सेती खोंचमा विलीन प्रेमको निसानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सेती खोंचमा विलीन प्रेमको निसानी

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७९, सोमबार

    पोखरा । ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यती एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसेको थियो।

    काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि दुर्घटनामा पर्‍यो। १५ दिन अगाडि मात्रै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नुपर्ने जहाज २ किलोमिटर पर गएर आकाशबाट भुईंमा खसेपछि दनदनी दन्किएको आगोको मुस्लो निभाउन मात्रै झण्डै दुई घण्टा समय लाग्यो। त्यतिञ्जेलसम्म यती एयरलाइन्सले विमानमा सवार ६८ यात्रु र चालक दलका ४ सहित ७२ जनाको विवरण सार्वजनिक गरिसकेको थियो।

    नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरीले खोंचबाट शव निकालेपछि साइरन बजाउँदै एम्बुलेन्समा राखेर पश्चिमाञ्च क्षेत्रीय अस्पतालतर्फ हुँइकिन्थ्यो। साँझपख दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भयो। सनाखत हुनेमध्येमा एक थिए १० महिने बालक रिहान पौडेल। उनी आमा रचना काफ्लेको काखमा लडीबुडी गदागर्दै सेती खोंचमा बजारिएर जलेको जहाजको धुवाँसगै विलीन भएका छन्। अब उनले बुवा प्रदिपसँग खिस्स हाँस्दै काखमा बस्न पाउने छैनन्।
    ०००
    पर्वतको कुश्मा नगरपालिका–१ पाङका प्रदिप पौडेल र काठमाडौंकी रचना काफ्लेले ४ वर्ष अगाडी प्रेम विहे गरेका हुन्। विहेको तीन वर्षपछि पहिलो सन्तान रिहान जन्मिए। महिना दिनअगाडि रिहानलाई लिएर रचना काठमाडौं माइतीघर गएकी थिइन्। बसमा भन्दा छिटो र सुरक्षित ठानेर आमाछोरा यति एयरलायन्सको जहाज चढेर घर फर्कदै थिए। महिना दिनमा श्रीमति र छोरालाई भेट्न पाउने आशमा उत्साहि थिए प्रदिप।

    माइतबाट घर फर्कनलाई काठमाडौंबाट जहाज चढेका आमाछोरा जिवितै पोखरा विमानस्थलमा ल्यान्ड हुन पाएन्। धावनमार्गमा ल्यान्ड हुनुपर्ने जहाज सेती खोंचमा खसेपछि प्रदिपले श्रीमतिसँगै गुमाएका छन् प्रेमको निसानी १० महिने छोरालाई।
    ०००
    दुर्घटनास्थलबाट अस्पताल ल्याइएका शवहरु जलेर क्षतविक्षत छन्। ती शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम कक्षमा लस्करै राखिएको छ। आफ्नी श्रीमति र छोरा पनि दुर्घटना परेपछि आएका प्रदिपले शव हेर्दै जाँदा चिनिहाले। ‘बुहारीलाई दाँत देखेर पहिचान भयो। छोरालाई त उसले सहजै चिन्यो’, प्रदिपसँगै रहेका दिवाकार पौडेलले भने।
    वर्षौैदेखिको प्रेम सफल भएर विहे। तीन वर्षपछि जन्मिएको पहिलो सन्तान। श्रीमति र छोरा गुमाएका प्रदिप सम्हालिन सकिरहेका छैनन्। आसु धारा वगिहरेका छन् उनको। यति एयरको विमान मात्रै विलिन भएन आइतबार विहान धुवाको मुस्लोसँगै, प्रदिपको प्रेम र प्रेमको निशानी पनि उसैगरि विलिन भएको छ। प्रदिपको जिन्दगी पनि धावन मार्गमा अवतरण नभएको जहाज जस्तै दुर्घटनामा परेको छ उनको।
    ०००
    आइतबार पोखरामा भएको विमान दुर्घटनामा पर्वतका मात्रै ९ जनाले ज्यान गुमाएका छन्। कुश्मा नगरपालिका– ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ। उनीहरु बाबुछोरी हुन्। छोरी प्रसिद्धिलाई जन्मघर लिएर आएका अरुण पनि अब श्रीमति र २ छोरीलाई कहिल्यै नभेट्ने गरेर विदा भएका छन्।

    विहादी गाउँपालिका– ५ उराम पोखराका एकै परिवारका ४ जनाको निधन भएको छ। जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबि शर्माको निधन भएको हो। यस्तै, मोदी गाउँपालिका– १ भुकदेउरालीका विजय गुरुङको पनि मृत्यु भएको छ।