शुक्लागण्डकीमा ६ सय ६२ अपाङ्गता परिचयपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा ६ सय ६२ अपाङ्गता परिचयपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६ सय ६२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । सबैभन्दा वढी अति अशक्त ‘ख’ वर्गको २ सय ६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ । १ सय ६७ जना पूर्ण अशक्त भएकाले ‘क’ वर्गको, १ सय ४५ जना मध्यम अपाङ्गता भएकाले ‘ग’ वर्गको परिचयपत्र लिएका छन् । ‘घ’ वर्गको परिचयपत्र लिने सामान्य अपाङ्गता भएकाको संख्या ८२ रहेको शाखाले जानकारी दिएको छ ।

    नगरपालिकाले हरेक महिना परिचयपत्र वितरण शिविर सञ्चालन गर्दै आएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले बताइन्। सोमबार पनि नगरपालिकामा शिविर चलाईएको थियो । शिविरबाट ८ जनाले परिचयपत्र लिएको उनले जानकारी दिइन् । उनका अनुसार ‘क’ र ‘ख’ वर्गको ३÷३ जनाले र ‘ग’ वर्गको २ जनाले परिचयपत्र पाए । नगरपालिकाले बनाएको कार्यविधीको आधारमा ढोर फूलबारी शहिद अस्पताल साँखेमा कार्यरत डाक्टर प्रतिक्षा आलेले शारिरीक अपाङ्गता चेकजाँच गरेपछि परिचयपत्रको वर्ग निर्धारण गरी वितरण गरिएको हो ।

    नगरपालिका सम्म आउन नसक्नेका लागि भने घरमै पुगेर परिचयपत्र दिएको पोखरेल बताउँछिन् । ‘नगरपालिका आउन सक्नेलाई महिनामा एक पटक शिविर गरेर दिन्छौँ । नसक्ने अवस्था छ भने डाक्टर सहितको टोली घरमै पुगेर दिदै आईरहका छौँ । जसरी हुन्छ परिचयपत्र लिनबाट कोही छुट्न हुदैन् भन्ने हाम्रो उदेश्य हो.’ उनले भनिन् ।

    परिचयपत्र वितरणको जिम्मा स्थानीय तहले पाएपछि अपाङ्गता भएकाहरुलाई परिचयपत्र लिन सहज भएको अपाङ्गता समन्वय समिति शुक्लागण्डकीका सदस्य दामोदर रेग्मीले बताए । ‘परिचयपत्र लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले आर्थिक भार पनि कम हुने भयो,’ उनले भने । अधिकारबाट सुसुचित नभएका पनि स्थानिय तहबाट परिचयपत्र वितरणले लाभन्वित भएका उनको भनाई छ ।

    स्थानीय तहमा जनप्रतिनिधि आउनु अगाडीसम्म जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय वितरण गर्दैैै आएको थियो । ३ वर्ष स्थानीय तहले नै परिचयपत्र वितरण गर्न थालेका छन् ।

    अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अपाङ्गता भएका व्यक्तिहरूले स्थानीय तहबाट अपांगता परिचयपत्र पाउँछन् । ‘क’ र ‘ख’ वर्गको परिचयपत्र भएकालाई राज्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदछ । ‘ग’ र ‘घ’ वर्गकाले भने राज्यले प्रदान गर्ने सेवा सुविधामा कोटा प्रणालीको व्यवस्था गरेको छ ।