बालबालिकाका सन्दर्भमा केही कुरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    बालबालिकाका सन्दर्भमा केही कुरा

    विद्या ढकाल

    ८ चैत्र २०८०, बिहीबार

    कुनै पनि कारणले होस्, बालबालिकालाई हप्काउने वा कुटपिट गर्ने नगरौँ । बालबालिकालाई हप्काउने वा कुटपिट गर्दा उनीहरूमा जिद्दीपन बढ्ने हुन्छ । उनीहरू घमन्डी र अटेरी बन्नसक्छन् ।घरपरिवारसँग घुलमिल हुने भन्दा बाहिरका अनावश्यक मानिसहरूसँग निकट हुने अनि कुलतमा फस्ने सम्भावना धेरै रहन्छ । यसर्थ उनीहरूले नजानेर वा जिज्ञासाबस कुनै गल्ती गरिहालेमा पनि मायालु पारामा मिठो वचनले सम्झाउने, बुझाउने गरौँ । कुनै पनि विषयमा जोरजबरजस्ती नगरौँ । बालबालिकासँगै बस्ने, खेल्ने अनि उनीहरूका जिज्ञासाहरूको मिठासपूर्ण जवाफदिउँ । छोटा, मिठा, सन्देशमूलक कथा, कविताहरू सुनाउने गरौँ । आफूसँग घुमफिर गर्न लैजाउँ । गीत गाउने, नाच्ने, चित्र बनाउने जस्ता कुरामा प्रोत्साहित गरौँ । उनीहरूले गर्ने कुनै पनि कामलाई राम्रो भएन भनी निरुत्साहित नगरौँ । राम्रो छ, अझ राम्रो गर भनी उत्साह थपौँ । सानैदेखि उनीहरूमा घर परिवारका अन्य सदस्यहरूको नक्कल गर्ने बानी हुन्छ । यसर्थ यस बिषयमा विशेष सचेत रहौँ ।

    फाष्ट फुड (चाउचाउ, चाउमिन, कुरमुरे, चीजबल, दालमोठ आदि) बिल्कुल नदिउँ । कोक, फण्टा जस्ता पेय पदार्थ पनि प्रयोग नगरौँ । आफ्नो रूचि र सजिलोका लागि बालबालिकालाई फाष्ट फुड दिँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई धेरै नराम्रो असर गदर्छ । घरमा नै तयार पार्न सकिने जस्तै – खाजामा मकै, भटमास, खट्टे, चना, आँटा आदिको प्रयोग गरौँ । बिहान बेलुका दालभात, हरियो तरकारी, दूध, अण्डाको प्रयोग गरौँ । माछा, मासु भुटेको, तारेको भन्दा ग्रेभी बनाएर दिने/खाने गरौँ । बजारका धेरै फलफूल, तरकारीमा बिषादी मिसाइएको हुन्छ, होसियार बनौँ ।

    आफूले पनि मोबाइलको प्रयोग कम गरौँ । मोबाइलमा खर्च गरिने समय पुस्तक पढ्न, घरायसी काम वा बालबालिकाका लागि दिने गरौँ । बालबालिकालाई मोबाइलबाट टाढै राखौँ । मोबाइलको धेरै प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यलाई नराम्रो असर गदर्छ । बालबालिकामा निराश हुने, झर्किने, टोलाउने, पढ्ने वा अरु काममा कम ध्यान दिने जस्ता समस्याहरू देखिने गर्दछन् ।