पृथ्वी गोलो छ, समय वलवान छ । समयले आफ्नो अस्तित्व अवश्य देखाउँछ यो धु्रव सत्य हो । उपर्युक्त आहान हामी सबैमा लागू हुन्छ । यो कति मानिसमा लागू हुन्छ आँफैले मनन गर्ने कुरा हो । । भगवानहरुले विभिन्न अवतार लिएको, विभिन्न रुप धारण गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा अध्ययन गर्न पाईन्छ । हामी मानव जाती लगायत समस्त जीवमा भगवानको अंश हुन्छ र भगवानले हाम्रो मस्तिस्कलाई सञ्चालन गरेका हुन्छन र समाजमा रही त्यही परिकल्पनाको आधारमा विभिन्न कार्यहरु सम्पन्न भएका हुन्छन त्यत्ति हो की देव अंश भएकामा धार्मीक र सामाजिक प्रकृतिका काम सम्पन्न हुन्छन भने आसुरी अंश भएकामा तामसी व्यवहारको प्रदर्शन हुन्छ ।
उत्पत्ति र नामाकरण
कुरा २०६७ साल कात्र्तिक १३ गतेको हो, ऋषि गुरु वालव्यास श्रीराम प्रपन्नचार्य(तत्कालिन)ले मुक्तिनाथको मन्दिरमा ध्यान बस्दा शक्लागण्डकीको तटमा रहेको वञ्जर चट्टानी भू–भागमा रहेको शुक्लागण्डकी नगरपालिका वडा नं.२ स्थित ढड्यान भन्ने ठाँउमा श्री शुक्लेश्वर महादेवको वासस्थल रहेको थाहा भयो । यस्तै परापूर्व कालमा च्यवन नामका ऋषिले ध्यान बसेको स्थान यसै वडामा रहेको चुहुने मुढा भन्ने ठाँउ भएको पनि पत्ता लाग्यो । च्यवन ऋषिले तपस्या गरेको मुढा जुन च्यवन मुढा थियो कालन्तरमा अपभ्रंस भई चुहुनेमुढा रहन गएको मानिन्छ । नेपाल देवादिदेव तथा ऋषिमुनिहरुले गमन गरेको भुमि हो । यँहा देखि करिव आधा किलोमिटरको दुरीमा रहेको चुहुनेमुढामा आउने जाने बाटोको रुपमा देवता, ऋषि, नाग देवता, राक्षस र विभिन्न अवायवहरुले गमन गरेको बाटोको रुपमा रहेको यो च्यवन धामको पूर्वोत्तर तर्फको कुनौटो भाग त्यस्तै पूर्व देव तथा नाग अनि राक्षसहरुले ओहोर दोहोर गर्ने सन्धि सर्पन क्षेत्रभित्र पर्छ ।
२०६७ सालको कात्र्तिकको पहिलो हप्ता ऋषिगुरु ढोर बाराही मन्दिर दर्शन गर्न जाने क्रममा साँखरको मुहानमा आँउदा गुरुलाई मुक्तिनाथमा ध्यान बस्दा देखिएको भुमिसँग मिल्दो जुल्दो ठाँउ यही भएको जस्तो लागेर स्थानिय सँग सोध पुछ गर्दा चुहुने मुढाको प्रशँग आयो, गुरु स्वयं आई उक्त ठाँउमा अवलोकन गर्दा पवित्र शुक्लागण्डकीको निकट तटमा अवस्थित चट्टानले बेरिएको, विभिन्न गुफा युक्त यो भुमि स्थानिय भुलभुले बाराही एकता समाज र गाछेपानी पुन मगर समाजको सकृयतामा उक्त बार वन्द गरी अलि अलि माटो भएको ठाँउमा सिसौका विरुवा रोपिएको अवस्थामा थियो ।
गुरूको कथन र स्थानीयको चासोपछि २०६७ साल कात्र्तिक १३ गते यस ठाँउलाई एउटा धार्मिक स्थलको रुपमा विकास गर्न लालप्रसाद गर्तौलाको अध्यक्षतामा ११ सदस्यीय प्रारम्भीक धार्मीक स्थल निर्माण समिति निर्माण भयो । विभिन्न चरणमा छलफल भए, त्यसै क्रममा मिति २०६७ साल माघ २१ गते स्थानिय अगुवा तथा समाजसेवीहको वृहत भेला बसी यसको नाम जुराउने काम भयो । जस अनुसार मुक्तिनाथको शिरबाट वहेकी शुक्लागण्डकीको तटमा भएकाले श्री मुक्तिनाथ शुक्लागण्डकी र च्यवन ऋषिले तपस्या एवं स्नान गरेको स्थल भएकाले च्यवन अनि यसलाई वृहत योजना बनाई हिन्दु र वौद्ध धर्मावलम्बिहरुको आश्रय स्थलको रुपमा विकास गर्ने वृहत उद्देश्य राखी काम गर्ने गरी “श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम” नाम राख्ने सर्वसम्मत निर्णय भयो ।
निर्माणको पहल
२०६७ माघ २१ गते भएको वृहत भेलामा गूरुबाट अव धामलाई विधिवत दर्ता गरी यसको निर्माण विकास कार्यमा लाग्नेगरी अर्थ संकलनार्थ महायज्ञ आयोजना गर्ने प्रस्ताव अनुसार कार्य अघि बढ्यो । संस्थाको विधान तयार गरी मिति २०६७ फाल्गुण ९ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम को नाममा संस्था दर्ता गरियो । २०६७ चैत्र १० देखि १७ सम्म हाल धाम भएको भुमि देखि पुर्व तर्फको डिल माथिको भक्त बहादुर तिलिजा पुनको जग्गामा महायज्ञको काम सम्पन्न गरी संकलित दान रकमबाट धाममा विभिन्न धार्मीक संरचना निर्माण भए । जसले यस क्षेत्रको धार्र्मीक आस्थाको केन्द« र मनोरम पर्यटकिय स्थलको ढोका खोलेको छ ।
च्यवनधामको वर्तमान स्थिति
यस पवित्र भुमि श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम परिषरमा श्री शुक्लेश्वर महोदेवको मन्दिर, श्री सुर्य नारायण, श्री गणेश, श्री दुर्गा भवानी र श्री लक्ष्मिनारायणको मन्दिर गरी पञ्चायन मन्दिर निर्माण सम्पन्न भई २०७२ सालको माघ देखि नियमित पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न हुँदै आईरहेको छ । हाल धाम परिषरमा १०८ धारा, १०८ पिपलयुक्त ॐका चौतारी, १०८ शिवलिङ्ग, मोक्ष कुण्ड, वासुकी नागको स्थान, सहस्र धारायुक्त गोलाकार पोखरी छ भने, च्यवन गुम्बा भित्र विषाल भवनको साथै त्यस भित्र पद्मशम्भो, अवलोकेश्वर र शाक्यमुनि गौतम वुद्धको मुर्ति तयार भैसकेको छ । गुम्बा जाने मार्ग विभिन्न वनस्पति युक्त वगैंचाले सजिएको छ । धामको पुर्वी कुनामा दानवीरको नाम अभिलेखका लागि गोलाकार ८ पाटे स्तम्भ छ भने उक्त स्तम्भ माथि च्यवन ऋषिको ध्यान मुद्राको अर्धकदको मुर्ति राखिएको छ । यसै गरी धामको पश्चिम तर्फको तल्लो डिल मुनि पिकनिक एवं पार्टी हल छ भने त्यस भन्दा माथि धार्मिक सभाहल निर्माण भई त्यसमा कार्यक्रम गर्न सहज भएको छ । हाल गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आ.व.०७७÷०७८ को कार्यक्रम बजेटबाट १०८ धारा माथि हिमालको ठोस आकृति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस्ता आकर्षक भौतिक संरचना निर्माणका लागि महायज्ञमा दानविरबाट प्राप्त दान, तत्कालिन शान्ति मन्त्रालयबाट विकासका लागि शान्ति कार्यक्रमबाट वार्षिक रुपमा प्राप्त बजेट, गण्डकी प्रदेश सरकार र शुक्लागण्डकी नगरपालिकाबाट पटक पटक प्राप्त बजेट तथा विभिन्न समयमा आयोजना गरिएका धार्मिक समारोहरुमा आदरणीय दानवीरहरुले गर्नु भएको सहयोग उल्लेख्य छन् ।
निर्माणको लागि कार्यक्रममा सुचीकृत गरिएका विभिन्न संरचनाहरु
धामको गूरुयोजना र थ्री डि सहितको डिपिआर तयारको क्रममा छ । भावी कार्यक्रमहरुमा धामको पश्चिम तर्फको शुक्लागण्डकीको तटमा च्यवन घाट, त्यस माथि रहेको चट्टानी डिल माथि मेशनरी वाल लगाई वगैंचा निर्माण गर्ने, उक्त वगैंचा भन्दा माथि दानवीर भक्तजनले लगाउनुभएको बरपिपल चौतारी पक्कि रुपमा निर्माण गर्ने, त्यस भन्दा पुर्व उत्तर फर्केको डिलतर्फको समाधिस्थल भएको ठाँउ वाहेकको भागमा सुन्दर वगैंचा,पिकनिक हलको दक्षिण तर्फ विवाह मण्डप, श्रृंगार कक्ष र स्टोर भवन,धाम परिषरको विचमा रहेको खाली भागमा ढुङ्गाको छपनी विछ्याई पथ प्रदर्शन सहित वनस्पतियुक्त उद्यान, १०८ पिपल चौतारी हुँदै शुक्लागण्डकीमा स्नान गर्नको लागि गौरी घाट र त्यँहा जानको लागि फनफनेको डिलमा पक्कि सिढी निर्माण गर्ने, त्यस भन्दा उत्तर तर्फ रहेको चट्टानी ढिस्कोमा शनी महाराज र पवन पुत्र हनुमानको मुर्ति निर्माण, गुम्बाको पूर्व तर्फको खोँच भागमा विशाल सामाजिक भवन र त्यसदेखि पूर्व तर्फको बाटो देखि पश्चिम तर्फको भागमा विभिन्न वन्य जन्तु संरक्षण प्रतिकको मिनि चिडियाखाना, धामको प्रवेशद्वारको दाँया तर्फ असहाय, वृद्ध, अपाङ्ग सेवार्थ भवन निर्माण गर्ने लगायतका कार्यक्रम रहेका छन् । सुन्दर लक्षित कामहरु समपन्न गर्न अझै वाँकी छ ।
हाल गोदाम घर भएको ठाँउमा भविष्यमा धार्मिक अतिथिगृह निर्माण गर्ने, मुलद्वारको प्रतिक धाम देखि पूर्व दक्षिण भागमा रहेको फ्रेम मात्र बनेको द्वारलाई कलात्मक रुपमा निर्माण गर्ने, हाल घाटमा जान मोटर गुड्ने बाटो बन्द गरी मुलद्वारको अगाडिको लगतै पश्चिम तर्फबाट समानान्तर मोटर मार्ग खोली हालको बाटो धाम प्रयोजनको लागि मात्र कायम गर्ने जस्ता योजनाहरु रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा नं.२ को पृथ्विराजमार्गमा अवस्थित गाछेपानीबाट पश्चिम तर्फ पैदल ५ मिनेटको दुरीमा पवित्र सेती नदीको तटमा रहेको श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम शुभ आर्शिवाद एंव् अनुपम सौन्द«य सहित सम्पुर्ण श्रद्घालु दर्शनार्थीलाई सदैव हार्दिक स्वागत गर्दछ । धन्यवाद ।
(लेखक धामका कार्यसमिति संस्थापक एवं मौजुदा कार्यसमितिका सचिव हुनुहुन्छ ।)