हरेक बाबुआमाको चाहना हुन्छ, आफ्ना बालबच्चाले राम्रो शिक्षादिक्षा प्राप्त गरुन् । भविष्यमा योग्य बनुन् अनि सहज जीवन यापन गर्न समर्थ बनुन् । अझ सचेत अभिभावक त आफ्ना सन्तानले मानव जीवन वा देश र समाजका लागि केही सकारात्मक योगदान दिन सकुन् साथै आफ्नो समेत नाम जोडेर प्रतिष्ठित जीवन बिताउन् भन्ने चाहना समेत राख्दछन् । यो आम मानवीय प्रवृत्ति हो । यसर्थ आफ्ना बालबच्चाको सन्दर्भमा उनीहरू पढ्ने विद्यालय र उनीहरूको सिकाईको स्तर बारे कुनै न कुनै रुपमा सबै अभिभावकहरूको चासो रहने गरेको हुन्छ । यहाँ यही सन्दर्भको सेरोफेरोमा रहेर बालबालिकाको ज्ञान आर्जनसित सम्बन्धित विषयमा थोरै चर्चा गर्ने प्रयत्न गरिएको छ ।
१. भविष्यमा ऊ कस्तो व्यक्ति अर्थात उसको व्यक्तित्व कस्तो बन्छ भन्ने कुरा मूलत: सम्बन्धित बच्चामा रहेको आन्तरिक गुण / क्षमताले निर्धारण गर्दछ । अहिले आएर विज्ञहरू भनिरहेछन् – आमाको गर्भमा रहेको समय देखि नै मानिसको व्यक्तित्व निर्माणको क्रम सुरु हुन्छ । अझ गर्भाधानको समयको आमाबुबाको मानसिक अवस्था र सो समयको परिवेशले उसको भावी जीवनको रुपरेखाको जग बसाउने काम गर्दछ । यसर्थ सबल, सक्षम अनि सकारात्मक सोच सहितको सन्ततिको चाहना परिपूर्तिका लागि यो विषयमा सबैको ध्यान पुग्नु आवश्यक छ ।
२. कुनै पनि बच्चामा सकारात्मक गुण अनि बानी, व्यवहार निर्माणमा उसले जन्म लिएको घरको वातावरणको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि बच्चा आमाबाबु अनि दाजु, दिदीहरूको स्वभाव, सोच र शैलीबाट जन्मको समय देखि नै जोडिएको हुन्छ । बिस्तारै उसलाई आफ्ना परिवारका अग्रजहरूको आनीबानीहरूले प्रभावित पारिरहेका हुन्छन् । स्वभावैले बच्चाहरू जिज्ञासु हुने गर्दछन् । झर्को नमानी हरेक जिज्ञासाको सही र तर्कयुक्त जवाफ दिने गर्दा उनीहरूमा ज्ञान आर्जनको चाहना बढ्नुका साथै शिष्ट अनि सकारात्मक सोचको विकासमा बल पुग्दछ । यसर्थ कुनै पनि योग्य व्यक्ति निर्माणका लागि घरको वातावरण मायालु, सहयोगी, संस्कारयुक्त र सकारात्मक हुनु अनिवार्य छ ।
३. जब बच्चा चार,पाँच वर्षको हुन्छ, ऊ विस्तारै समाजसँग जोडिन पुग्छ । अब उसको व्यक्तित्व निर्माणमा समाजको पनि प्रभाव सुरु हुन्छ । उसले कतिपय समय छिमेकी बालबच्चाहरूसँग बिताउने गर्दछ भने विद्यालयका साथीभाइ पनि उसका साथमा रहन्छन् । उसको भावी जीवनलाई यही बालककालको ऊ हुर्केको सामाजिक वातावरण साथै साथीभाइहरूको बानी व्यवहारले प्रभावित पारिरहेको हुन्छ । हामीले बुझ्नुपर्ने कुरा सुसंस्कृत समाज र असल सङ्गतले आजको बच्चालाई भोलि सुयोग्य नागरिक बनाउन मद्दत गरिरहेको हुन्छ ।
४. जब बच्चा हुर्कदै अनि कक्षा चढ्दै जान्छ उसमा विद्यालयको समग्र वातावरणको प्रभाव परिरहेको हुन्छ । भौतिक रुपमा कक्षाकोठा देखि लिएर विद्यालयको सम्पूर्ण हाता अनि शिक्षक/ शिक्षिकाहरूको व्यक्तित्वको प्रभाव हरेक विद्यार्थीमा परिरहेको हुन्छ । सँगैका साथीहरूको देखासिकी त आम कुरा भैहाल्यो । तसर्थ स्वच्छ र सफा वातावरण अनि हँसिला, लगनशील, सहयोगी साथै विषयवस्तुमा दक्ष शिक्षक/ शिक्षिका नै भोलिका लागि योग्य कर्णधार निर्माणका सारथीहरू हुन् ।
५. सुयोग्य नागरिक निर्माणमा पाठ्यक्रम र पाठ्यपुस्तकको पनि अहम् भूमिका रहेको हुन्छ । तर अहिलेको हाम्रो पाठ्यक्रम समय अनुकूल हुन सकिरहेको छैन । यो परम्परागत छ । अनि छ केवल जागिरे साथै उपभोक्ताबादी मानसिकतालाई प्रश्रय दिने । अब हामीले हाम्रा शैक्षिक विषयवस्तुहरूलाई स्वच्छ जीवनशैली, विकृतिप्रति घृणा, स्वावलम्बी, उत्पादनसँग जोडिदै श्रमप्रति सम्मान अनि जति समस्याहरूसँग जुध्न परे पनि आफ्नै जन्मभूमिको सेवा गर्छु भन्ने भावनाले ओतप्रोत नागरिक निर्माण हुने प्रकृतिको बनाउनु आवश्यक छ ।
६. अहिले अधिकांश आमाबुबाको आफ्ना बाबुनानीहरूलाई बोर्डिङ स्कुलमा पढाउने चाहना रहेको पाइन्छ । तर बच्चाहरुलाई महङ्गा वा संस्थागत ( बोर्डिङ ) विद्यालयमा पढाउँदैमा पढाईको स्तर राम्रो र सामुदायिक ( सरकारी ) विद्यालयमा पढाउँदा पढाईको स्तर कमजोर हुने होइन । उनीहरूले आर्जन गर्ने ज्ञानको स्तर अनि व्यक्तित्व निर्माणमा प्रभाव पार्ने विषय बारे हामीले माथि नै चर्चा गरिसकेका छौँ । यसर्थ हामीमा हाम्रा बाबुनानीहरुलाई सामुदायिक विद्यालयमा नै पढाउने मानसिकताको विकास गर्नु जरुरी छ । बरु सामुदायिक विद्यालय सञ्चालनमा रहेका कमजोरीहरुको पहिचान गरी सुधारको लागि विशेष अभियानको थालनी गरिनु आवश्यक छ ।
७. विद्यार्थीको लागि ज्ञान आर्जन प्रमुख कुरा हो । भाषाका कारण उसको ज्ञान आर्जन गर्न पाउने अधिकारलाई कुण्ठित गरिनु हुँदैन । अङ्ग्रेजी भाषाप्रतिको बढ्दो मोहले अधिकांश विद्यालयहरूले सुरु कक्षादेखि नै यो भाषालाई अनिवार्य गरेको देखिन्छ । कम्तिमा अङ्ग्रेजी विषय बाहेक आधारभूत तहसम्म अङ्ग्रेजी माध्यमलाई अनिवार्य नगरौँ । अझ धेरै अध्ययन र अनुसन्धानहरुबाट के प्रमाणित भएको छ भने अन्य भाषामा भन्दा मातृभाषामा शिक्षा दिँदा वच्चाहरुमा ज्ञान आर्जन गर्ने क्षमता ( सिकाई उपलब्धि ) धेरै बढी हुने गर्दछ ।
८. हामीले हाम्रो शिक्षण विधिमा मात्र पढाइलाई प्राथमिकतामा राख्दै आयौँ । सिकाई कहिल्यै हाम्रो प्राथमिकतामा परेन । अहिलेसम्म हामीले शिक्षकले कक्षाकोठामा गएर ब्याख्यान विधिबाट पढाउने कुरालाई उत्कृष्ट शैली मान्दै आयौँ । अब हामीले प्रविधिको प्रयोगका साथ प्रयोगात्मक अनि विद्यार्थी आँफैमा ज्ञान आर्जनको भोक जागृत गर्दै आँफू नै अनुसन्धानात्मक हिसाबले अध्ययन गर्ने खालको शिक्षण विधि अपनाउनु आवश्यक छ । अझ ससाना बालबालिकाहरूका लागि त खेलकुदका साथ मनोरञ्जनलाई जोड्दै बिना दबाब सिकाई प्रक्रिया अपनाउनु अतिउत्तम विधि मानिन्छ ।
९. नेपालमा पढाइ पछि जागिर सबैजसो व्यक्तिको पहिलो रोजाई हुने गरेको छ । पढाइ पछि नोकरी होइन , आफ्नो मालिक आफैं बनी उत्पादनका काममा संलग्न हुने र श्रमलाई उच्च सम्मान गर्ने भावनाको विकास गरिनु आवश्यक छ । साथै अध्ययन पछि विदेश होइन, जन्मभूमिमा नै रहेर आफ्नो बुद्धि, विवेक अनि क्षमताको सदुपयोग गर्ने मानसिकताको बिकासमा विशेष ध्यान पुर्याउनु अहिलेको अहम् विषय बनेको छ । जसका लागि हाम्रो चिन्तन प्रणालीका साथ शिक्षा नीति र पाठ्यक्रममा आमुल परिवर्तनको आवश्यकता छ । देशको आवश्यकता अनुसारको रोजगारमूलक व्यवसायिक शिक्षा अब हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ ।
१०. हाम्रो लागि गम्भीर बिडम्बना, हामी दुःखी नेपाली जनताले तिरेको करबाट लाखौँ करोडौँको छात्रवृत्तिमा उच्च शिक्षा आर्जन गर्ने अनि सुखसुबिधायुक्त आफ्नो व्यक्तिगत जीवनका लागि सुरुक्क विदेश पलायन हुने लहर नै चलेको छ । यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । प्रथमत: उच्चस्तरको बौद्धिक जनशक्तिमा हाल देखिएको विदेश पलायनको प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी राज्यले विशेष नीति बनाउनु आवश्यक छ । कम्तिमा पनि +2 देखि उच्च शिक्षासम्म कहीँ कतै सरकारी छात्रवृत्तिमा पढेको कुनै पनि व्यक्तिले अनिवार्य रुपमा नेपालमा नै रहनुपर्ने अन्यथा उसले अध्ययनको क्रममा प्राप्त गरेको छात्रवृत्ति रकमको दोब्बर असुल उपर गर्ने गरी नियम बनाउन अब ढिला गर्नु हुँदैन ।
अन्त्यमा, शिक्षा राष्ट्र र जनताको भविष्य निर्माणको मूल आधार हो । यो विषयलाई मनन गर्दै समय सापेक्ष बैज्ञानिक र व्यवहारिक शिक्षा नीति अहिलेको अपरिहार्य आवश्यकता हो । माथि छलफल गरिएका विषयवस्तुमा आधारित रहेर अघि बढ्न सक्दा मात्र पनि पुरा त नभनौँ आधारभूत रुपमा देशको समृद्धिका लागि आवश्यक सुयोग्य नागरिक निर्माणमा सहयोग पुग्न सक्दछ । यसर्थ यी विषयहरूमा अहिले अर्थपूर्ण र सार्थक बहसको आवश्यकता छ ।