आकाशबाट पहाडकी रानी बन्दीपुरलाई नियाल्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    आकाशबाट पहाडकी रानी बन्दीपुरलाई नियाल्दा

    डिपी अधिकारी

    १२ बैशाख २०८१, बिहीबार

    वैशाख १३ चन्द्र आले दाइकाे फाेनले मलाई झस्कायाे , सम्झें, आज त सुन्दर नगरी बन्दिपुरलाई आकाशबाट नियाल्नु छ ! कस्ताे हाेला है ? भूईंबाट नियाल्दा त यस्ताे सुन्दर अप्सरा जस्ती ! काैतुहल जाग्दै थियाे केही मिनेट मै म बन्दिपुरकाे भञ्ज्याङ पुगें, दाईलाइ देखिन फाेन गरें, आउँदै गरेकाे जानकारी पाएँ । मनमा काैतुहलता जाग्दै थियाे , चर्काे घाम अनि मन्द-मन्द हावा , शितल खाेजें नजिकै स्वामीकाे चाैताराे, चाैताराेमा ढुँगा बिच्छ्याईएकाेले पल्टिन मन लाग्याे, याे मेराे पुरानै बानी हाे , केही वर्ष अघि सम्म स्कुल पढाउँदा टिफिन छुट्टीमा यसै पालिकाकाे ५ नम्बर वडाकाे कल्चाेक चाैताराेमा यसरी नै पल्टिन्थें । आहा! चराहरु ! स्वामी पाकेर पहेंलपुर चराहरुलाई रजाईं, उनीहरुकाे आफ्नै भाषामा केके भने कुन्नी म चाहिँ समर्थन जनाउँदै हेरी रहें । नजिकै आहाल खनेकाे पनि देखेँ तर पानी बिनाकाे आहाल ! मनले साेच्याे यी चराचुरुङ्गी लगाएत जीवजन्तूलाई पानी नहुँदा कति समस्या भाछ हाेला है ? मनले नै साेध्याे मनले नै उत्तर दियाे चराचुरुङ्गी त उँडेर भए नि जालान पानी खाेज्न तर जीवजन्तूलाई त सकसै ! उत्तर पूरा नहुँदै माथि थानीमाई तिर डाँडामा डँडेलाेले उजाड बनाएकाे देखियाे मन थाम्न गाह्राे भयाे । किन के उदेश्यले डँडेलाे लगाउँछन मानिस ? पशुपँक्षीकाे जत्ति पनि चेतना छैन हामी मानिसमा । बाेटाेमा देखिहालें चन्द्र आले दाइ र अर्का समन्वय प्रधान भाइलाई , अब भने फेरि मन आकास मै उड्ने तिर गयाे । चन्द्र दाइ साह्रै साहासिक मान्छे , उहाँकाे समाजसेवामा पनि उत्तिकै देन भएकाे मान्छे कति हलुँगाे दाइ उमेरले त ६० कै आसपास हाेला सायद ! किनकि उहाँकाे परिश्रम मिठाे हुन्छ । त्यस्तै अर्का भाइ समन्वय, उहाँले ब्याचलर सम्मकाे पढाइ सकेर प्याराग्लाईडिङबाट पाईलट बनेर आफ्नै गाउँ बन्दिपुर मै भविश्य छ भन्दै दिनरात नभनी काम गर्ने मान्छे , भर्खरकाे युवा अनि हातमा सीप पनि , धेरैकाे दिमागमा विदेश नै आउला तर उहाँकाे मनमा बन्दिपुरलाई पर्यटनको हिसाबले अगाडि बढाउन एउटा ईट्टा भनेनि थप्न चाहने ।

    बिहेका बेहुला- बेहुली सिँगारिय जस्तै उडान गर्ने सामग्रीले सिँगारिन थाल्याैं म अनि मेराे पाईलट समन्वय , हामी टेक ओभरकाे लागि तयार भयाैं मैले पनि आधारभूत कुराहरु जान्नु पर्ने रहेछ , सिकें । एक पटक २/३ स्टेप अगाडि अनि ४/५ स्टेप पछाडि पुगें , अनि प्यारासुट हावाकाे गतिमा उतालियाे अने अनि अगाडि ३/ ४ मिटर टेक ओभर ! जीवन मै पहिलाे चाेटि , खासमा भन्नुपर्दा पिङ खेल्न त डराउने म , हावामा माथि-माथि ! पाईलट अनुभवी भएर हाेकि केहाे हावाकाे बेग सँगै चील जस्तै गरि उड्न पाउँदा मनै आनन्द ! बिच-बिचमा कस्ताे भाछ तपाईंलाई ? मज्जा लाछ ? कति मिठाे साेधाइ पाइलट समन्वकाे ! हजुर साह्रै रमाइलाे भाछ , साेफामा जस्तै ढुक्क सँग बसेर मेराे सुन्दर नगरी बन्दिपुर, मुकुन्देश्वरी , थानीमाई नागबेली सडक , त्याे बन्दिपुर केवलकार , बाख्रा फार्म, रेशमकिरा खेती , स्कुल , खाेलानाला आदि, आदि । साँच्चै बन्दिपुर वरपरकाे विकास हेर्न त एक पटक भएपनि प्याराग्लाईडिङ चढ्नै पर्ने रैछ ! करिब २० मिनेटकाे यात्रा पछि सेराटार फूटबल ग्राउन्डमा ल्याण्ड गर्याैं । अनुभूति साटासाट गर्याै ।