’, ससुरा नरुवकस मियाँ पीडा थाम्न नसकेर कड्किए।
    सनाखत भएको शव बुझ्न पाउनुपर्ने उनको माग छ। ‘नचिन्ने भएर जलेको भए डिएनए गर्नुपर्ला। चिनेको शव दिनु पर्दैन?’, उनले भने। दुर्घटनाको पीडासँगै बेलामा शव नपाउँदा अर्को पीडा थपिएको उनी बताउँछन्। प्रक्रिया, प्रक्रिया भनेर ढिला गरेको मियाँको भनाइ छ।

    शव लगेर अन्त्येष्टि गर्न पाए थोरै भए पनि हलुका महसुस हुने आफन्त रोजिना खातुनले बताइन्। ‘पहिचान भएका शव परिवारलाई बुझाइदिए त यहाँको भीड पनि कम हुन्थ्यो’, उनले भनिन्, ‘जे हुनु भयो यहाँ राखेर के पाइन्छ र अब।’
    पोस्टमार्टम भवन छिर्ने गेटैमा बसेका एक युवा आक्रोशित हुँदै भने, ‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती !’ प्रवेशद्वारमा बसेका सुरक्षाकर्मीसँग भित्र के भएको छ यथार्थ जानकारी माग्दा नपाएपछि चर्को उनले स्वर निकाल्थे, ‘कि लास दे! नभए श्वास हालेर दे हाम्रा मान्छेलाई।’ विमान दुर्घटनामा परेर मृत्यु भएकी लक्ष्मी पौडेलको शव लिन कास्कीको पुरनचौरदेखि आएको उनले बताए।

    शव बुझ्न नपाएपछि उनी भीडमा आफूलाई सम्हाल्न नसकेर यताउती गरिरहन्थे। चिनेको कोही भेटे दुःख पोख्थे, ‘आज पनि नदिने भए।’

    काठमाडौँबाट आएका २ फरेन्सिक विज्ञसहित डाक्टरको टोलीले अहिले मृतकको पोस्टमार्टम गरिरहेको छ। सोमबार बिहानै उनीहरू आउने भने पनि ढिला आइपुगेपछि पोस्टमार्टमा पनि ढिलाइ भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार ६९ जनाको शव दुर्घटनास्थलबाट फेला परेको छ। विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए। हराइरहेका ३ जनाको खोजी जारी रहेको उनले बताए।

     सनाखत भएका शव पोस्टमार्टमपछि प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाउने उनले बताए। ‘विदेशी नागरिक, क्रु मेम्बर, पहिचान नखुलेको र काठमाडौँ नै लगेर पोस्टमार्टम गर्छौं भन्नेको हकमा काठमाडौँ लग्ने व्यवस्था हुँदै छ’, उनले भने। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान भएका शव आज दिने बताएको थियो। साँझ पर्न लाग्दा पनि शव नपाएपछि अस्पताल परिसरमा रहेका आफन्त आक्रोशित बनेका हुन्।

    परिचयपत्रको आधारमा सनाखत भएका शवको थप सनाखत गर्नका लागि डिएनए परीक्षण गर्न काठमाडौँ लगिने भएको छ।