ठाडोभाका लोकगीत र र यसका स्थानीय उपभेदहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    ठाडोभाका लोकगीत र र यसका स्थानीय उपभेदहरु

    १५ पुष २०८०, सोमबार

    गण्डकीका हरेक पाखा—पखेरा, मेलापात, मठ, मन्दिरहरुमा लोकगीतहरु गुञ्जिरहने गर्दछन् । आ—आफ्रनै स्थानीय जनजीवनशैली, आफ्नै पाखा—पखेरा र करेसाबारीको माटो र पाटोमा मौलाएको ठाडोभाका लोकगीत लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वारा, ठूलोस्वाँरा, कानेस्वाँरा, तान्द्राङ, नेटा ,कुन्छा, तनहुँ जिल्लाको मानेचौका स्थित टुहुरेपसलको पुतलीबजार, भानु १२ को मिर्लुङ्ग पोखरीछाप, बाँसपानी, व्यास न.पा. वडा नं.६ को शिःसाघाट बजार, भानु ५ चन्द्रावती बजार , व्यास ११को रामथुम्कीको बर्धनडाँडा, व्यास २ दमौलीको माघेसक्रान्ति बजार यस्का उर्वर भूमिहरु हुन् । यहाँ गाइने लोकप्रिय गीतहरुमा झ्याउरे,ठाडोभाका, सोरठी, कृष्णचरित्र, सतीघाँटु, भजन, रोइला नै प्रमुख मानिन्छन् । यि मध्ये सबैभन्दा लोकप्रिय गीत ठाडोभाका गीत हो । यहाँका सर्जकहरुले लोकगीतलाई लोकप्रिय बनाउनमा ठूलो योगदान गरेका छन् । ठाडोभाका गीत गाउँदा अन्त्यानु प्रयास मिलाएर गाउनु पर्छ । स्थानीय परिवेश अनुसार अहिले ठाडोभाका गीतलाई लमजुङ्गे ठाडोभाका, दुराभाका, कर्पुटारे भाका, पुतलीबजार ठाडोभाका, मिर्लुङ्गे ठाडोभाका, शिःसाघाटे ठाडोभाका गोरखा सिरानचोके ठाढ्डोभाका कस्केली ठाडोभाका र स्याङजाली ठाडोभाका पनि भन्ने गर्दछन् । अन्ततः ठाडोभाका गीत हरेक गाउँघरमा हुने रोदीघर एवं गाउँ समाजबाट टाढा रहेको चरणखर्कमा गाईभैंसी चराउने गोठालाहरुलाई वनमा मनखाने र मन बहलाउने उपयुक्त माध्यम बन्न गएको थियो ।

    १ लमजुङे भाका÷ कर्पुटारे भाका÷दुराभाका ⁄ कुन्छाली ठाडोभाका
    सर्वप्रथम वि.सं.१९६७ को शिवरात्रीको मेलामा देउबहादर दुरा र पञ्चसुब्बा गुरुङहरुले कर्पुटारको बजारमा र वि.सं. १९७० मा साविक रुपाकोट हाल भानु ११ को पुतलीबजारमा ठाडोभाका लोकगीत गाएका हुन ( श्रोत—प्राज्ञिक संसार संगीत नाट्य बुलेटिन पूर्णाङ्क १८ ) । वास्तवमा त्यही दिन देखि नै ठाडोभाका गीतले मूर्त रुप प्राप्त गरेको हो । यस गीतका पुरुष तर्फका गायकहरु उभिएर गाउने भएकाले यस गीतको भाकालाई ठाडोभाका भन्ने गरिएको हो तर महिलाहरु यस भाकाको गीतमा उभिने र नाच्ने गरेको पाइदैन । यसैले उठेर नाचेको भरमै उठेर गाइने भएकोले यसलाई ठाडोभाका भनिएको नसुहाउला । अन्यभाका भन्दा छिटो, छरितो र छुडकिलो पाराले गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हो। ठाडोभाका गीतमा चड्के र फूर्तिलो पारामा गाउने र नाच्ने गरिन्छ । ठाडोभाकाको उद्धभवस्थल लमजुङ जिल्ला भएकाले लमजुङे भाका, सर्वप्रथम लमजुङको कर्पुटारमा मञ्चन गरिएको गीत भएकाले कर्पुटारे ठाडोभाका भनिएको हो । यसै गरी लमजुङको कर्पुटारमा सबै भन्दा पहिले गाइएको हुनाले कर्पुटारे भाका र विशेष गरेर यो भाकामा गीत गाउनेहरुमा दुराजाति माहिर भएकाले दुराभाका पनि भन्ने गरिएको हो । ठाडोभाका गीतका सर्जक देउबहादुर दुरा र पुतली दुराले दोहोरी खाल यही कर्पुटारमा जमाएका थिए । हरेक वर्षको फागुपूर्णिमा र शिवरात्रीमा लाग्ने मेलामा देउबहादुर दुरा ( केटा ) र पञ्चसुब्बा गुरुङ ( केटी ) बनेर मञ्चन गरेर जन्माएको ठाडोभाका गीतलाई सुनमा सुगन्ध थपिदिने काम नेटा दुराडाँडाकी लक्षिमी दुरा , नेटा तुर्लुङकोटकी मैरानी भन्ने पञ्चमायाँ दुरा , कुन्छाकी भक्तिमाया दुराहरु हुन् । उनीहरु सात दिन सात रात सम्म अविरल गीत गाइरहन्थे भन्ने सुनिन्छ । देउबहादुरको बिंडो थाम्दै लमजुङ जिल्लाका बतासे, कुन्छा र परेवाडाँडामा ठाडोभाका गीत गाउने चर्चित व्यक्तित्वहरुमा नेटा लमजुङका, पञ्चदुरा (मैरानी दुरा), कुन्छाकी भक्तिमाया दुरा, पुतली दुरा , हर्कसुब्बा गुरुङ, काजी दुरा, नेटा थानसिङकी जुठी कमिनी, मनिराम दुरा, दीर्घराज अधिकारी उर्फ “भेडिखर्के साईला”, बाङ्ग्रेका भैरव बहादुर रानाभाट, सकुन्धरा दुरा (पेचेर दुरा) , तुर्लुङकोटका गौमाया दुरा, खुजुरे दुरा , धनश्री दुरा ,राइटर दुरा , कास्कीका बुद्धिमान दुरा “ धम्पु ”, शिःसाघाटको सुनबहादुर दुरा, नेटाकी राधा भण्डारी, सुन्दरबजारका डा. देवीबहादुर गुरुङ, मकैस्वाराकी चिजमाया दुरा, हस्तबहादुर दुरा, सीता दुरा , ठूलोस्वाँराको दशरथ दुरा , देउबहादुरका सम्धी पदमबहादुर दुरा , छोरा मोतीलाल दुरा, यमबहादुर दुरा, निरमाया दुराहरु मानिन्छन् । उनीहरुले नै यस गीतको विरासत जोगाएका छन् । उनीहरु देउबहादुरलाई सम्झेर गीत गाउँथे । लमजुङको परेवाडाँडा, कुन्छाबजार हुँदै देउबहादुर फागुपूर्णिमा र शिवरात्रीको मेलामा कर्पुटार झर्दै गरेको देखेर गीत बन्ने गर्दथ्यो ।
    देउबहादुर दुरा कर्पुटार झ¥यो बुकी फुल लाउँदै लाउदै ।
    माया संगै भेटहोला भनी आ‘को म त धाउँदै धाउँदै ।।
    कर्पुटार मेलामा झरेका देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङसङ्ग भेट भएपछि गीतको खाल जमी हाल्दथ्यो । यसैले भन्ने गरिन्थ्यो “देउबहादुर दुरा पञ्चसुब्बा गुरुङ कर्पुटारमा घमसान ।”
    केटा केटाहरु मिलेर केटा र केटी भएर गीत गाएको अझ रसिलो नभए पछि उनीहरुले लक्षिमी दुरालाई गीत गाउन सिकाए । लक्ष्मी दुरालाई यमराजले चाडै नै निम्ता दिए पछि मैरानी दुरा गीतको खालमा देखिन आइपुगेकी हुन । पञ्च दुरालाई मैरानी दुरा पनि भनिन्थ्यो । दुइजनाको जोडी मिलेपछि ठाडोभाका गीत जहाँ भेट भयो त्यहीं जम्ने गर्दथ्यो । पञ्चसुब्बाको नाम देउबहादुरको मैरानी सङ्ग नाम मिले पनि उनी देउबहादुरकी घरवाली भने थिइनन । तै पनि हरेकका मुख मुखमा देउबहादुर दुरा र मैरानीको नाम भुण्डिएर आइहाल्दथ्यो ।
    बरिधानै गाउँको देउबहादुर दुरा नेटाको मैरानी ।
    पापी माया सित एकदिन भेट सधैं झल्को लाइरनी ।।
    भारतीय सेनामा कार्यरत देउबहादुर दुरा सङ्ग लगन गाँठो कसेकी नन्दमायाँ दुराले पनि यस भाकालाई मलजल गर्न देउबहादुरलाई पुरापुर सहयोग गरेकी थिइन । कर्पुटार बजारमा र पुतली बजारमा जुठो सुतक पर्दा दुराडाँडाका दुरा र दुरुनीहरु कुन्छाबजारको ठूलोढुङ्गामा दोहोरीको खाल जमाउने गर्दथे । यही स्थानमा गीत गाइने भएकोले कुन्छाली ठाडोभाका नाम दिइएको थियो । ठाडोभाका गीतका सर्जकहरुले विश्राम लिए पनि ठाडोभाका गीत अझै मौलाओस भन्नेमा सबैको कामना रहेको छ ।

    (२) तनुङ्गे भाका ÷पुतलीबजार भाका ÷ मिर्लुङ्गे ठाडोभाका
    ठाडोभाका गीत पश्चिम नेपालको पहिचान हो । यस्का पनि धेरै नै स्थानीय भेद उपभेदहरु भ्ेटिन्छन् । जसरी कर्पुटारमा शिवरात्री र फागुपूर्णिमाको जात्रामा सुतक लाग्दा र जुठोपर्दा रुपाकोटको पुतलीबजारमा ठाडोभाका गीत जम्ने गर्दथ्यो । त्यसैगरी मिर्लुङको ठूलोढुङ्गा र शिःसाघाट बजारमा ठूलो एकादशी बजार, चैतेदसैं मेला र फागुपूर्णिमामा ठाडोभाका गीतहरु गुञ्जने गर्दथे । ठाडोभाका गीतका टुक्का प्राय प्रकृति सङ्ग जोडिएर माया पिरतीमा टुङ्गिने गर्दछन् । विशेषतः ठाडोभाका गीतहरुमा समाजका विषयहरु नै प्रधान रहने गर्दछन् । यस भाकामा सुख, दुःख, विरह, माया ,वेदना , कुण्ठा र प्रेम लगायतका समसामयिक घटनाहरु समेटेर गाउने गरिन्छ । यसैले ठाडोभाका गीतको जन्मभूमि लमजुङको कर्पुटार भए पनि यस्को उर्वरभूमि तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं.११ को टुहुरेपसल स्थित पुतलीबजारको साथ साथै मिर्लुङ ठूलोढुङ्गा र शिःसाघाट पनि हो । ठाडोभाका गीत कर्पुटारका साथसाथै यस गीतको मञ्चन तनहुँको टुहुरेपसल स्थित कृपेश्वर महादेव मन्दिर पुतलीबजारमा पनि एकसाथ चल्दथ्यो । फागुपूर्णिमा र चैतेदसैंको मेलामा तनहुँको मिर्लुङ ठूलोढुङ्गामा, फागुपूर्णिमा र शिवरात्रीमा, तनहुँको चुँदी टुहुरेपसल स्थित चन्द्रावती बजारमा, दमौली स्थित माघेसक्रान्ति बजारमा, ठूलोएकादशी मेला र चैतेदशैं मेलामा शिःसाघाट बजारका वरिपरि तन्देरी तरुनीहरु मनै चुँडाल्ने गरी ठाडोभाका दोहोरी गीतका माध्यमबाट ठुङ्गा खेल्न पुग्दथे ।
    जसरी लमजुङको कर्पुटारमा शिवरात्री र फागुपूर्णिमाको मेलामा ठाडोभाका गीत जसरी जम्दथ्यो त्यसै गरी तनहुँका टुहुरेपसलको पुतलीबजार, मिर्लुङको ठूल्ढुङ्गा र शिःसाघाट बजारमा चैतेदशैं मेला र फागुपूर्णिमाका मेलाहरुमा ठाडोभाका गीतका खालहरु खुबै जम्ने गर्दथे । हजारौं जात्रालुहरुले भरिने मिर्लुङको ठूलोढुङ्गाको जात्रामा बैंसालु श्रीमाया सर्किनी सित दोहोरी जमाउन देउबहादुर दुरा छुटाउँदैन थे । उनीहरुका कर्णप्रीय गीत र स्वरहरु भुलेर कोही पनि घर फर्कन मान्दैनथे रे । उस्को गीत गाउने कला, अभिनय र स्वरका कारण सबै श्रोता र दर्शकहरु चखिभूत हुन्थे । आफ्नै स्थानीय जनजीवन शैली , आफ्नै पाखा पखेरा र करेसाबारीको माटो र संस्कृति संगै मौलाएको ठाडोभाका गीत लमजुङको खजेगाउँ तुर्लुङकोट, भाँगु, मकैस्वारा, ठूलोस्वाँरा, कानेस्वाँरा, तान्द्राङ, नेटा , कुन्छा, तनहुँको, शिःसाघाट, मिर्लुङ्ग बाँसपानी, व्यास न.पा.को रामथुम्कीको बर्धनडाँडा, दमौलीको माघेसक्रान्ति बजार, मानेचौकाको पुतलीबजार यस्का उर्वर भूमिहरु हुन् । अन्ततः ठाडोभाका गीत हरेक गाउँघरमा हुने रोदीघर एवं गाउँ समाजबाट टाढा चरणखर्कमा गाईभैंसी चराउने गोठालाहरुलाई वनमा मनखाने र मन बहलाउने उपयुक्त माध्यम बन्न गयो । भानु न.पा. १२ समजुरकी ठूल्नानी मियाँ, सान्नानी मियाँ, नन्दमाया दुरा, मञ्जु वि.क, बन्दिपुरको डुम्रेबजार बस्ने शंकर परियार, विष्णुमाया दुरा , बन्दिपुर बजार बस्ने उत्तम गुरुङ, मैबल निवासी ज्ञानुमाया थापा निरमाया दुराहरुले यस गीतको विरासत जोगाएका छन् । लमजुङको कर्पुटारबाट सुरु भएकोले यस भाकालाई कर्पुटारे र लमजुङ जिल्लाबाट सुरुआत भएकाले लमजुङ्गे र विशेष गरेर दुरा जातिका तन्देरी तरुनीहरुले गीत गाएकोे भाका हुनाले दुराभाका भने झै तनहुँमा गाइएको हुनाले यस्लाई तनुङ्गे भाका पुतलीबजारमा गाइएको भाका हुनाले पुतलीबजार ठाडोभाका ÷ मिर्लुङको पोखरीछापमा गीत गाइने हुनाले यसलाई मिर्लुङ्गे ठाडोभाका पनि भन्ने गर्दछन् । लमजुङको कर्पुटारलाई मात्र ठाडोभाका गीतको उर्वरभूमि भनेर जस दिंदा तनहुँको भानु न.पा. वडा नं. १२ को पुतलीबजार र मिर्लुङको ठूलोढुङ्गा माथि अन्याय हुन जान्छ भन्दा अत्युक्ति नहोला ।

    (३) बिर्सन नसकिने स्थान तनहुँका पुतलीबजार , मिर्लुङ ठूलोढुङ्गा र देउबहादुर दुरा
    टुहुरेपसलको पुतली बजारमा पुतली दुरा र पुतली सर्किनीहरुले ठाडोभाका गीत गाएको स्थान हुनाले उनीहरुकै नामबाट यस स्थानले पुतलीबजार नाम पाएको हो भन्ने जनश्रुति पनि सुन्न पाइन्छ । हजारौं जात्रालुहरुले भरिने मिर्लुङको ठूलोढुङ्गाको चैतेदसैं मेलामा बैंसालु श्रीमाया सर्किनी सित दोहोरीगीत जमाउन देउबहादुर दुरा छुटाउँदैनथे । उनीहरुका कर्णप्रीय गीत र स्वरहरु सुन्न भुलेर कोही पनि घर फर्कन मान्दैनथे रे । देउबहादुर दुरा र पुतलीको गीत गाउने कला, अभिनय र स्वरका कारण सबै श्रोता र दर्शकहरु चखिभूत हुन्थे । एकआपसमा उनीहरु लालटिनमारा चुरोटको बट्टामा चुरोटको साथसाथै रुपैया राखेर मायाले हिर्काउने गर्थे रे । जुठोमा माया र आत्मियताको भाव गाढिन्छ भनेर पूर्विय परम्परामा विवाहकै दिन जुठो खुवाउने चलन अद्यापि छँदैछ । यो पूर्विय परम्पराको अनुपम नमुना हो । कर्पुटारमा गएर गीत गाउँदा पनि पुतलीबजारमा गीत गाउँदा मागेर खाएको ठूटो लालटिनमारा चुरोटको माया र आत्मियताको उनीहरुमा याद आउँछ । ठूटो चुरोटले बढाएको आत्मियताले देउबहादुरलाई गाँजी रहन्थ्यो । गीतमा अनुप्रास मिलाउन देउबहादुरले पुतलीबजारलाई यसरी समेटेको पाउँदछौं । साविक रुपाकोट गाउँ विकास समिति हाल भानु न.पा. ११ टुहुरेपसलमा पर्ने पुतलीबजारमा देउबहादुर दुरामा ठूटो चुरोट खाएको सम्झना ताजै रहेको छ ।
    “पुतली बजारको चिनु , ठूटो चुरोट मागेर ल्याइदिनु ।”
    यो गम्भीर भावको गीत हो । हुन त ठाडोभाका गीतको अगाडि झ्याउरे गीत गाउनेलाई तल्लोस्तरको गायक गायिका मान्ने गरिन्थ्यो । झ्याउरे लगायतका गीत गाउँनेलाई पाखे र ठाडोभाका गीत गाउँनेलाई असली शहरीया सम्झने गरिन्थ्यो । यसैले तालिम लिएर भए पनि मानिसहरु ठाडोभाका गीत गाउन रौसिने गर्दथे । रामरमिता र गीतको रसमा डुब्न पुगेका रौसेहरुको मुख्य धोको देउबहादुरकै गीत सुन्नुमा नै हुने गर्दथ्यो । कर्पुटारको बजारमा देउबहादुरको खाल नभेटे पछि अलि नमज्जा लाग्नु स्वाभाविक नै थियो । मनले खोजेको नभेटे पछि कर्पुटारको बसाईलाई बिटमारेर मानिसहरु पुतलीबजार पुग्ने गर्दथे । यसरी कर्पुटारमा जुठो सुतक लाग्दा होस या देउबहादुर लाहुर जाँदा पुतलीबजारमा गीतको उठान र बैठान हुने गर्दथ्यो ।
    कता गयो देउ बहादुर दुरा सुन्य भयो कर्पुटार बजार ।
    कर्पुटारमा देउबहादुर दुरालाई नदेखे पछि साथी भाइमा नै देहोरी चल्दा अर्काथरी साथीभाइले प्रतिउत्तरमा यसरी गीत गाउने गर्दथे ।
    माइत जाँदा कुरौनी पाहुर गयो क्यारे देउबहादुर लाहुर ।।
    करापुटार देखि पोखरा बटौली खस्यौली भैरहवा नौतुना, कुँडाघाट सम्म गल्लावाल संग ओहोर दोहोर गर्ने देउबहादुर दुरा लाहुरे हुन भने पछि बिछट्टै उत्सुक देखिन्थ्यो । हुन पनि देउबहादुर भारतीय गोर्खा राइफल १÷६ जि आर.मा भर्ती भएको थियो । आखिर देउबहादुर दुरा लाहुरे पनि भइ हाल्यो । लाहुरबाट फर्कदा तनहुँको केलादीघाटमा बास पर्दा त्यहींका मगर्नी मैयाँहरु सँग रातभर रोदी बसेर मायाको साटासाट गर्न भ्याएछन् । कहिले कांही कास्की , स्याङजा, पाल्पा, बटौली, नौतनवा र गोरखपुर भएर पनि उनी लाहुर जाने र लाहुरबाट फर्कन गर्थे । लाहुर जाँदा आउने जाने बाटो त्यही थियो । बाटोमा जाँदा र आउँदा पनि उनले कास्की , स्याङजा तथा बटौली पुगेर गीतहरुका कोसेलीको पोयो फुकाउने गर्थे । अन्ततः उस्ले गीत मै भन्ने गर्दथ्यो ।
    नौतुनामा निम्ता छ मलाई, जानु प¥यो जोर मादल भिरेर ।

    ( ४ )गोरखाली सिरानचोके भाका
    लमजुङै जोडिएको गोरखा जिल्लाको सिरानचोक झेल्लाफाँट , बारपाक यस भाकाका उर्वर भूमिहरु ह्ुन । गोरखाको सिरानचोकमा गाइने भाका भएको हुँदा यस्लाई सिरानचोके भाका भनिन्छ । यस्को प्रभाव क्षेत्र गोरखाको बारपाक लाप्राक सम्म रहेको छ । युक्ति गुरुङ यस क्षेत्रका ठाडोभाका गीतका महासर्जक हुनुहुथ्यो ।

    (५)कास्की तथा स्याङजाली यानीमाया भाका
    लमजुङ संगै जोडिएको कास्की जिल्लाको रुपाकोट, सिकलेस, तरंैचे यसभाकाका उर्वर भूमिहरु ह्ुन । कास्कीका विभिन्न स्थानमा गाइने भाका हुँदा यस्लाई कस्केली भाका र स्याङजा जिल्लामा पुग्दा यसलाई स्याङजाली आँधीखोले भाका, सालैजो भाका पनि भन्ने गर्दछन । गीतका प्रसङगमा सुनिमाया , यानीमाया, बिना सालैज्यू टुक्काहरु जोडिन आउने हुँदा ठाडोभाका गीतलाई सुनिमाया , यानीमाया, बिनासालैज्यू भाका पनि भन्ने गर्दछन् । हुन त ठाडोभाका गीत सालैज्यू भाकाको भगिनी हो पनि भन्ने गर्दछन् । मगरातका मगर—मगर्नी र तमुवानका गुरुङ—गुरुङसेनी र दुरा—दुरीनीहरुनै लमजुङ तनहुँ , कास्की र स्याङजा जिल्लाका ठाडोभाका गीतका गायक गायिकाहरु हुन । यसका अतिरिक्त दलित महिला र इस्लाम धर्ममा आस्था राख्ने चुरेटा चुरेट्नीहरु ठाडोभाका गीतका अब्बल गायक गायिकामा दरिएका छन् ।

    (६) अन्त्यमा
    हाम्रो समाजमा तीव्र गतिमा आइरहेको सामाजिक परिवर्तन र आधुनिकताको छालले गल्र्लम गाँजेको छ । पाश्चात्य संगीतले ढोल पिटेको बेला नेपाली लोकसंगीतमा चासो घटदै गएको छ । यही भेलले गर्दा नेपाली लोकसंगीतले आफ्नो मौलिकता बचाउन सकेको छैन । दुरा मगर, गुरुङ समुदायको परम्परागत जीवनशैली संक्रमित हुँदै गएको छ । पाश्चात्य नयाँ झापन र आधुनिकताको जगमा रैथाने जीवनशैली बचाउन जरुरी भएको छ । यहाँको जनसमुदाय र सरकारको चासो बढन जरुरी हुँदै गएको छ । यस्तै प्रकारका परम्परागत जीवन शैली र हाम्रो पाखापखेरामा जन्मेर हुर्केका ठाडोभाका लगायतका लोकगीतका सर्जकहरुको नालीबेलीको संगाालो तयार गरेर लिपिबद्ध बनाउन आवस्यक भइसकेको छ । यो एउटा सानो प्रयास हो । यहाँ प्रसस्त छुटेका छन् तिनलाई समेट्दै लैजान जरुरी छ । यसैको पेरीफेरीमा रहेर सबैले आ—आफुले जानेका प्रतिभाहरुको जीवनी सङ्कलन गरी पठाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
    श्रोत सन्दर्भ
    असन बजार पत्रिका बासुदेव पौडेल .।
    गोकर्णेश्वर अनलाइन १० फागुन २०७८
    लोक संस्कृतिको घेरामा लमजुङ – धर्मराज थापा
    चन्द्र प्रकाश पौडेल — भानु ११ जामुने
    विष्णुहरी पौडेल— भानु ११ हाल कलङुकी काठमाण्डौ

    साभार- देव बस्न्यात