आइसिसी विश्वकप क्रिकेट लिग–२ नेपालको लगातार तेस्रो हार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आइसिसी विश्वकप क्रिकेट लिग–२ नेपालको लगातार तेस्रो हार

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८२, शनिबार

    काठमाडौं, १५ कात्तिक । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल आज अमेरिकासँग ४ विकेटले स्तब्ध भएको हो । यसअघि सिरिजको पहिलो खेलमा पनि नेपाल १०६ रनले पराजित भएको थियो ।

    दुबईस्थित आईसीसी एकेडेमीमा २७२ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाका लागि मिलिन्द कुमार र साइतेजा मुक्कामालाको शतकीय साझेदारी निकै महत्वपूर्ण रह्यो । अमेरिकाका लागि मुक्कामालाले ७५ रन र मिलिन्द कुमारले ७० रन बनाएर जितको आधार तयार पारे।

    नेपालका तर्फबाट भने स्पिनर सन्दीप लामिछानेले ३ तथा गुलशन कुमार झा र करण केसीले १-१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएकाे थियाे ।

    नेपालका लागि ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्वपूर्ण पारी खेले । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ तथा कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।

    अमेरिकाका लागि हर्मीत सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै, जसदीप सिंह र शुभम रन्जानेले समान एक–एक विकेट लिए ।

    अमेरिकाले यो जितसँगै लिग २ मा आफ्नो दबदबा कायमै राखेको छ। नेपालको लागि भने यो हारले लिग तालिकामा थप चुनौती बढाएको छ।