भानुभक्तको कुलपूजा र भानु सर्किट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    भानुभक्तको कुलपूजा र भानु सर्किट

    शर्वराज आचार्य

    २९ चैत्र २०८०, बिहीबार

    वि.सं.१८७१ मा तनहुँ चुँदीम्घामा जन्मिएका भानुभक्त आचार्यका बाजेको नाम श्रीकृष्ण आचार्य थियो । भानुभक्तले बताए अनुसार श्रीकृष्ण आचार्य तत्कालीन समयका विद्यामा धुरन्धर विद्वान् थिए । उनी विद्वान् थिए भन्ने कुरा जयराज आचार्यले “भानुभक्त आचार्य हिज लाइफ एन्ड सेलेक्टड पोइम्स” (सन्, २०११ ः ११५—१३५ ) भन्ने कृतिमा उल्लेख भएका श्रीकृष्णका सन्ततिका घरबाट प्राप्त २५० भन्दा बढी हस्त लिखित (लेखोट) कृतिका शीर्षकबाट ज्ञात हुन्छ । आदिकवि भानुभक्तका बाजेको घरमा संस्कृत भाषाका काव्य, कोश, साहित्य, व्याकरण, ज्यौतिष, गणित, तन्त्रशास्त्र, वेद, पुराण, उपपुराण, छन्द, अलङ्कार, काव्यशास्त्र, कर्मकाण्ड, स्मृति, कामशास्त्र, पूजाविधि, माहात्म्य, शतक, नीतिशास्त्र, रामायण आदि विविध विषयका लेखोट रहेको देखिन्छ । यसबाट भानुभक्तले घरैमा उल्लिखित लेखोटहरूको अध्ययन अनुशीलन र पर्यवेक्षण गर्ने अवसर पाएका रहेछन्, भन्ने बुझिन्छ ।

    भानुभक्त आचार्यका बाजेका सन्ततिहरूले बाह्र बाह्र वर्षमा कुलपूजा गर्दै आएका छन् । भनिन्छ, तनहुँका सेन राजाको पालामा भानुभक्तका पुर्खा पाल्पाबाट तनहुँ आएका थिए । इतिहासमा वि.सं.१६१० तिर भृङ्गी सेनलाई तनहुँका पहिलो राजा मानिन्छ । भृङ्गी सेनदेखि नौ जना सेन राजाले तनहुँमा राज्य गरेको देखिन्छ । वि.सं.१८३९ तिर अन्तिम राजा हरकुमारदत्त सेन हुँदा यो राज्य गोरखा राज्यमा गाभियो । तनहुँ गोरखा राज्यमा गाभिँदा भानुभक्तका पुर्खा श्रीकृष्ण आचार्य चुँदीरम्घामा थिए । भानुभक्तका कुन पुर्खा तनहुँ आएका थिए भन्ने यकिन छैन । तर श्रीकृष्णदेखि माथि १० पुस्ताको नाम कुलपूजा दिन सम्झिने चलन छ । पुर्खाहरूमध्ये थोर बहुत जानकारीको इतिहास श्रीकृष्णका पिता अग्नीश्वरोपाध्यादेखि फेला पर्छ । पुर्खा चुुँदीरम्घाबेँसीको पुरन्डिही भन्ने ठाउँमा बस्न थालेपछि यसको पूर्वपट्टिको खोल्सीमा कुल देवता र कुलदेवीको स्थान बनाई पूजा गर्न थालेको विश्वास गरिन्छ ।

    भानुभक्तका बुढा बाजे वा प्रपितामह अग्नीश्वरोपाध्याको अनुमानित जन्म समय १७९० मान्न सकिन्छ । किनभने श्रीकृष्ण आचार्यको जन्म अनुमानित वि.सं.१८१० तिर ठानिएको छ । भानुभक्तका पुर्खाले बाह्र बाह्र वर्षमा कुल देवताको पूजा गर्दै आएको किंवदन्ती सुनिन्छ । वि.संं १९९१ पूर्वसम्म कुलपूजाको लिखित अभिलेख फेला पर्दैन । तर श्रीकृष्ण आचार्य गुठी चुँदीरम्घा तनहुँको कुलपूजा निर्देशिका वि.सं.२०८१ अनुसार वि.सं. हरू १९९१, २००३, २०१५, २०२७, २०३९, २०५१, २०६३ र २०७५ मा कुलपूजा भएका लिखत देखिन्छन् । यसरी भानुभक्त आचार्यको कुलपूजा प्रारम्भदेखि २०७५ सम्म बाह्र बाह्र वर्षमा हुँदै आएको पाइन्छ । तर वि.सं.२०८० माघ २७ गतेका दिन भएको भानुवंश वा श्रीकृष्ण आचार्यका सन्ततिहरूको कुलभेलाले बहुसङ्ख्यक मतका आधारमा आइन्दा छ छ वर्षको अवधिमा कुलपूजा गर्ने निर्णय ग¥यो । सो अनुसार अघिल्लो कुलपूजा गरेको अहिले छ वर्ष भएकाले वि.सं.२०८१ वैशाख ३ गतेका दिन कुलपूजा हुने भएको छ । एकातिर बाह्र बाह्र वर्षको अन्तरालमा कुल देवताको पूजा गर्ने परम्पराबाट यो निर्णय विपथन भएको छ । अर्कातिर यस निर्णयले चुँदीरम्घामा बसोवास गरेका र चुँदी छोडेर देश विदेशका विभिन्न ठाउँमा बसोवास गरेका भानुवंश वा श्रीकृष्ण आचार्यका सन्ततिहरूलाई छ छ वर्षमा भेटघाट र मिलन गराउने प्रण गरेको छ । कुलभेलाको बहुसङ्ख्यक मतले सांस्कृतिक परम्पराको विषयलाई घटाउन वा बढाउन सकिन्छ भन्ने नजिर स्थापित गरेको छ ।

    तर मानवमा एउटा वंश विस्तार गराउने र अर्को यायावरीय जीवन जिउने गुण हुन्छ । यी गुणले इतिहासको आदिम कालदेखि मानव वंशलाई पृथ्वीको विभिन्न कुनामा पु¥याएको छ । यही गुणले भानुभक्तका पुर्खालाई पश्चिमको प्राचीन सपादलक्ष भन्ने राज्यदेखिन् तनहुँ राज्यमा ल्यायो । अर्को किंवदन्ती अनुसार भारतको प्राचीन कन्नौज राज्य हुँदै जुम्ला, दैलेखबाट भानुभक्तका पुर्खालाई पूर्वतर्फको यात्रा गरायो । यस यात्राबाट छरिएका कौण्डिन्य गोत्रका सबै आचार्यको कुलपूजा बाह्र बाह्र वर्षमा मात्र गर्दै आएको देखिन्न । कुलको सहमतिले विभिन्न वर्षका अन्तरालमा कुलपूजा गर्दै आएको पाइन्छ । कौण्डिन्य गोत्रका पूर्वजहरूको यो बाह्र बाह्र बर्से कुलपूजाको अन्तराल कहिलेदेखिन् सुरु भयो, के कसरी अन्तराल घट्दै गयो भन्ने कुरा भानुभक्तीय सांस्कृतिक पक्षमा खोजतलास गर्ने अनुसन्धाताको विषय हो । किन्तु मानवको वंश विस्तारक र यायावरीय गुणले मानव चेतना र उसका संस्कार तथा संस्कृतिमा परिवर्तनको प्रभाव छोड्दै विषय यसमा पनि लागु हुन्छ ।

    चुँदीरम्घमा गरिने कौण्डिन्य गोत्रका श्रीकृष्णका आचार्यका सन्ततिको कुलपूजा सांस्कृतिक पक्षसँग सम्बन्धित छ । हालै यस पक्षसँग सम्बन्धित कुलपूजा व्यवस्थापन निर्देशिका—२०८१ बन्धुहरूबिच प्रसारित भएको छ । यसले भानुभक्तीय कुलपूजाको सांस्कृति पक्षलाई व्यवस्थित गर्ने प्रक्रियाको थालनी गरेको छ । यस बाहेक निर्देशिकाले बन्धुलाई पनि सम्मान र अभिनन्दन गर्ने सिफारिसका खाका कोरेको छ । खाका हेर्दा उमेरले असी काटेका बन्धुलाई अभिनन्दन गर्ने, हितग्राही बन्धुहरूलाई सदस्यताको प्रमाण पत्र प्रदान गर्ने, अक्षयकोषका योगदानदाता व्यक्ति, समूह र संस्था तथा स्नातक र सोभन्दा माथिल्लो उपाधि लिने बन्धुलाई सम्मान प्रदान गर्ने उद्देश्य लिएको देखिन्छ । यसका अतिरिक्त धर्म, दर्शन, भाषा, साहित्य, कला, विज्ञान प्रविधि, राष्ट्रिय अन्तर्राष्ट्रिय विषय र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥यउने बन्धु र गुठीका निम्ति बहुमूल्य सम्पत्ति र मर्यादित उपाधि प्रदान गर्ने व्यक्ति र संस्थालाई सम्मान वा अभिनन्दन गर्ने उद्देश्य पनि राखेको छ । विशेषतः चुँदीरम्घामा हुने यस्तो बन्धु मिलनले पुख्र्यौली आत्मीयताको स्मरण गराएको छ, चुँदीरम्घासँग आत्मीयता गाँसेको छ ।

    योे कुलपूजा केवल श्रीकृष्ण आचार्यका सन्ततिहरूको मात्र नभएर राष्ट्रकै धरोहर हो । किनभने यो भानुभक्तको सांस्कृतिक पक्षसँग जोडिएको विषय हो । जसरी कविको साहित्यिक पक्षको संवर्धन, संरक्षण, अनुसन्धानमा राष्ट्रको योगदान छ, त्यसरी नै भानुभक्तको सांस्कृतिक पक्षको संरक्षण, संवर्धन र अनुसन्धानमा राष्ट्रको योगदानको अपेक्षित छ । यो सांस्कृतिक पक्षतिर सरकारी स्थानीय निकाय, सङ्घीय सरकार र गैरसकारी संस्थाहरूको ध्यान गएको देखिँदैन । चुँदीरम्घामा कुलपूजाका अतिरिक्त भानुभक्तले अपनाएका संस्कृतिहरूको निरन्तरता अद्यापि छ । उल्लिखित निकायको तत्परतामा भानुभक्तका सांस्कृतिक र साहित्यिक पक्षलाई जोडेर के भानु सर्किट बन्न सक्तैन र ? यसरी भानु सर्किट बन्न सक्यो भने साहित्यिक तीर्थस्थल चुँदीरम्घा थप आकर्षणको केन्द्र हुने छ ।

    लेखककाे परिचय
    जन्म र स्थान
    नामः शर्वराज आचार्य
    जन्मस्थान ः चुँदीरम्घा, वडा नं.४, भानु गाउँ विकास समिति, तनहुँ, नेपाल हाल ः वडा ः ४ नगर पालिका ः भानु ।
    हाल बसोवास ः कञ्चन बस्ती, वडा नं. ८, चन्द्रागिरि नगर पालिका, काठमाडौँ ।
    जन्म मिति ः मार्ग २०, वि.सं.२००८ तदनुसार डिसेम्बर ५, सन् १९५१ ।
    ०१–५१६४०३०÷मोबाइल नं ः९८४६०७६०६८ इ—मेल : sharbaraj@gmail.com