काठमाडौ । मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल फर्काउन प्रक्रिया अगाडि बढाएको बताएको छ ।
उनलाई अहिले सुधारगृहमा राखिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए । उनले भने, ‘सुधारगृहमा कम्तीमा पनि दुई साता राख्नुपर्नेछ । आवश्यक परेमा अझै समय थप हुनेछ ।’
दूतावासले मकिन्द्रको ट्राभल डकुमेन्ट बनाइदिएको छ । तर, नेपाल फर्कन उनले मलेसियन सरकारलाई जरिवाना भुक्तानी गर्नुपर्छ । लामो समयदेखि मलेसियामा गैरकानुनीमा रूपमा बस्दै आएकाले उनले जरिवाना भुक्तानी गर्नुपर्ने मलेसियाका लागि नेपाली राजदूत पौडेलले बताए ।
मकिन्द्रले ३१ सय रिंगेट (करिब ९२ हजार रुपैयाँ) जरिवाना भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, मलेसियाको इमिग्रेसनले उनलाई मलेसिया छोड्न पास उपलब्ध गराउनुपर्नेछ । मलेसिया छाड्ने पासका लागि निवेदन दिइएको राजदूत पौडेलले बताए । ‘निवेदन दिएका छौँ । मलेसिया प्रशासन यस्तो पास दिन समय लगाउँछ । पास प्राप्त गरेपछि मात्रै उनी नेपाल फर्कन सक्नेछन्,’ उनले भने । राजदूत पौडेलका अनुसार सुधारगृहको लाग्ने शुल्क, गैरकानुनी रूपमा बस्दै आएको जरिवाना र जहाज टिकटका लागि तीन लाखभन्दा बढी रकम लाग्छ । (नयॉ पत्रिका)