प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्की र तनहुँको लगातार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्की र तनहुँको लगातार जित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् भने म्याग्दी र बागलुङले लगातार हार व्यहोरेका छन् ।

    पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा खेलको अन्तिम दुई बल बाँकी रहँदा तनहुँले जित निकालेको हो ।

    पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो । कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच समेत रहेका कृष्णले ३ं.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । म्याग्दीको पारीमा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो ।

    कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए ।

    यता कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुंवर भने सून्य रनमा आउट भए । तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए । कास्की सिव्रीन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु भने १ रनमा पेभिलिएन फर्किएका थिए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।

    यता दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई पारीको सुरुवात गर्न निम्तो दियो । बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२३ रन बनायो । बागलुङको पारी सुरुवातमा नै दवावमा पर्यो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार सून्यमा आउट भएका थिए । तेस्रो क्रममा बागलुङका लागि पारी सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदिप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिंदा विवेक नेपालीले १७ रन जोडे ।

    तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए ।

    यता तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्यो । खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो । उपहारको रुपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने व्याट्सम्यानहरुले खेलमा १ सय रन जोडेका थिए । खेलमा म्यान अफ दि म्याच समेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए भने सदित्य वञ्जाराले १९ र समिर कंडेलले १५ रन मात्रै जोडे । तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्डहर्ट हुँदै पेभिलिएन फर्किएका थिए । इशानले ३ रन मात्रै जोडे । बागलुङका लागि अश्विन थापाले २ विकेट लिए ।

    यो जित संगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतिक्षामा छन् । आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ ।

    दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

    यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।