दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–१० मा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण गराईएको हो ।
निर्वतामान वडाध्यक्ष रामचन्द्र भण्डारीले वडाध्यक्ष राजेन्द्रभट्टराई क्षेत्रीलाई पदभार ग्रहण गराए । वडा सदस्यहरुले नवनिर्वाचित वडा सदस्यलाई पदभार ग्रहण गराए ।
सो अवसरमा बोल्दै वडाध्यक्ष भट्टराई क्षेत्रीले चुनावी दौरानमा गरेको घोषणालाई पूरा गर्ने बताए । ‘हामी हुन्छ बिकासको काम गर्छौ । सबै पार्टीका घोषणा पत्रलाई पूरा गर्ने दायित्व अब हाम्रो हो । मन वचन र कर्मले काम गर्न प्रयास हुनेछौँ’, उनले भने । उनले काम गर्ने बेला कमीकमजोरी भएमा सुझाव दिन वडाबासीलाई आग्रह गरे ।
निवर्तमान वडाध्यक्ष रामचन्द्र भण्डारीले पाँच बर्षमा विकासको खाको कोरेको बताए । वडालाई सम्बृद्ध बनाउनलाई सिमिति स्रोत साधनको बाबजुत पनि काम गरेको उनको भनाई छ ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष मदन थापाले पाँच बर्षमा विकासको खाका कोरिएको र बाँकी रहेका योजनालाई प्राथमिकताका साथ पुर्णता दिन नया जनप्रतिनिधि लाग्नुपर्ने बताए । ‘जनताले खोजेको आधारभुत आवश्यकता के छ पहिचान गरेर समाधान गर्नुहोला’, उनले भने । सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै यथोचित प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।
नेपाली कांग्रेस वडा कार्य समितिका सभापति खड्कविक्रम खाण ठकुरीले दोस्रो कार्यकाल भएकाले चुनैतिपुर्ण रहेको बताए । विगतमा जस्तो सेवा प्रवाहमा ढिलासुस्ती नगर्न उनको आग्रह छ । ‘पार्दर्शिता र भ्रस्टाचारमुक्त वडा बनाउनुहोस । टुक्रे योजनामा जोड नदिनुहोला’, उनले भने ।
नेकपा माओवादी केन्द्रका नरबहादुर खत्रीले अघिल्लो पाँच बर्षमा भएका राम्रा कामको निरन्तरता हुनुपर्ने बताए । भ्रष्टाचारमुक्त वडा बनाउन उनको सुझाव छ । वडाको २८ वटै टोलमा हिउँद बर्खा सहजै मोटर चल्ने सडकको व्यवस्थापन मिलाउन आग्रह गरे ।
नेकपा एकीकृत समाजवादी पार्टिको भातृ संगठन युवा संघ नेपाल तनहुँका अध्यक्ष जीवन भट्टराईले चुनौतिलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने बताए । गएको पाँच बर्षमा विकासको गोरेटो खनिएकाले अब देखिने गरेर काम गर्नुपर्ने उनले बताए ।
राप्रपा वडा कमिटी अध्यक्ष सिद्धबहादुर खाण ठकुरीले जनताको हितमा काम गर्नुपर्ने बताए ।
साखे टोल विकास संस्थाका श्रीराम पौडेलले स्वच्छ र पारदर्शी तरिकाले काम गर्न अनुरोध गरे । विकासमा समान दृष्टिले काम गर्ने अपेक्षा गरेको बताए । जनसेवामा नमुना काम गर्नलाई उनको सुझाव छ । नवनिर्वाचित जनप्रतिनिधिलाई वडाबासिले स्वागत सम्मान समेत गरेका छन् ।