१, विषय प्रवेश
पुतलीबजार तनहुँ जिल्लाको मिर्लुङ्ग महाभारत पर्वत श्रृङखलाका उत्तरी ढलानमा पर्ने रमणीय स्थल हो । पृथ्वी राजमार्ग नखुल्दा सम्म काठमाण्डौ पोखरा जुम्ला हुम्ला पुग्ने प्रमुख हुलाकी मार्ग र डुम्रे भन्सार चन्द्रावती ज्यामरुक वयापानी भोटेवडार वेसीशहर, खुदीबजार हुँदै अन्नपूर्णा जाने उत्तरदक्षिणको पर्यटन एवं हुलाकीमार्गको केन्द्रविन्दु पनि हो । २०२५ सालमै कुन्छाबजार सम्म मोटरबाटो पुगेको देखेकी पुतलीबजार मुसुक्क मुस्काएकी थिई । पुतलीबजारको सपना अधुरो नै रह्यो । अहिले सम्म बाटो पिच हुन सकेन । माछोमाछो भ्यागुतो भयो । पृथ्वी राजार्गले आफ्नो परिवर्तन ग¥यो । इतिहास सम्झंदा पुतली बजार सम्झिंदा गौरव लाग्छ तर वर्तमान समझिंदा मन कुंडिन्छ । आजभन्दा ४० वर्ष अगाडि सम्म चन्द्रावती देखि ज्यामरुक वयापानी सम्मको ठाडो उकालो र वयापानी देखि मानेचौका सम्मको चुँदी खोला र पाउँदीखोलाका जङ्गार,गाउँबस्ती र जङ्गल छिचौल्दै गरिने ओरालोमय सकसपूर्ण यात्रापार गरेर विश्राम गरिने स्थल पुतलीबजार हो । यहाँ नपुग्दा सम्म कहिले पुतलीबजार पुगिएला भनेर मन आत्तिने गर्दछ तर यहाँ पुगि सके पछि रमाइरहन मन लाग्दछ । पुतलीबजारका तस्वीर देख्दा दमौलीबाट पुतली झैं उडेर सबैलाई पुतलीबजार सम्म जाउँ÷जाउँ झैं लाग्दछ । मनमा पुतलीजारको नाम आउना साथ दमौली बस्न न लाग्दैन । त्यही भएर श्री ३ महाराज जङ्गबहादुर राणा आफु राजा भएको लमजुङ र कास्कीका क्षेत्रको भ्रमण गर्दा साँझमा पुगेका स्थान लमजुङ जिल्लाको सदरमुकाम कुन्छा भञ्ज्याङलाई यो भन्दा राम्रो कुन छ ? भनेर सोधिएको प्रश्नबाट कुन्छा नाम रहेको र सोही कुन्छा बजारको काखमा रहेको रुपको डाँडो साविक रुपाकोट गाउँपालिका हाल भानु नगरपालिका वडा नं.११ टुहुरेपसल अवस्थित भूगोल पुतली जस्तै देखियो । पुतली बजार पुतली जस्तै देखिएकी थिई । पुतलीबजार पुतली जस्तै फुरफूर गरेर नाचे जस्तै देखियो । श्री ३ जङ्गबहादुर राणाले आफ्रनै प्रियरानी पुतलीको नामबाट पुतली जस्तै रहिछे भनेर नजिकको बजारको नाम पनि पुतलीबजार राखी दिएका हुन भन्ने किंवदन्ती सुनिन्छ । रुपको डाँडामा प्रसस्त फूलको बगैंचा र प्रसस्त पुतलीहरु झुम्दथे । प्रसस्त पुतलीहरु घुमफिर गर्ने भएकाले पनि यस ठाउँलाई पुतली बजार भनिएको हो । यसै गरी ठाडोभाका गीतका सर्जक देउबहादुर दुरासङ्ग ठाडोभाका दोहोरी गीत गाउने पुतली खत्री , पुतली सर्किनी , पुतली दुराहरुले ठाडोभाका गीतको कर्मभूमि हुनाले यस क्षेत्रकोे नाम रहेको हो भन्ने पनि गर्दछन् ।
(२) हाम्रा नजरका पुतलीहरु
हाम्रा नजरमा सजिव र निर्जिव गरेर दुइ किसिमका पुतलीहरु पाइएका छन । जस्तै
(क) प्राकृतिक ( जीव ) पुतली
पुतलीहरु सन्सारको हरेक भूभागमा पाइन्छन । यस विश्वमा लगभग ८ हजार प्रकारका पुतली भेटिएका छन् । जसमध्ये नेपालमा मात्रै ६६९ भन्दा बढी प्रजातिका पुतलीहरु भेटिएका छन् । नेपालको भूगोल अनुसार किसिमि किसमका पुतलीहरु पाइन्छन । पुतली लार्भाबाट विकसित भएर बन्ने गर्दछ । शरीरको मूलभाग भन्दा ठूलापखेटा हुने हजारौ किराहरु मध्येमा एक पुतली पनि पर्दछ । ति मध्येमा पनि जीव पुतलीहरु दुइ प्रकारका हुने गर्दछन् । दिनमा उड्ने पुतलीलाई दिनचर र राती डुली हिंड्ने पुतलीलाई निशाचर भनिन्छ । दिनमा विचरण गर्ने पुतलीहरु भन्दा रातमा उड्ने पुतलीहरु खतरनाक हुने गर्दछन् । भानु न.पा. रुपाकोट स्थित पुतलीबजार हिमाल पहाड र तराईको संगम स्थल पनि हो । प्रकृतिको इकोसिस्टम राख्न पुतलीले हामीलाई मद्धत गर्दछ । पुतली प्रकृतिको सुन्दर सृजना हो । रमणीय वागवानीमा फुरफुर उडेका पुतलीहरु देख्दा मन्का पीरहरु दुर भएर मन्मा उत्साह जागेर आउने गर्दछ भने अर्कोतर्फ पुतलीको सौन्दर्यले मानिसलाई मनोबैज्ञानिक उपचार गर्नमा सहयोेग पनि पुग्दछ । पुतली एक फूलबाट अर्को फूलमा सरी हिंड्दा फूलमा परागसेचन हुन जाँदा हाम्रा कृषि उत्पादन बढाउन सहयोग पुगेका पाउँदछौं । पुतली बजारमा वागवानी बनाएर रङ्गविरङ्गका पुतली राखेर पुतलीबजारलाई नाम अनुसारको बटरफ्लाई प्लानेटरियम बनाउन सकिन्छ । बढदो वन विनाश र औद्यगिककरणले पुतलीको बासस्थान नासिंदैं गएका छन् । पुतलीको संरक्षणको लागि जनचेतना जगाउन जरुरी छ । युनाइटेड मिसन मार्फत नेपालको गोरखा जिल्ला सह्रहद आँपपिपल छिरेका ब्रिटिस नागरिक कोलेन स्मिथ ( पुतलीबाजे ) रङ्गीविरङ्गी पुतलीको बसोबास भएको स्थल खोज्दै तनहुँको पुतलीबजार सहित नेपालका धेरै जिल्लाहरुमा पुतलीबाजे घुमेका छन् ।
( ख) कृत्रिम(निर्जिव) पुतली
नेपाली शव्दकोष अनुसार काठ,, धातु कपडा लगायत बाट बनाइएका मानिस , पशुपंक्षी आदिको आकारमा बनाइएका खेलौना तथा डमीलाई पुतली भन्ने गरिन्छ । यसै गरी हरेक प्राणीकोआँखाको बीच भागमा हुने कालोभाग, आँखाका नानी , घरको धुरी राख्न नमस्ते आकारामा बनाइएको गारो , खेतबारीमा रखबारी होस भनेर मानव तथा पशुपंक्षी आकारमा बनाएका ख्याँचा तथा तर्साउनेहरुलाई पनि पुतली भनिन्छ । भावार्थ बुझाउनेमा पुतलीकट जुङ्गा , पुतली गारो, पुतली गारोमा राखिने पुतलीझ्याल, , टालाटुली पुतली बिहे , पुतली बुट्टा र मानिसका पहिचान झल्कने राशी तथा बोलाउने नाम पनि पुतली आउने गर्दछ । जङ्गबहादुर राणाका श्रीमती मध्ये एक जना रानीको सुसारेको नाम नै पुतली रहेको थियो ।
३) तनहुँ भानु ११ स्थित पुतली बजारको भूगोल ?
भौगलिक हिसावले पुतली बजार २८ —७’—२८” पूर्विदेशान्तर र ८४—२४’—७” उत्तरीअक्षाँश र राजनैत्तिक सिमानका हिसावले पुतलीबजार अहिले गण्डकी प्रदेश तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. ११ टुहुरेपसल नजिकै पर्दछ । लमजुङ र तनहुँ जिल्लाको सिमानामा पर्ने भएकाले पुतली बजारमा तनहुँ लमजुङ र गोरखाका भक्तहरु यहाँ धर्म प्राप्तिका खातिर आउने गर्दछन । काठमाण्डौ, त्रिशुली, धादिङ आरुघाट, गोरखा, तार्कुघाट,पुतलीबजार, कुन्छा, शिःसाघाट,पोखरा देखि पश्चिम जुम्ला—हुुुम्ला सम्मका हुलाकी चिठीपत्रका थैलोहरु हुलाकीहरुले तनहुँ जिल्लाको यही भानु न.पा.११ रुपाकोट पुतलीबजार पार भरेर हुलाकीहरु हुलाक बोकेर काठमाण्डौ देखि हुम्ला जुम्ला सम्म आउजाउ गर्दथे । पूर्वपश्चिमको मध्यपहाडी हुलाकीमार्गका बटुवाहरु र तीर्थयात्रीहरु आइजाई गर्ने मार्ग पनि भएकोले सबैको सुविधा पुगोस भनेर साविक चोकचिसापानी हाल भानु १० निवासी नेपाल एकीकरण अभियानका कमाण्डर बाघ अम्मरसिंह थापाले काठमाण्डौ देखि तेलिया इट्टा मगाएर यहाँ पौवा र कृपेश्वर महादेव मन्दिर बनाएका थिए ।
वि.सं २०२८ सम्म कुन्छामा लमजुङ जिल्लाको सदरमुकाम रहेको थियो । वि.सं. २०२८ साल सम्म लमजुङ जिल्लाको सदरमुाम रहेको कुन्छाबजार तनहुँको बन्दिपुर पछिको गण्डकी प्रदेशको प्रमुख व्यवसायीक केन्द्र थियो । लमजुङ जिल्लाको पुरानो सदरमुकाम कुन्छाबजार नजिकै रहेको कारण पनि पुतली बजारको शान अर्कै थियो । काठमाण्डौ देखि हुम्ला जुम्ला सम्मको डाँक ओसारपसार गर्ने पैदली हुलाक मार्ग र मनाङ देखि चितवन आउने जाने उत्तरी दक्षिण पैदलमार्ग एवं अन्नपूर्ण पर्यटन पैदलमार्ग भएकाले पनि पुतलीबजार निक्कै फूर्तिफार्तिको बजार देखिन्थ्यो । कास्की, तनहुँ मनाङ लमजुङ र गोरखा जिल्ला समेतको केन्द्र रहेको पुतलीबजारमा भारतीय तथा बृटिस—गोरखा सेनामा लाउरे हुन आउने लायक ठिटाहरुलाई गल्लाहरुले छानेर गोरखपुर लैजाने गर्दथे । जनरल अमरसिंह थापाले बनाइदिएको पौवाको एक कोठामा मुस्ताङ देखि थकाल्नी मैयाँहरु र मनाङ देखि गुरुङ्गसे नानीहरु आएर कृषिउपज , हस्तकला, हातहतियार, कृषि उपकरण तथा जडिवुटीको व्यापार व्यवसाय गर्दथे । मनाङ देखि भारत सम्म र मेची देखि महाकाली सम्म हुलाक ओसारपसार गर्ने केन्द्रविन्दु भएकाले पनि यहाँ आकासवाणी (आ.वा.) वुथ रहेको थियो । अम्मरसिंह थापाले बनाएको पौवा अहिले भत्केर खण्डहर बन्न पुगेको छ । ……………..त्यही बेला देखि तनहुँ र लमजुङको सिमानामा रहेको पुतलीबजारले आफुलाई एक चर्चित स्थानको रुपमा उभ्याउँदै आएको कुरा नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र भानु नगरपालिका तनहुँका निवर्तमान नगरप्रमुख उदयराज गौलीले हामीलाई प्रत्यक्ष वार्तामा बताउनु भएको थियो । रमझमको पुतलीबजार अहिले सुस्ताए पनि नाउँदी र पाउँदी खोलापारी लमजुङ जिल्लामा रहेको सुन्दरबजार नगरपालिकाको सदरमुकाम रहेको सुन्दरबजारको शान भने ह्वात्तै बढेको छ ।
४ ) कृपेश्वर महादेव मन्दिर र पुतली बजारको महत्व
सतीदेवीको मरणोपरान्त शिवजी सतीको लाश बोकेर पृथ्वीका यत्रतत्र डुल्दै हिंडे । यसरी भौतरीएका शिवजीलाई सही मार्गमा ल्याउन विष्णुले सतीको शरीर गलाइ पतन हुँदै जाँदै सतीको शरीर आफु संङ्ग नभएको महसुस गरे पछि तपस्यमा लीन हुनु भयो । पर्वतराज हिमाल र मेनकाको छोरी भइ जन्मेकी सतीदेवी नामकी पार्वतीले शिव पति पाउँ भनी मनकामना गरेर तपस्या गरी रहेकी थिइन । जुन रात शिव र पार्वती बाँधिदै थिए त्यही रात पर्वतराज हिमालले छोरी पार्वतीलाई यही रुपको डाँडो रुपाकोट स्थित पुतलीबजारमा विवाह मण्डप बनाएर शिवपार्वतीको विवाह आयोजना गरेका थिए । शिव पार्वतीको विवाहमा नन्दी, भृङ्गि, सुर, असुर, ऋृषि, महर्षि , ब्रह्मा विष्णु, महेश्वर लगायत तेत्तिसकोटी देवीदेवताहरु वारातमा उपस्थित भएका थिए । शिव पार्वतीका विवाह भइरहँदा शिवजीका गणहरु भूत प्रेत,पिशाच आदिले शिव पार्वतीको विवाहमा नाचेर शोभा बढाइ रहेका थिए । विवाह कार्यसम्पन्न भए पछि मात्र पर्वतराज हिमालय र मेनकाले छोरीे अन्माइ दिएका हुन । शृष्टिकर्ता र संहारकर्ताका देवादिदेव महादेव शिवजीबाट हरेक जीवलाई शिवमय गर्ने पर्वको रुपमा यो हर्षाेल्लासका साथ शिवरात्री पर्व मनाउने गरिन्छ । शिवरात्रीको समयमा सच्चा मन र कर्मले कृपेश्वर महादेवको स्मरण र पूजा आरधना गरेमा मात्र पनि भक्तहरुको मनोकामना पुरा हुने भएकाले यस पर्वको विशेष महत्व रहेको छ । तनहुँको रुपाकोट स्थित पुतलीबजार महान पवित्र तीर्थस्थल भएकाले भक्तहरुको अपार भीड लाग्ने गर्दछ । शिवरात्रीका पर्वका दिन भगवान शिवजीका आरधना गर्नाले अविवाहित कन्याहरुले इच्छानुसारको पति प्राप्त गर्ने गृहस्थी जीवन बिताइ रहेका महिलाहरुले सुख सम्बृद्धि सहित ऐश्वर्य प्राप्त गर्ने जनविश्वास रहेको छ । त्यसैले कृपेश्वर महादेवको कृपा प्राप्त गर्न ठाडो बत्ती बाल्ने महिला एवं पुरुषहरुको अपारभिड लाग्ने गर्दथ्यो र अहिले पनि लाग्ने गर्दछ । गाउँका मानिसहरु बसाइ सरी शहर केन्द्रित हुन थाले पछि अहिले पुतलीबजारमा बत्ती बाल्नेहरुको संख्या अलि कम हुन पुगेको मात्र हो । धार्मिक एवं सांस्कृतिक तीर्थस्थल पुतलीबजारको नजिकैमा नाउँदी र पाउँदी नाम गरेका खोलाहरुको बेनी रहेको छ । यही वेनीमा स्नान गरेर भक्तहरु कृपेश्वर महादेवलाई नाउँदी पाउँदीको जल, कामुधेनु गाईको दूध र वेलपत्र चढाउने गर्दछन् ।
। खण्डहर भएको कृपेश्वर महादेव मन्दिरलाई लमजुङ पुरकाङका भूमिनन्द सेढाई, नारायणदत्त सेढाई , काशीदत्त सेढाइ र कुन्छा बजारका रत्नबहादुर श्रेष्ठले भिन्न भिन्न समयमा मर्मत गरि दिएर यहाँको गरिमालाई जोगाइ राख्ने गरेको प्रयत्न सह्रानीय मान्नु पर्ने कुरा साविक भानु ११ तामाकोट हाल मैत्रीनगर कलङकी काठमाण्डौ निवासी श्रीकृपेश्वर महादेव मन्दिरका पुजारी ठाकुरप्रसाद पौडेलका छोरा श्री विष्णुहरि पौडेलले हामीलाई बताउनु भयो
(४) कृपेश्वर महादेव मन्दिर र यस्को पूजा व्यवस्थापन
बुझ्दै जाँदा ठाडोभाका र देउबहादुर दुरा कर्पुटारको इशानेश्वर महादेव मन्दिर जति पुरानो छ त्यति नै पुतली बजारको कृपेश्वर महादेव मन्दिर पनि पुरानो रहेको छ । लमजुङ जिल्ला पुरकाङ्ग गाउँका नारायणदत्त सेढाई र काशीदत्त सेढाई दाजुभाईले र तत्पश्चात नीजकै वंशज भूमिनन्द सेढाईले वि.सं.१९७७ मा यस मन्दिरको जिर्णोद्वार गरिदिनु भएको थियो । त्यो बेला खेतको आयस्ताबाट मन्दिरको सेवा पुगोस भन्ने ध्येय रहेका भक्तहरु भेटिन्थे । कसैले सरकारी गुठीका मार्फत र कसैले निजी गुठीका मार्पmत जग्गा दान गर्दथे । यही हारमा लमजुङ पुर्काङका भूमिनन्द बाजे पनि एक थिए । उहाँले नै यस मन्दिरको पूजा व्यवस्थापनको लागि सांँढे एक मुरी धान फल्ने पिरहा गैरी खेत र ८ मुरी धान फल्ने नाउँदी खोलापारी लमजुङ जिल्लातर्फको बगरखेत निजी गुठी राखिदिनु भएको थियो । मन्दिरमा सेवा गर्ने मन्दिरका पुजारीले त्यही खेतबाट उत्पादन हुने अनाजबाट महादेव मन्दिरमा चढाउने अक्षता प्रयोग गरेको कुरा अवकाश प्राप्त सहकारी रजिष्टार विष्णुहरि पौडेलले हामी सङ्गको साक्षात्कारमा बताउनु भएको थियो । यसका अतिरिक्त खेतबाट उत्पादन हुने अनाजबाट परदेशी यात्रु र निसहायहरुकालागि भोगसेवा व्यवस्था हुने गर्दथ्यो । मन्दिरमा चढाइने गरगहना ,पूजा गर्ने चढाइएका सरसामानको आयस्ताबाट कृपेश्वर महादेव तथा शिवलिङ्गमा तेलघस्ने नुहाउने पूजा गर्ने चन्दन नैवेद्य आदिको व्वस्थापन हुने गर्दथ्यो । वि.सं.२०२९ सालमा नाउदी खोलामा आएको भिषण बाढीले बगरखेत बगाएर क्षत विक्षत बनाएको छ । कृपेश्वर महादेव मन्दिर कर्पुटारको जति कै पुरानो मानिन्छ । वि.सं.२०१९ साल देखि वि.सं. २०२९ साल सम्म भानु ११ निवासी ठाकुरप्रसाद पौडेलले यस मन्दिरको प्रमुख पुजारी पदमा रही कामकाज गर्नु भएको थियो । यो शिवमन्दिरमा शिवरात्री र फागुपूर्णिमाको समयमा मेला लाग्ने गर्दछ । यही मेलाको अवसरमा स्थानीयहरुले आफुले उत्पादन गरेका बांँस तथा वेतबाट बनेका नाङ्लो, डोको, मान्द्रो, भकारी, काठबाट बनेका ठेकी, मदानी, माटाका भाँडाकुँडा, फलामका हंसिया, कोदालो, फाली, खुकुरी लगायतका घरेलु हातहतियारहरु, वदाम, उखु, सखरखण्ड लगायत कन्दमुलहरुको क्रयविक्रय हुने गर्दथ्यो । धर्मात्माहरु ठाडो दियो बालेर रातभर जाग्राम बस्ने गर्दथे , तन्देरी तरुनीहरु रातभर ठाडोभाका लगायतका झ्याउरे लोकगीतहरु गाउने÷नाच्ने र बिहानी पख ठेलो हान्ने , ठेलोमा प्रथम, दोश्रा र तेश्रा हुने विजेताहरुलाई पैसाको फूलको माला लगाएर महादेव मन्दिर घुमाएर रमाइलो गर्ने परम्परा रहेको थियो । एकपटक ठाडोभाका गीतका गायक शिःसाघाटका देखमान दुरा ठेलोमा प्रथम भएर विजेता बनेका थिए । ठाडोभाका गीतको जन्म कर्पुटारमा भएको भएता पनि यस्को उर्वरथलो भने पुतलीबजार हो भन्दा कुनै अत्युक्ति पर्दैन । पुतली बजारका मेला भर्नेहरुमा लमजुङका , दुराडाँडा, कुन्छा, थानसिङ बाङ्गे्र, तुर्लुङकोट , बेसीशहर, उदिपु, भोटेवडार, सुन्दरवजार, नेटा, तार्कुघाट, राइनास मोहरिया, तनहुँका चोक चिसापानी ,रुपाकोटको घलेगाउँ, मिर्लुङ , सतिस्वारा, क्यामिन, बाहुनपोखरा, रुसेपानी , पुलीम¥याङ, शिःसाघाट , कास्कीका पोल्याङ र रुपाकोट गाउँपालिका बासिन्दाहरु नै हुन् ।
(५) ठाडोभाका लोकगीतको चारधाम मध्येको एक पवित्र धाम
जसरी ठाडोभाका लोकगीतको जन्मदातको श्रेय देउबहादुर दुरामा जान्छ त्यसरी नै ठाडोभाका लोकगीत फक्राउने र फलाउने श्रेय पुतलीबजारलाई जाने गर्दछ । ठाडोभाका लोकगीतका स्वरसम्राट भेडिखर्के साइलाको गीत फुर्ने र फुराउने करेसीबारी नै पुतलीबजार हो ।
तिनै लोकगायक गायिकाहरुले आफ्ना प्रतिभा झल्काउने पवित्रधामहरु भनेकै तनहुँ लमजुङका सरह्रद भीत्रका कर्पुटार , कुन्छा, पुतलीबजार ,मिर्लुङ्ग पोखरीछाप र शिःसाघाट हुन । गण्डकी प्रदेशकै ठाडोभाका लोकसंस्कृतिको चारधाम मध्ये एक धाम मानिने पुतलीबजारमा धर्मशाला, घरबास ( हामेस्टे ), होटल तथा रेष्टुरेण्टहरुको सुविधा हुन जरुरी देखिन्छ । बास्तवमा पुतलीबजार तनहुँ र लमजुङकै धार्मिक एवं सांस्कृतिक पर्यटनको गन्तव्य स्थल बनाउन हामी सबैको साथ र सहयोगको जरुरी छ ।
(६) देउबहादुर दुराको मरणोपरान्त कर्पुटार र पुतलीबजार
ठाडोभाका लोकगीतका सर्जक देउबहादुरलाई नराम्रो रोगले समायो । गाउँघरको झारफू्रक र जडीबुटीले दुराको रोगको उपचार हुने छाँटकाँट नै देखिएन । वि.सं.१९४७ फागुन ८ गते जन्मेका देउबहादुर दुरालाई रोगले कालको मुखमा नै पु¥याईदियो । त्यही रोगका कारणः अन्दाजी ४७÷४८ वर्षकै उमेर देउबहादुर दुरामाथि ठूलो बज्रपात भयो । सम्भवत वि.सं १९९४÷१९९८ को बीचमा उहाँले मृत्यवरण गरे पछि ठाडोभाका लोकगीतको फाँटमा निराशाको वातावरण छाउन पुग्यो । दुइपात लाग्दै गरेको ठाडोभाका लोकगीतका पारखीहरुमा निराशा छाउन पुग्यो । पञ्चसुब्बा गुरुङ , पञ्चे दुरा, पेचेरदुराहरु रानो बिनाको माहुरी जस्तै बने । देउबहादुर दुराको मरणोपरान्त कोही कसैले कर्पुटार बजारको मेला भर्न जाने हिम्मते गरेनन् । अन्नत ः कर्पुटारबजार साँच्चैको सयबाट सुन्यमा परिणत भयो । मनिराम दुरा र भक्तिनी दुरुनीले देउबहादुरको अभावतालाई मल्हमपट्टी गर्न सकेनन । कर्पुटारको बजार जम्न नसकेपछि ठाडोभाका गीतका अनुयायीहरुको मल्हम पट्टी गर्ने स्थान पुतलीबजार बन्यो । केही हदसम्म देउबहादुर दुराको अभावलाई पुतली बजारले मेट्ने प्रयत्न ग¥यो । ठाडोभाकाका गिताङ्गेहरु तत्कालीन तनहुँको रुपाकोट गाउँपालिकाको टुहुरेपसल स्थित पुतलीवजारमा जमघट भएर देउबहादुर दुरा प्रति ठाडोभाका गीतकै लयमा श्रद्धान्जली व्यक्त गरेका थिए । त्यो वर्ष पिडावोधले भरिएका गीतहरु पुतलीबजार भरी गुञ्जिए । देउबहादुर दुराको अभाव नखड्कियोस भनेर यथासक्य प्रयत्न गरियो । सबै प्रयत्नहरुले मूर्तरुप पाउन सकेनन् । जता सुकै यस्तै यस्तै विरहका गीतहरु मात्र सुन्न पाइन्थ्यो । जस्तै
कुनदिन म¥यो देउबहादुर दुरा सुन्य भयो कर्पुटार बजार ।
देउबहादुरको अभावलाई बिर्सन नसकेता पनि कर्पुटारको विकल्प पुतलीबजार हो भन्ने सन्देश भने पुतलीबजारले दिएकै हो । ठाडोभाका लोकगीतका स्वरसम्राट भेडीखर्के साइला र संरक्षक डा.देवी गुरुङले ठाडोभाका लोकगीत संरक्षण र सम्वर्धनमा पुतली बजारलाई आफ्नो कर्मथलो बनाएका थिए । त्यही भएर पुतलीबजारले आफुलाई कर्पुटार भन्दा अव्वल दर्जामा उभ्याउन सफल भएका थियो । गीतको बोल यस्ता रहेको थियो
के छ र ? मायाँ करापुटार , छ न पो छ पुतलीबजार ।
अन्ततः पहिलो वर्षको फागुपूर्णिमा बजार देउबहादुर दुराको समवेदना र सहानुभूति दिने थलोको रुपमा रुपान्तरण हुन पुगेको थियो पुतलीबजार ।
(७) साख गुमेको पुतलीबजार
वि.सं.२०२५ सालमै पोखराबाट कुन्छाबजार सम्म मोटरबाटो खनेर गाडी पु¥याउने काम भएकै हो । त्यही बेला मोटरको दर्शन गरेका कुन्छालीहरुमा ठूलो उत्साह र उमङ्ग छाएको थियो । लमजुङ जिल्लाको पुरानो सदरमुकाम कुन्छाबजारमा रहंदा सम्म पुतलीबजारको गरिमा उच्च थियो । वि.सं. २०२५ सालमै नौविसे देखि पोखरा सम्म जाने १८० किलोमिटरको पृथ्वीराजमार्ग नौविसे गल्छी, गजुरी, मलेखु , धादिङ, सल्यानटार आरुघाट, गोरखा, पालुङटार, तार्कुघाट कुन्छा शिःसाघाट, सातमुहाने हुदै पोखरा जान लागेको पृथ्वीराजमार्गको सडक खण्ड नौविसे, गल्छी, गजुरी मलेखु, कुरिनटार मुग्लिङ ,आँबुखैरेनी, डुम्रे ,दमौली, थर्पु , खैरेनीटार ,कोत्रे हुँदै पोखरा पुगे पछि तार्कुघाट , पुतलीबजार कुन्छा , शिःसाघाट पोखरा हुँदै हुम्ला जुम्ला पुगिने परम्परागत पैदली हुलाकी मार्ग ओझेलमा पर्न गएको हो । विधिको बिडम्वना वि.सं.२०२८ सालमा लमजुङ जिल्लाको सदरमुकाम पनि कुन्छा बजारबाट बेसीशहर सरेपछि अर्को ठूलो बजपात भ्रयो । कुन्छालाई माया गर्ने कोही भएनन् । कुन्छाबजार नितान्त टुहुरो बन्यो । त्यही बेला देखि कुन्छाको सहेली सहोदर बैनी पुतलीबजारको हाउभाउ पनि ह्वात्तै खस्कंदै गएको हो । सुविधाकै खातिर साविकको बसाइलाई बिटमार्दै सुगम स्थानमा घरघडेरी किनेर बसाइ सर्न जाने मानवीय स्वभाव नै हो । यही मनोवृतिका कारण गाउँका वासिन्दा सुविधायुक्त शहरहरुमा बसाइ सरे पछि नै पैदल यात्राको कष्ट लाई बिट मार्दै मानिसहरु नीजि तथा सार्वजनिक सवारी यात्रामा अभ्यस्त भए पछि दुर्गम बन्न पुगेको पुतलीबजार आसपासका वासिन्दाहरु साविकको थातथलो त्याग गरेर सुविधा खोज्दै गाउँबाट बेसी र बेसीबाट शहर तर्फ बसाई केन्द्रित गर्न थालेका हुन । जस्काकारण गाउँका खेतवारीहरु बाँझो रहने र घरकटेराहरु पनि थोत्रिंदै गएकाले पुतलीबजार क्रमस खण्डहर बन्न पुगेको हो । हुन त वि.सं.२०४० देखि पृथ्वीराजमार्गको डुम्रेबजार देखि बेसीशहर खण्ड जाने डुम्रे—बेशीशहर मोटरमार्ग यही बाटो भएर गएका कारण अहिले भानु न.पा.वडा नं.९ को अर्चलधाराबाट पुतलीबजार सम्म कच्ची मोटरबाटोको ट्रयाक खुलेको छ । हिउँदको महिनाहरुमा कच्ची मार्गबाट पुतलीबजार सम्म जान सहज भएता पनि बर्षाको समयमा आवत जावत गर्न बहुतै कठिनाइ पर्दछ । साविक रुपाकोटको हाल भानु न.पा. वडा १० र ११ क्षेत्रको मानेचौका पुतलीबजार सोतीपसल जाने तनहुँ ( रिङ्गरोड) घुम्तीमार्ग कालोपत्र त के कुरा ग्राभेलिङ पनि हुन सकिरहेको छैन । पारी तर्फको लमजुङको सुन्दरबजार हुँदै कुन्छासम्म पुग्ने पिचबाटो पुग्दा पनि व्यास ८ रिस्ती तनहुँ निवासी पूर्व स्थानीय विकास तथा गृहमन्त्री भइसकेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व वनमन्त्री तथा वर्तमान सांसद शंकर भण्डारी, मानेचौका निवासी पूर्वगृहमन्त्री गोविन्दराज जोशी, रुपाकोटकै पूर्व प्रदेश साँसद रामबहादुर गुरुङ, ने.का.सभापती रघुनाथ पौडेल, भानु नगरपालिकार्को िनवर्तमान मेयर उदयराज गौली समेत यही भेकका हुँदा पनि यस क्षेत्रले अहिले सम्म पनि विकासको अनुभुति पाउन सकेन । चारैतिर बाट पेलिएका रुपाकोटे र कुन्छालीहरुले आजसम्म चित्त बुझाउनाले सडक पिचको कुरा त परै जाओस पाउँदी देखि कुन्छा हुँदै सोतीपसल सम्म जाने स्तरयुक्त धुलेसडक पनि बन्न र बनाउन सकेनन् । यसरी तनहुँ जिल्ला घेर्ने चक्रपथ ( घुम्ती रोड ) अहिले सम्म पिच हुन नसक्नाले तनहुँ जिल्लावासीलाई लज्जावोध हुन पुगेको छ ।साँच्चै भन्ने हो भने यातायातको दृष्टिकोणले अझै पनि पुतलीबजार दुर्गमस्थल मान्नै पर्दछ । समयमै स्थानीय निकायले यहाँको यातायात, शिक्षा तथा सञ्चारका कुराहरुमा दृष्टि पुराएको खण्डमा उजाड बस्तीहरु पनि पुनः हराभरा नहोलान भन्न सकिन्न । स्थानीय निकायको ध्यान नपुग्नाले ठाडोभाका लोकगीतको हिउँदे साँस्कृत्तिक राजधानी मानिने जल्दोबल्दो र हराभरा पुतलीबजार विकासको क्षेत्रमा ओझेलमा पर्दै गएको निर्विवाद सत्य हो ।
( ८) ओझेलमा पर्र्दै गएको पुतली बजार
धार्मिक तथा साँस्कृतिक महत्व बोकेको ऐतिहासिक पुतली बजारको पुरातात्विक महत्वको पौवा खण्डहर बनेर गएको छ । खण्डहर बनेको पौवा नीजि तथा सरकारी तवरले यस्को पुन निर्माण हुन सकिरहेको पाउँदैनौं । लमजुङको सदरमुकाम कुन्छा मुहान भएर बहँदै आउने न्यौपाने खोला नाउँदी खोलामा आएर मिसिने गर्दछ । त्यही न्यौपाने खोला पुतलीबजार नजिक नाउँदी खोलामा समाहित हुने गर्दछ । नाउँदी खोला पाउँदीमा समाहित नहुँदा सम्म तनहुँ लमजुङको सिमाखोला र तत्पश्चात पाउँदी खोलाले सिमाको काम गरेको छ । मिर्लुङकोटे राजा चन्द्रसेनको पाला देखि लमजुङले चर्चेको नाउँदी पाउँदीका केही क्षेत्र वि.सं.२०३२ सालमा नापी हुँदाका बखत प्राकृतिक सिमानाका हिसावले तनहुँमा पर्न आएको हो । तनहुँ जिल्लामा परेको पुतलीबजार तनहुँ लमजुङको साझा ठाडोभाका लोकगीतको उर्वर भूमि हो तर आज न्याउली पनि गीत नगाउने स्थानमा दर्ज हुन पुगेको सुन्न पर्दा लज्जावोध हुने गर्दछ । यो दिन देखिनु स्थानीय निकाय पनि त्यत्तिकै जिम्मेवार बनेको छ । जब स्थानीय तथा केन्द्रीय सरकारले हाम्रा आफ्नै भीर—पाखा पखेरामा गुञ्जिएका लोकभाका र लोकगीतहरुलाई बुझ्ने प्रयत्न गर्दछ तब नै लोकसाहित्य र लोकसंस्कृतिको महत्व बढदै जाने कुरामा दुइमत नहोला । जस्का परिणाम स्वरुप हाम्रा आफ्नै लोकसाहित्य र लोकसंस्कृतिको प्रवद्र्धन हुन सक्दछ । आम लोकसंस्कृतिका हिमायतीहरुको यही बुझाई र आशय अहिले सार्थक बन्दै गएको छ । आधुनिक बन्ने होडमा हाम्रा लोकगीत र ठेलो हान्ने प्रतियोगिताहरु लोपका संघारमा पुगेका छन् । जे होस अहिले भानु नगरपालिका वडा नं.११ को न्यू जेनेरेसन युथ कल्व र अन्य स्थानीय युवाकल्वहरुको सक्रियतामा वि.स २०६९ साल देखि २०७९ सालसम्म लगातार ११ औ पुतलीबजार महोत्सवहरु आयोजना भइरहेका छन् । हरेक वर्षको फागुपूर्णिमाका दिनमा भलिवल खेल, डोरी तान्ने, खुल्लाछेलो हान्ने प्रतियोगिता, सास्कृतिक गीत र नाच प्रतियोगिता आयोजना गरेर विगतको ठेलो हान्ने प्रतियोगिताको झझल्को मेटाउने प्रयत्न गरेका देखिन्छ । पानीको तिर्खा कोक र वियरले मेटाउन खोज्नु पक्कै पनि प्राकृतिक न्याय होइन तथापि “नहुनु मामा भन्दा कानो मामा निको” भने जस्तै भलिवल प्रतियोगितालाई लिन सकिन्छ ।
पुतलीबजारको अस्तित्व ओझेलमा पर्दै जानुमा यहाँका युवा युवतीहरुंमा ं पप र ¥याप गीतलाई सर्वस्व र बर्चस्व सम्झेर ग्रहण गर्ने र लोकगीतलाई उपेक्षा र हेयका दृष्टिले हेर्ने दृष्टिकोण नै प्रमुख कारक तत्वहरु मान्न सकिन्छ । बाटो बिराएकाहरुलाई सही ट्रयाकमा ल्याउने जिम्मेवारी स्थानीय पालिका र स्थानीय संघ—संस्थाको नै हो । तर यस्ता कार्यलाई मजवुत गराउन स्थानीय निकाय, स्थानीय कल्व तथा आमा समुह, स्थानीय टोल विकास संस्था, जनसमुदाय र दोहोरीगीत प्रतिष्ठान लगायतका सबै निकायहरु उदासिन भएकाले पुतलीबजारको मौलिक पहिचान र अस्तित्व ओझेलमा पर्दै गएको हो । गण्डकी प्रदेशकै ठाडोभाका लोकगीतका चारधाम मानिने कर्पुटार, पुतलीबजार ,मिर्लुङ्ग पोखरीछाप र शिःसाघाट मध्येको पुतलीबजारलाई सांस्कृतिक पर्यटनको गन्तव्यस्थल बनाउन यस्को पूर्वाधारहरुको रुपमा पुतलीबगैंचा, पुतली चिडियाघर, सुविधा जनकको नाचगान गर्न मिल्ने सांस्कृति पुतली रोदीघर, स्थानीय बस्तु खरिद बिक्री हुने पुतली कृषि हाटबजार ,ठेलो तथा भाला हान्न मिल्ने परम्परागत सुविधा युक्त पुतली खेलकुद मैदान, ठाडोभाका लोकगीतका स्रष्टाहरु देउबहादुर दुरा, भेडीखर्के साइला, डा देवी गुरुङ, पुतली दुरा, पुतली सर्किनीहरुको सालिक राख्ने विषयमा गुरुयोजना बनाएर अघि बढ्न जरुरी देखिन्छ । अब पर्यटकहरुलाई थप अकर्षित गर्ने खालका परम्पागत संरचना र विकासका पूर्वाधार तय गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई हामी सबैले उत्प्रेरित गर्नु पर्दछ ।
अन्त्यमा
हाम्रो सामाजिक परिवेश साँस्कृतिक ,आर्थिक राजनैत्तिक कारणले पनि चलायमान हुने गर्दछ । राजनीतिले समाजको हरेक पहलुलाई प्रभावित पार्ने गर्दछ । शहरकै अनुपातमा नभए पनि गाउँठाउँको परिवेश अनुसार विकास भएमा अतिसुविधा सम्पन्न क्षेत्रमा मानव बसाई सर्ने प्रकृयामा बिराम लगाउन सक्ने देखिएको छ । गाउँमा यातायात, शिक्षा, सञ्चार र रोजगारको पहुँच पुगेमा मानिसहरु आफ्नै गाउँठाउमा बस्न रुचाउँछन् । गाउँमा बसोबास गरौ गरौ भन्ने जागरण सृजना गर्नका लागि पर्यटन विकास पनि एक हो । हामी हाम्रो गाउँलाई धार्मिक तथा सांस्कतिक पर्यटन , साहित्यिक पर्यटन, कृषि पर्यटन , पर्यापर्यटन तर्फ आकर्षित गर्न सक्दछौं । पर्यटन विकासकेै लागि टुटेपानी ,वाँसपानी ,जौबारी होमस्टे यही महाभारत पर्वतको दक्षिणी ढलानमा जोडतोडका साथ अगाडि बढीरहेको परिवेशले हामी पुतलीबजार क्षेत्रमा पनि उतार्न सक्दछौ ।अन्त्यमा यिनै कृयाकलापलाई प्रभावकारी बनाउन स्थानीय राजनेता र स्थानीय निकायको महत्वपूर्ण भूमिका रहने हुँदा ओझेलमा परेको पुतलीबजारको सर्वाङ्गिण विकासमा स्थानीय राजनेता र पालिकाहरु सङ्ग हातेमाले गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाऔं ।
श्रोत—सन्दर्भ
लोक संस्कृतिको घेरामा लमजुङ – धर्मराज थापा
तनहुँसुर र सेरोफेरो — देव बस्न्यात
देउबहादुर दुरा ठाडोभाकाका लोकनायक—यम बहादुर दुरा
प्रत्यक्ष भलाकुशरी
विष्णुहरी पौडेल— भानु ११ हाल कलङ्की काठमाण्डौ
ने का पूर्वसभापति —रघुनाथ पौडेल
भानुनगरका निवर्तमान नगरप्रमुख ः—उदयराज गौली
स्व. डा.देवीगुरुङ,
लोकगायक ः—शङ्कर परियार ,
पूर्व प्रधानाध्यापक चन्द्र पकाश पौडेल
नबिना थापा (बस्न्यात) र नजरिन मिया