काठमाडौ: आज वडा दसैं अन्तर्गत फूलपाती पर्व। दसैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपातीदेखि दसैंको खास रौनक सुरु हुन्छ।
आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ।
हिन्दू धर्मावलम्बीले वैदिक विधिपूर्वक पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ।
फूलपाती भित्र्याएपछि नवदुर्गाको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।