उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७९, मंगलवार

    काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही चैत २३ गतेदेखि आचारसंहिता लागु हुने भएको छ ।

    निर्वाचन आयोगका अनुसार बिहीबारदेखि आचारसंहिता लागु गर्ने तयारी छ । आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागु हुनेछ ।

    तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।

    तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    बारा २ मा ३६ जना, चितवन २ मा २४ जना र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    बारामा २४ जना स्वतन्त्र उम्मेदवार छन् जबकी विभिन्न दलबाट यहाँ १२ जनाको मात्र उम्मेदवारी परेको छ ।

    चितवनमा पनि १२ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन् । तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन ।

    यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्हसमेत दिइनेछ ।

    गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो ।

    वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ ।