एमाले उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमाले उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७९, बिहीबार

    लमजुङ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् ।

    प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।

    २०७४ को स्थानीय तह चुनावमा कांग्रेस–माओवादी केन्द्र तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । त्यसपछिको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावमा पार्टी एकीकरण गर्ने गरी तालमेल गर्दा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा उठेर निर्वाचित भएका थिए । यसपटक कांग्रेसको सहयोगमा संविधानसभामा जाने उनको रहर पूरा हुन सकेन । २०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले तिनै देव गुरुङलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गरेका हुन् ।

    एमाले नेता पृथ्वीसुब्बा गुरुङ २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं. २ बाट एमालेका दिलबहादुर घर्तीलाई हराएर विजयी भएका र माओवादी केन्द्रका देवप्रसाद गुरुङले मनाङमा कांग्रेसका पाल्तेन गुरुङलाई हराएर सँगसँगै संविधानसभा प्रवेश गरेका थिए । मुलुकभर एमालेले चुनाव हारेर तेस्रो पार्टीमा खुम्चिँदा लमजुङमा भने पृथ्वीसुब्बा गुरुङले जितेका थिए । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने ।