तनहुँ : पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा दृश्यावलोकन विन्दु निर्माण शुरु गरिएको छ । मानहुँकोटको पर्यटन प्रबद्र्धन गर्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डाँडामा दृश्यावलोकन विन्दु निर्माण शुरु गरिएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित हुँदै गइरहेको मानहुँकोटको पर्यटनलाई थप टेवा पु¥याउन दृश्यावलोकन विन्दुको काम शुरु भएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रु ४० लाखको लागत अनुमान गरिएपनि रु ३६ लाख ५० हजारमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको छ । दृश्यावलोकन विन्दु निर्माणको जिम्मा माता वाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ । दृश्यावलोकन विन्दु दुई तल्लाको हुनेछ । दृश्यावलोकन विन्दुमा कफी सप र शौचालय निर्माण गरिनेछ । पहिलो तल्लामा कफी सप र माथिल्लो तल्लामा शिशाको घर बनाउने लक्ष्य सहित काम शुरु गरिएको छ ।
“अहिलेकै बजेटले पूरा हुने गरी काम शुरु भएको छ, करीब ६ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुन्छ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “केही समय अगाडी नै निर्माण शुरु गर्ने तयारी गरिएपनि कोभिडका कारण काममा ढिलाई भएको हो ।” पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको यस ठाउँको प्रचारका लागि दृश्यावलोकन विन्दुले पनि सहयोग पुग्ने श्रेष्ठको विश्वास छ ।
मानहुँकोटको विकासका लागि थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । दृश्यावलोकन विन्दुको आसपास नै पिङ पनि बनाउने लक्ष्य छ । “कोरोनाको कारणले काम गर्न केही असहज भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निर्माणका काम शुरु भएको छ,” श्रेष्ठले भन्नुभयो ।
कोभिड–१९ को प्रकोपले सुनसान रहेको यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल शुरु भइसकेको छ । कोभिडको प्रकोप अगाडी मानहुँकोटमा दैनिक तीन÷चार सय पर्यटक पुग्दथे । शनिबार उक्त सङ्ख्या अझ दोब्बर हुन्छ ।
मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।
मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।
मानहुँकोट पुग्नका लागि सडक कालोपत्रेको काम पनि भइरहेको छ । सङ्घीय सरकारको करिब रु सात करोड बजेटमा बाटो कालोपत्रेको जिम्मा रानीवारी कन्स्ट्रक्सन काठमाडौले पाएको छ । बन्दाबन्दी अगाडी निरन्तर काम भइरहेपनि बन्दाबन्दीका कारण बाटोको काम रोकिएको थियो । बाटोको काम अहिले पुनः सुचारु भएको छ ।
मानहुँकोटको सबैभन्दा अप्ठ्यारो रहेको पहरामा पुनः ढलान शुरु गरिएको छ । बाटो कालोपत्रेका लागि पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास छ ।