किताबका पानामा सीमित नबनोस् कानून
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    किताबका पानामा सीमित नबनोस् कानून

    अन्जु दाहाल

    ३ आश्विन २०७७, आईतवार

    मानव समाज भनेकै महिला र पुरुषको सहकार्यले बनेको समाज हो । यो प्राकृतिक अनुपम उपहार हो । जीवन र जगतको सारतत्व हो । महिला जीवन र जगतका आभुषण हुन्, सीप सिर्जना र शक्तिका स्वरुप हुन् । त्यसैले महिलाहरु पुज्य छन्, आदरणीय छन् र सम्माननीय छन् । जहाँ महिलालाइ तिरस्कार गरिन्छ त्यो समाज र राष्ट्र नै अस्तित्व विहिहुन्छन् । महिलाहरुलाई घरायसी काममा मात्रै सीमित राख्ने परिपाटी अझै पनि छ । सङ्ख्यात्मक रुपमा केही महिलाहरु चुलोचौकाको घेराबाट बाहिरिएपनि अधिकांश महिलाहरु अर्थात् शिक्षित वर्गकै महिलाहरु पनि यस किसिमका परिबन्धबाट उम्किन सकेका छैनन् । मेरो मूल आशय यो होइन की महिलाले चुलोचौका नै गर्नुहँुदैन । तर यसको साथसाथै व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व बहन गर्नु महिलाको अर्को महत्वपूर्ण जिम्मेवारी हो । मानिसका विचार र व्यवहारमा आमूल परिवर्तन आएको छ । धेरै नियम कानुनहरु फेरबदल भइरहेका छन् । प्रविधि र सूचनाले विश्वलाई मुठ्ठीमा सीमित गरेको छ । यसले गर्दा कुरीति र कुसंस्कारको जालो पातलिँदै गएपनि पूर्ण रुपमा अझै हट्न सकेको छैन । महिला हिंसा विरुद्धका अभियान थालिएको लामो समय भइसक्दा पनि हिंसाका घटनाहरुमा कमी आएको छैन । अझै पनि बेचबिखन, बलात्कार र तेजाब आक्रमणका घटना दिनप्रतिदिन थपिदै गएका छन् । यहाँ महिलाहरु कुनै क्षेत्रबाट पनि सुरक्षित छैनन् । यद्यपि घरपरिवारबाटै पनि छोरीचेली असुरक्षित छन् । विद्यालयमा शिक्षककै शिकार बनेका छन्, कार्यालयमा कर्मचारीकै शिकार बनेका छन् । प्रहरी र अदालतमा घर निकाला र बलात्कारका घटनाका उजुरीका चाङ लागेका छन् । आफ्नो बेइज्जती हुने डर र परिवारको दबाबका कारण उजुरी नै नदिइ कैयौ घटनालाई दबाउन बाध्य हुने महिलाहरु पनि समाजमा प्रशस्त छन् ।

    तराई क्षेत्रहरूमा अझैपनि दाइजो (दहेज)प्रथाका कारण सयौं महिलाहरु जीवनभर हिंसा खेप्न बाध्य छन् । कतिपय ठाउँमा महिलाहरुलाई मरणासन्न हुने गरी कुटिन्छ, कतिपय ठाउँमा बोक्सीको आरोपमा मलमूत्र खुवाइन्छ । कतिपय ठाउँमा तेजाब छ्याप्ने र सुनौलो जिन्दगीलाई डडेलो लगाएका घटनाहरु प्रशस्त पाइएको छ । छाउगोठमा सुताइँदा सर्पको शिकार बनाइएको छ । यी त प्रत्यक्ष देखिने घटनाहरु भए, यसभन्दा डरलाग्दा घटना जो समाजमा नदेखिएका तर धमिरोले भित्रभित्रै सिध्याइएका छन् । बाहिर फुस्रो रङ पोतिएका कैयौ जीवनहरु छन् । हात्तीको देखाउने दाँत र चपाउने दात फरक भएजस्तै बाहिर शिक्षित र बौद्धिकताको पगरी गुथेका महाजन महाशयहरुबाटै घरघरमै महिला हिंसा र दबाबहरु हुने गर्छन् । राज्यको आधा हिस्सा ओगटेर बसेका महिला वर्गको एउटै माग छ, संविधान संशोधन गरेर घटना हेरी फाँसीको सजायको नियम लागु होस् । नियम कानुनहरु पुस्तकका पानामा मात्रै सीमित नहोउन । कानुन सबैमा बराबर लागू होस् ।