अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७९, आईतवार

    एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेर गोप्य सरकारी दस्ताबेजहरू जफत गरेको छ।

    अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गर्दै चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजातहरू फेला पारेको समाचार संस्था एपीले जनाएको छ।

    न्याय मन्त्रालयका अन्वेषकहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्।

    बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने।

    बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्।

    उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेज खोज्न अनुमति दिएका हुन्।

    यसअघि शुक्रबार विल्मिङटनस्थित एउटा घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए। यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटरको समयका हुन्।

    यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा वाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए।

    २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू फेला परेका थिए।

    राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

    जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो।

    पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ।

    एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो।

    ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ। तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।