भानु । लायन्स क्लव अफ सिद्धार्थ गौतम बुद्धले तनहुँको भानु नगरपालिका–४ स्थित भानु संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
क्लवका अध्यक्ष नारायण रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए । सो अवसरमा नगरप्रमुख त्रिपाठीले लायन्स क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोग सकारात्मक रहेको चर्चा गरे ।
कार्यक्रममा नेपाल लायन्स फाउण्डेशनका विष्णुप्रसाद भण्डारी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक एवं क्लवका डाइरेक्टर शंकर रानाभाट लगायतले बोलेका थिए ।
लायन्स क्लव अफ सिद्धार्थ गौतम बुद्धले एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने योजना बनाएको अध्यक्ष रेग्मीले बताए ।